समाचारसोमवार, कार्तिक १९, २०७५

‘ढुक्कले घर झिलिमिली पार्नुहोस, विजुली प्रशस्त छ’

हिमालखबर

उज्यालोको पर्व तिहार शुरु भएको छ । हामीले चर्को लोडसेडिङबाट छुटकारा पाएको यो तिहारमा दुई वर्ष पुगेको सम्झना कमैलाई होला ।

दैनिक १८ घण्टासम्म हुने गरेको लोडसेडिङले अधिकांश नेपालीको जीवन असहज बनाएको मात्रै होइन मुलुकको अर्थतन्त्र समेत चौपट पार्दै थियो । अहिले अवस्था त्यस्तो छैन । लोड सेडिङ अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन, “तिहारमा मज्जाले घर झिलिमिली पार्नुस्, बिजुली प्रशस्त छ ।”

प्राधिकरणका अनुसार तिहारका बेला  विद्युतको उच्चतम माग १,२७० मेगावाट पुग्नेछ । घरेलु उत्पादन र भारतबाट आयात गर्दा त्यो माग सहजै पूरा हुने घिसिङ बताउँछन् । घिसिङ यसरी ढुक्क हुनुको कारण हो यसै वर्ष राष्ट्रिय प्रसारण लाईनमा जोडिएको ३० मेगावाट विद्युतसँगै चुहावटामा आएको नियन्त्रण र वितरणमा भएको व्यवस्थापनबाट बढेको क्षमता । त्यसमाथि कुलेखानीको जलाशय भरिभराउ छ । तिहारलाई अँध्यारो बन्न नदिने मुख्य कारण चाहीँ भारतबाट हुने आयात हो ।

नेपालको पिक डिमाण्ड १०४७ मेगावट भए पनि घरेलू उत्पादन ६७८ मेगावाटभन्दा माथि पुग्न सकेको छैन । बाँकी विद्युत भारतबाट आयात गरेर पूर्ति भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस