ब्लगसोमवार, कार्तिक १९, २०७५

हिमालपारि हिजो र आज

शेखर खरेल

मुस्ताङलाई एउटा ‘केस स्टडी’ मान्ने हो भने आगामी भ्रमण वर्ष एउटा ठूलो चुनौती हो। किनकि, पर्यटकको संख्या अनुरूप पूर्वाधार तयार भएको छैन।

कागबेनी । तस्वीरहरु: शेखर खरेल

हिमालपारिको जिल्ला मुस्ताङको दुई बेग्लाबेग्लै भ्रमण । समय र अनुभूति फरक । सन् १९९६ मा यो पंक्तिकार मुस्ताङ पुग्दा, यातायातको सहज पहुँच थिएन । कि जहाजबाट, नभए हिंडेरै पुग्नुपथ्र्यो ।

त्यतिबेला आन्तरिक वा बाह्य दुवै पर्यटक कम देखिन्थे । अहिले, सदरमुकाम जोमसोम मात्र नभएर मुक्तिनाथ र उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङ समेत सडक संजालमा जोडिइसकेका छन् । स्थानीय यातायात सिण्डिकेट हटेपछि, अब मुस्ताङ आफ्नै चार वा दुईपांग्रे हुइँक्याएर पुग्न सकिन्छ । मुस्ताङका लागि काठमाडौं, पोखरा र बेनीबाट पनि सार्वजनिक यातायात पाइन्छ ।

‘सिजन’ भएर पनि होला, दशैं लगत्तै मुस्ताङ पुग्दा बेनी–तातोपानी–कोवाङसम्मको भीरको बाटो कलंकी–थानकोट–नागढुंगा समान देखियो । गाडीहरूको अत्यधिक चाप तर साँघुरा र उबडखाबड बाटाका कारण यात्रुहरू घन्टौं जाममा फसिरहेका थिए ।

चेकपोष्टमा सवारी नम्बर टिपाउने बाहेक ट्राफिक व्यवस्थापन शून्य सरी छ । फोटो खिच्ने यात्रुहरू बग्रेल्ती देखिन्छन्, तर कुनै निकायले उनीहरूको आँकडा नराख्दा दिनहुँ कति मानिस मुस्ताङ पुगिरहेका छन्, यकिन भन्न सकिन्न ।

उही रमणीय मुस्ताङ दशक अघिसम्म सुनसान, तर आज एकाएक कसरी गुल्जार ? यसको उत्तर पर्यटकीय कोणबाटै खोजौं !

मुस्ताङको पर्यटन
सन् १९९६ मा भएको मेरो मुस्ताङ भ्रमणलाई नेपालले पहिलो पटक मनाएको भ्रमण वर्ष ‘भिजिट नेपाल–१९९८’ ले सार्थक तुल्याइदिएको थियो । त्यतिबेला आयोजित राष्ट्रव्यापी फोटोग्राफी प्रतियोगितामा मैले मुक्तिनाथबाट खिचेको धौलागिरि र नीलगिरिसहितको फोटोले रु.६० हजार नगद पुरस्कार हात पारेको थियो ।

अहिले राष्ट्रले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरिसकेको छ । दुई दशकअघि पाँच लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको थियो भने यसपालिको लक्ष्य २० लाख छ । पहिलो अभियानमा राज्य कनिकुथी लक्ष्य नजिक पुगेको थियो । यसपालिको भ्रमण वर्षलाई सफल बनाउनु हामी सबैको उत्तरदायित्व हुँदै हो ।

धुम्बा ताल ।

पर्यटकीय गन्तव्यको गतिशीलता चार ‘ए’ बाट निर्धारण हुन्छ । ‘फोर ए’ज अफ टुरिजम’ अर्थात् अट्राक्सन (आकर्षण), एक्सेस (पहुँच), अकोमोडेसन (खाने–बस्ने) र एक्टिभिटिज (क्रियाकलाप) । मुस्ताङ आकर्षक त छँदैछ । यहाँको भू–बनोटले तिब्बतको झल्को दिन्छ । दक्षिणतर्फ देखिने धौलागिरि र नीलगिरि हिमाल वर्णनातीत छन् ।

टुकुचे, मार्फा, जोमसोम आदि स्थानमा आकर्षक थकाली बस्ती अनि स्याउ, खुर्पानी र ओखरका बगैंचा । शालिग्राम पाइने कालीगण्डकी नदी र प्रसिद्ध मुक्तिनाथ क्षेत्र । यी सबै पर्यटनमा भनिने ‘यूएसपी’ (युनिक सेलिङ प्रोपोजिसन वा प्वाइन्ट) अर्थात्, विशिष्ट बिक्री थलो हुन् ।

घुमघाम, साहसिक पदयात्रा, तीर्थाटन, चलचित्र र म्युजिक भिडियो निर्माणको विशिष्ट गन्तव्य बनिसकेको छ, मुस्ताङ । पर्यटकको पहुँच पुगिसकेको मुस्ताङ ‘अकोमोडेसन’ मा भने अब्बल उत्रन सकेको छैन । जुन संख्यामा पर्यटक मुस्ताङमा ओइरिएका छन्, उनीहरूलाई आतिथ्य दिन सक्ने हैसियतमा छैनन्, त्यहाँका होटल र लजहरू ।

सामान्य कोठा र खानाका लागि पनि आगन्तुकले चर्को मूल्य चुकाउनुपर्छ । कतिपय बालबालिकासहित यात्रामा निस्केको समूह (आन्तरिक र बाह्य पर्यटक पनि) बिचल्लीमा परेको पनि देखिन्छ ।

मुस्ताङ एक ‘केस स्टडी’
जोमसोममै भेटिए, मेरा बालसखा ट्रिपल पी गुरुङ । नेपाल र भारतमा डेढ दशक हवाईजहाज उडाएका ट्रिपल अहिले आफ्नो थातथलो मनाङमा राजनीतिसँगै पर्यटनका लागि ‘अकोमोडेसन’ को उडान भर्न उत्रिएका छन् ।

फिल्म ‘खुदा गवाह’को छायांकन अवधि (९० को दशक) मा बलिउडका चर्चित कलाकार अमिताभ बच्चन, श्रीदेवी, डेनी डेङजोम्पा आदि बसेको ‘ओम्स होम’ (लज) लाई ट्रिपलले एउटा बुटिक होटलमा कायाकल्प गरेर सञ्चालन गर्दै आएका छन् । पछिल्लो समयतिरको आन्तरिक पर्यटकको बाढीबाट ट्रिपल समेत अचम्मित छन् ।

नेपालीको आयमा वृद्धि, घुम्नुपर्छ भन्ने चेतना र सहज पहुँचका कारण मुस्ताङमा आन्तरिक पर्यटन फस्टाएको तर्क ट्रिपलको छ । तर, आफू पुग्ने गन्तव्यबारे सही जानकारी नराखी लहैलहैमा यात्रा गर्ने कतिपय आन्तरिक पर्यटकको प्रवृत्तिले यात्रा रोमाञ्चक नभई बिलखबन्द हुन पुग्ने उनको धारणा छ ।

रुप्से झरना । 

यहाँ आउने पर्यटकको व्यवस्थापनका लागि प्रवेश बिन्दु घासाबाटै सूचना आदान–प्रदान गर्न सकिने ट्रिपल सुझाउँछन् । “त्यो दिन कति पर्यटक भित्रिए भन्ने जानकारी भए कुनै स्थानीय निकायले जोमसोम र मार्फाका कोठाहरू भरिइसकेछन्, तपाईंहरू नजिकैको ठिनीको ‘होम स्टे’ मा जानुस् भन्न सक्छ” ट्रिपल उदाहरण दिन्छन् “जापान र ताइवानमा चेरी र साकुरा फुल्ने याममा मानिसहरू राजमार्गतिर ओइरिएका हुन्छन् । त्यस्तो बेला अत्यधिक भीडका कारण बाटोको आवागमन अवरूद्ध नहोस् भनेर ट्राफिकले आगन्तुकको संख्या गनेर मात्र प्रवेश गराउँछ । हामीकहाँ यसो हुन सकिरहेको छैन ।”

मुस्ताङलाई एउटा ‘केस स्टडी’ मान्ने हो भने आगामी भ्रमण वर्ष एउटा ठूलो चुनौती हो । किनकि, पर्यटकको संख्या अनुरूप पूर्वाधार तयार हुनु अनिवार्य छ । अबको एक वर्षमै मुस्ताङ (अन्त पनि) मा नयाँ होटलहरू खुल्न सम्भव छैन । “तर, बसोबासका के विकल्प छन्, त्यो तयार गरिनुपर्छ”, ट्रिपल भन्छन्, “रातारात ‘अकोमोडेसन’ तयार नभए पनि होम–स्टे, टेन्टेड क्याम्प जस्ता विकल्प बढाउन सकिन्छ ।”

गन्तव्यस्थलको सही जानकारी लिएर वातावरणमैत्री यात्रा गर्नु पर्यटक (खासगरी स्वदेशी) का निम्ति जति जरूरी छ, माग ज्यादा छ भन्दै आतिथ्यको मूल्य र अर्थ बिर्सेर अतिथिसँग चर्को मूल्य असुल्ने होटलवालाहरूलाई नियमन गर्न पनि उत्तिकै जरूरी छ ।

हिजो जहाज मार्फत र हप्तौं लगाएर सामान आपूर्ति गर्नुपर्दा चर्को मूल्य लिइनु मनासिव थियो । तर, आज ढोकै अगाडि गाडी पुग्दा समेत एक छाक खानाको रु.५०० देखि रु.१००० र सामान्य कोठाको रु.३००० देखि रु.५००० असुल्दा पनि अनुगमन हुन नसक्नु दुःखद हो ।

एउटा यस्तै तिक्तता मेरो पनि रह्यो । मुस्ताङबाट फर्किएर पोखरामा बास बस्न लेकसाइडको बोधि बुटिकमा हामीले कोठा बुक गरेका थियौं । तर, पोखरा फर्किरहँदा बाटैमा फोन आयो, “तपाईंहरूको कोठा अरूलाई दिइसक्यौं, अन्तै बस्नुहोला ।” आतिथ्यको ‘अ’ र व्यावसायिकताको ‘व’ सम्म नबुझेका बोधि बुटिकका व्यवस्थापनको अनुत्तरदायी व्यवहार निन्दनीय मात्र नभएर दण्डनीय पनि छ ।

धन्न, सुरूङको पल्लो छेउमा उज्यालो भने जसरी लेकसाइडकै क्विन्सपार्कका म्यानेजर राजेश फुयालसँग एक मित्र मार्फत सम्पर्क भयो । फुयालले जस्तो आतिथ्य दिए, त्यो व्यावसायिकता र मानवीयताको अद्भुत सम्मिश्रण थियो । यसरी दुई दशकपछिको मुस्ताङ यात्रा धेरै अर्थमा यादगार रह्यो ।

प्रतिकृया दिनुहोस