व्यक्तित्वआइतवार, कार्तिक १८, २०७५

रोमान्टिक क्रान्तिकारीको अवसान

शंकर तिवारी

घटनाभन्दा माथि विचारको तहमा बहस गर्न सक्ने नेपाली कांग्रेसभित्रका उम्दा बौद्धिक थिए, चक्र बास्तोला ।

जन्मः ११ मंसीर २००३ मृत्युः २७ असोज २०७५

भनिन्छ, अग्लो वृक्ष ढलेपछि त्यसको उँचाइ मापन सहज हुन्छ । लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधनपश्चात् उनको उँचाइको चर्चा शुरू भएको छ ।

झापाको जमीनदार परिवारमा जन्मेका बास्तोलाले दार्जीलिङको कन्भेन्ट स्कूलबाट विद्यालय तहको अध्ययन सिध्याएर बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे । त्यसबेला भारतीय समाजवादीहरूको नाभीस्थल थियो, बनारस ।

समाजवादीहरूको सान्निध्यमा तीक्ष्ण बौद्धिक बास्तोलाको सामाजिक दायरा थप फराकिलो हुनपुग्यो । २०२० को दशकको अन्त्यतिर बनारस पुगेका नेपाली विद्यार्थीहरू बीपी कोइराला वा पुष्पलाल श्रेष्ठसँग ठोक्किन पुग्नु स्वाभाविक थियो । चक्र बास्तोला बीपीसँग नजिक मात्र भएनन्, कोइराला परिवारका भित्रिया समेत हुनपुगे ।

उनको लगनगाँठो कोइरालाहरूकी भान्जी मधु आचार्य (शैलजा आचार्यकी बहिनी) सँग गाँसियो । मधुको मृत्युपछि उनले दोस्रो विवाह गरे । जानकारहरूका अनुसार प्रवासमा निर्वासित जीवन विताइरहेका कोइरालाहरूलाई बास्तोलाले आर्थिक सहयोग समेत गर्थे । उनले केही समय तरुण पत्रिकाको सम्पादन÷प्रकाशन पनि गरे ।

कुनै बेला नेपाल एकीकरणको अभियानमा रहेका गोरखाका राजा पृथ्वीनारायण शाह हतियार खरीद गर्न बनारस पुगेका थए । कालान्तरमा उनै पृथ्वीनारायण शाहका उत्तराधिकारीसँग प्रजातन्त्र पुनस्र्थापनाको संघर्षका क्रममा बास्तोलाले बनारसमा हातहतियार जम्मा गर्न थाले । उता ओखलढुंगा विद्रोह असफल भएपछि कांग्रेसको अन्तिम सशस्त्र विद्रोह त्यही नै बन्न पुग्यो ।

त्यसबेला बनारसमा जम्मा भएका हतियार समाजवादी नेता जयप्रकाशनारायणको सल्लाहमा नेपाली कांग्रेसले बाङ्लादेशको मुक्ति सेनालाई दियो । ती हतियार सीमा क्षेत्रमा पुर्‍याउन सुशील कोइराला र चक्र बास्तोला खटिएका थिए । २०३० सालमा विमान अपहरणमा संलग्न भएबापत बास्तोलाले भारतीय जेलमा डेढ वर्ष बिताउनु पर्‍यो ।

२०४८ सालको आमनिर्वाचनमा पराजित भए पनि २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा विजयी बास्तोला पटक–पटक सत्तामा पुगे । २०६२/६३ सालपछिका दुबै संविधानसभा निर्वाचनमा उनलाई सफलता हात लागेन ।

बीपी कोइराला बाहेक अरूलाई आफ्नो नेता अस्वीकार गरेका बास्तोलाले गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् १२औं महाधिवेशनमा कोइराला परिवार इतरको गुट बनाए; भीमबहादुर तामाङ, नरहरि आचार्यसँग मिलेर । त्यसपछि उनी नेपाली कांग्रेस केन्द्रीय समिति बाहिर रहन पुगे ।

सांसद र पार्टीको केन्द्रीय सदस्य नरहेपछि बास्तोलाले आफ्नो क्रियाशीलता देखाउने ठाउँ नपाएको बताउँथे । पुस २०६९ मा मोरङमा एक कार्यक्रममा सहभागी भएका बेला मस्तिष्कघात भएपछि बास्तोला अचेत भए र कोमामा चार/पाँच वर्ष बिताउनु पर्‍यो । एउटा रोमान्टिक क्रान्तिकारीका जीवनका आखिरी वर्षहरू ऊर्जाशील रहेनन् ।

पार्टी संगठनमा आधारभूत तहको राजनीति नगरेका र विद्यार्थी राजनीतिमा समेत सहभागी नभएका बास्तोला मतदाता–कार्यकर्तामाझ भिज्न सकेनन् । त्यसको प्रभाव उनको चुनावी राजनीतिक करिअरमा पनि देखा पर्‍यो । २०४८ सालमा देशभर नेपाली कांग्रेसको लहर चलेका बेला पनि उनी पराजित हुनुको कारण त्यही थियो ।

वैश्विक राजनीतिक गतिविधि र विमर्शबारे ताजा जानकारी राख्ने उनको अध्ययनशील स्वभावले निर्णायक तहमा उनी प्रभावशाली रहिरहे तर, कार्यकर्ता र जनस्तरमा घुलमिल हुन खरो स्वभाव वाधक बन्न पुग्यो । बनारसको क्रान्ति गाथाले बास्तोलाको राजनीतिक उँचाइ बढाउन मद्दत त ग¥यो तर त्यो स्वदेशमा पार्टी कार्यकर्तामाझ झाङ्गिन भने पाएन ।

२०५६ सालको पोखरा महाधिवेशनमा बहालवाला मन्त्रीको हैसियतमा रहेर केन्द्रीय सदस्य उठ्दा समेत उनी पराजित भए । तर, पार्टीलाई वैचारिक पुट दिन र राष्ट्रिय संकट निवारणका खातिर उनी हरदम तत्पर र क्रियाशील रहन्थे ।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री निर्वाचित भएपछि भारतको राजनीतिक तहमा राम्रो सम्बन्ध भएका बास्तोला दिल्लीमा राजदूतका लागि कोइरालाको रोजाइमा परे । राजदूतमा सिफारिश भएपछि बास्तोलाको मुद्दा भारत सरकारले खारेज ग¥यो । यद्यपि २०५१ सालमा मध्यावधि निर्वाचन घोषणापश्चात् बास्तोला पदबाट राजीनामा गरी नेपाल फर्किए ।

भूराजनीतिको ज्ञान, तीक्ष्ण स्वभाव र स्पष्ट राजनीतिक सुझबुझ भएकाले उनमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा देखिनु स्वाभाविक जस्तो लाग्थ्यो । २०५८ सालमा होलेरी काण्डपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले राजीनामा गरेपश्चात् त्यो अवसर देखा परेको पनि थियो । तर, संसदीय दलको नेताको उम्मेदवारी उनले सुशील कोइरालाका लागि त्याग्नु पर्‍यो । बास्तोलालाई संसदीय निर्वाचनमा शेरबहादुर देउवालाई जित्न सक्ने आत्मविश्वास भए पनि त्यो परीक्षण हुनै पाएन । सुशील कोइराला पनि पराजित भए ।

त्यसो त २०५६ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्छ भनी गिरिजाप्रसादलाई सल्लाह दिने व्यक्तिमध्ये एक बास्तोला पनि थिए । गिरिजाप्रसादसँग सहजै फरक मत राख्न सक्ने निकै कम नेताहरूमध्ये थिए बास्तोला ।

चक्र बास्तोलाको बौद्धिक व्यक्तित्व र खरो स्वभाव गिरिजाप्रसादलाई कहिल्यै आफू अनुकूल लागेन। पार्टीका लागि ‘राइट म्यान’ बास्तोला नेतृत्वका लागि ‘यस म्यान’ हुन सकेनन्। उनी नेतृत्वमा पुग्न नसक्ने कारण यही नै रह्यो।

चक्र बास्तोलाको बौद्धिक व्यक्तित्व र खरो स्वभाव गिरिजाप्रसादलाई कहिल्यै आफू अनुकूल लागेन । पार्टीका लागि ‘राइट म्यान’ बास्तोला नेतृत्वका लागि ‘यस म्यान’ हुन सकेनन् । उनी नेतृत्वमा पुग्न नसक्ने कारण यही नै रह्यो ।

माओवादी समस्या समाधानका लागि गिरिजाप्रसादले चालेका प्रारम्भिक कदममा बास्तोला खरो उत्रँदै थिए । तर बास्तोलाको राजनीतिक महत्वाकांक्षा आफ्ना लागि प्रतिकूल हुन्छ कि भन्ने आशंकामा गिरिजाप्रसादले झापाकै कृष्णप्रसाद सिटौलालाई अगाडि बढाए । सिटौलाको राजनीतिक व्यक्तित्व यही घटनाबाट उकासिएको हो ।

आफ्ना कुरा स्पष्ट राख्ने तर संवेदनशील नेता थिए बास्तोला । पुस २०५६ मा काठमाडौंबाट उडेको एअर इण्डियाको विमान तालिवान विद्रोहीले अपहरण गर्दा परराष्ट्र मन्त्री रहेका बास्तोलाले लिएको अडानबाट भारतको कर्मचारीतन्त्र खुशी थिएन ।

आज पनि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जहाज चढ्नु अगाडि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँच गर्छन् । देशभित्रकै विमानस्थलमा हाम्रो सार्वभौमसत्ता खुम्च्याउने उक्त कार्य बास्तोलालाई पटक्कै चित्त बुझेको थिएन । धेरैपछि आफ्ना समवर्ती भारतीय परराष्ट्रमन्त्री जसवन्त सिंहसँग भेट्दा समेत बास्तोलाले उक्त प्रसङ्ग उप्काएका थिए । जसवन्तको प्रतिउत्तर थियो– ‘चक्रजी अपहरणका कारण मैले पनि हात डढाउनु परेको छ ।’

माओवादीसँगको शान्ति प्रक्रियामा चक्र बास्तोला बहिष्करणमा पर्नुमा उनी राजावादी भएकाले पो हो कि भनी आकलन गर्नेको कमी छैन । त्यसो भन्नु वैचारिक हिसाबले समेत क्रान्तिकारी रुझानका बास्तोलाका लागि अन्याय हुन जान्छ ।

शान्ति प्रक्रियाको बचेखुचेको श्रेय कृष्णप्रसाद सिटौला पश्चात् कोइराला परिवारका शेखरले पाएबाट पनि स्पष्ट हुन्छ– गिरिजाप्रसाद त्यस प्रकरणबाट बास्तोलाको राजनीतिक महत्वाकांक्षामा ब्रेक लगाउन चाहन्थे । बास्तोलालाई शान्ति प्रक्रियामा आफू कहाँनेर छु भन्नेमा धेरै चिन्ता थिएन । उनले प्रष्ट भनेका थिए, ‘२०६२/६३ को जनआन्दोलन वाटरसेड माइलस्टोन हुन्छ ।’ नभन्दै त्यस्तो हुन पुग्यो ।

नेपाली राजनीतिको दुरवस्था देखेर उनी चिन्तित देखिन्थे । उनी भन्थे, “राजनीतिज्ञलाई राजनीतिका बारेमा फुर्सद छैन, तिनीहरू केमा व्यस्त छन्, उदेकलाग्दो अवस्था छ । राजनीति समाजसँग डिस्कनेक्ट भएको छ । नेपाली राजनीतिले डेलिभरी गर्न सकेको छैन ।”

कांग्रेसको राजनीतिमा जिल्लास्तरको राजनीति नगर्नेहरू भूगोलसँग जोडिन पुग्दैनन् । चक्र बास्तोलाका हकमा त्यही लागू हुन्छ । भूगोलसँग नजोडिएपछि नेतृत्वसँग विद्रोह गर्न सकिंदैन । एउटा बौद्धिक नेताले बोलेर मात्र होइन लेखेर पनि सशक्त वैचारिक हस्तक्षेप गर्नुपर्छ ।

प्रदीप गिरी, नरहरि आचार्य, मनमोहन भट्टराईले जस्तो बस्तोलाले कलम चलाएनन् । आशा गरौं, बास्तोलाले सुरक्षित संग्रह गरेका ऐतिहासिक सामग्रीहरू चाँडै प्रकाशित/प्रसारित हुनेछन् ।

नेपाली कांग्रेसमा अहिले २००७ साल अगाडि जन्मेको पुस्ता हावी छ । यही पुस्ताले पञ्चायतका कठोर दिनमा स्वदेश भित्र र प्रवासमा रहेर कांग्रेसलाई जोगाएर हुर्काएको पनि हो । चक्र बास्तोला त्यो युगका एक चम्किला नक्षत्र हुन् ।

प्रतिकृया दिनुहोस