ऋण नतिर्ने ७ हजार व्यवसायी कालोसूचीमा
ब्यांक तथा वित्तीय संस्थाको ऋण नतिर्ने करीब ७ हजार व्यवसायी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । ऋण लगानी गरेका सम्बन्धित ब्यांक तथा वित्तीय संस्थाको सिफारिसमा कर्जा सूचना केन्द्रले ६ हजार ९१६ जना व्यवसायी र तिनले सञ्चालन गरेका व्यवसायलाई कालोसूचीमा राखेको हो ।
यस सूचीमा नाम चलेका व्यवसायीहरू समेत छन् । गत साउनयताका सय दिनमा मात्रै ५ सय ९९ जना व्यवसायी कालोसूचीमा परेका छन् । घरजग्गा व्यवसायमा पछिल्लो समय देखिएको मन्दीका कारण धेरै व्यवसायी कालोसूचीमा परेको आकलन छ ।
आर्थिक वर्ष ०७३÷७४ को अन्त्यसम्ममा ५ हजार २४७ जना कालोसूचीमा थिए । त्यसयता १ हजार ६६९ जना थपिएका हुन् । उत्पादनमुलक उद्योग, व्यावसायिक फर्म, ट्रेडिङ, कम्पनी, होटेल, निर्माण कम्पनी, म्यानपावर कम्पनी आदि कालोसूचीमा परेका छन् ।
यसले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने प्रवृत्ति झांगिएको देखाउँछ । कालोसूचीमा परेका व्यक्तिले ब्यांक तथा वित्तीय संस्थाबाट थप कर्जा पाउँदैनन् भने विदेश भ्रमण जानसमेत रोक लाग्न सक्छ ।
एयर एशियाका नेपालस्थित बिक्री प्रतिनिधि (जीएसए) लिएका हरिमान लामा र उनका नातेदार गणेशमान लामा ७ कात्तिकमा फेरि कालोसूचीमा परेका छन् । यसअघि पनि उनीहरू पटक–पटक कालोसूचीमा परेका थिए ।
त्यस्तै, गाडी सट्टापट्टा गर्ने तेज एण्ड करण इन्टरप्राइजेजका तेजकरण जैन पनि कालोसूचीमा परेका छन् । यसअघिदेखि पनि यस्तो सूचिमा पर्दै आएका थिए । काठमाडौं मलका ठेकेदार प्रविरशमशेर जबरा, होटेल माउन्टेनका सञ्चालक मिनर्भा मल्ल र रविन्द्रमान मल्ल पनि कालोसूचीमा परेका छन् ।
पूरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरका ठेकेदार जलेश्वर स्वच्छन्द बिकोईका अध्यक्ष मनोजकुमार भेटवाल पनि कालोसूचीमा छन् ।
कर्जा सूचना केन्द्रले वर्षौं अगाडिदेखि कालोसूचीमा राखे पनि कर्जा नतिरेका कारण त्यस्ता व्यवसायी र कम्पनी कालोसूचीबाट हटेका छैनन् । त्यसमध्ये कतिपय कम्पनी बन्द भइसकेका छन् । फूलबारी होटेल सञ्चालक विनोदबहादर अमात्य र उनका केही नातेदार, नेकोन एयर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकाल, घरजग्गा व्यवसायी सुधीर बस्नेतलगायत व्यक्ति र व्यवसाय पनि कालोसूचीमा कायम छन् ।