समाचारआइतवार, कार्तिक १८, २०७५

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा- लगानीको अवसर खोजी

युवराज श्रेष्ठ

पोखरा- इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पोखरासहित पर्यटकीय क्षेत्रहरू रूपाकोट र बेगनासको भ्रमण गरेका छन् । प्रसिद्ध व्यावसायिक संस्था ‘अमेरिकन एक्स्प्रेस’का पूर्वकार्यकारी अधिकृतसहितको टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राट पोखरा आएका हुन् ।

तीन दिने भ्रमण क्रममा उनीसहितको टोलीले नेपालमा विदेशी लगानीको सम्भाव्यतासमेत अध्ययन गरेको थियो । शुक्रबार नेपाल आइपुगेको टोलीले काठमाडौंमा राष्‍ट्रपति विद्यादेवी भण्डारी, उपराष्‍ट्रपति नन्दकिशोर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालगायतसँग शिष्‍टाचार भेट गरेको थियो ।

काठमाडौंको भेटघाटलगत्तै पोखरा उत्रिएको टोलीले यहाँ वैदेशिक लगानीको सम्भाव्यता अध्ययन गरेको थियो । स्थिर सरकारको गठनसँगै नेपाल अब विकासको गतिमा लम्कन सक्ने बताउँदै आर्थिक स्तर बलियो बनाउन सक्ने तम्राटको ठम्याइ छ ।

नेपाली नागरिकसँग मिलेर काम गर्न आफूहरू उत्सुक रहेको र त्यसका लागि आपसी भाइचाराको विकासमा उनले जोड दिए। भ्रमण दलका सदस्य तथा अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृत बेन स्मिथले भने, “नेपालको विकासका लागि पर्यटन र कृषि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने हाम्रो ठम्याइ छ ।”

तर, त्यसका लागि युवाको भूमिका र भाइचाराको विकास पनि त्यत्तिकै उल्लेख्य रहने उनले बताए । टोलीले पोखरा-३१ बेगनासस्थित आनन्दज्योती माविको पनि अवलोकन भ्रमण गर्‍यो । युवा व्यवसायी तथा समाजसेवी पदमराज पौडेलको पहलमा नेपाल भ्रमण गरेको करीब एक दर्जन संख्याको टोलीले उक्त विद्यालयमा आर्थिक सहयोगसमेत गरेको छ ।

उक्त विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीका निम्ति शैक्षिक सहयोगका रूपमा २ हजार ५ सय अमेरिकी डलर सहयोग दिएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले आफ्नो क्षेत्रमा भएको विदेशी हाइप्रोफाइल भ्रमणबाट आफू अत्यन्त खुशी बनेको बताए ।

“नेपालबाट पनि धेरै सिक्न सकिन्छ”

पूर्वप्रधानमन्त्री तम्राटले १० वर्ष लामो द्वन्द्व पार गरेर अगाडि बढेको नेपालबाट पनि धेरै सिक्न सकिने बताए ।

इथियोपियाजस्तै नेपाल पनि आन्तरिक द्वन्द्वबाट गुज्रिएको उल्लेख गर्दै उनले यहाँको शान्ति प्रक्रिया र त्यसपछि आर्थिक विकासमा भइरहेका प्रयासबाट सिक्नुपर्ने धेरै विषय रहेको बताए ।

प्रतिकृया दिनुहोस