थप समाचारआइतवार, कार्तिक १८, २०७५

प्रजनन केन्द्रमा छैनन् भाले हात्ती

हिमालखबर

चितवन- हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा भाले हात्ती छैनन् । सोही कारण प्रजननका लागि जंगली हात्तीमा निर्भर छ, उक्त केन्द्र ।

फाइल तस्वीर

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा ज‌ंगली हात्ती रोनाल्डो र पश्चिममा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई गर्भाधान गराउँदै आएका छन् । निकुञ्जमै प्रजननयोग्य भाले हात्तीको कमी छ ।

केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका अधिकांश पोथी हात्तीलाई रोनाल्डोले गर्भाधान गराउँदै आएको छ । उने भने, “रोनाल्डोबाट गर्भाधान गराएर १२ भन्दा बढी छावा जन्मिसकेका छन् ।” गत शुक्रबार मात्र गणेशकलीले भाले र २३ असोजमा पुजाकलीले पोथी छावा जन्माएका थिए । दुवै रोनाल्डोका सन्तान हुन् ।

अहिले प्रजनन केन्द्रमा रहेका गर्भिणी तीन हात्तीमध्ये कर्णालीकली र चितवनकलीलाई रोनाल्डोले नै गर्भधारण गराएको हो । लोकतन्त्रकलीलाई भने सुखिभारमा रहँदा ध्रुवेले गर्भाधान गराएको हो ।

गत वर्ष प्रजनन केन्द्रमा चार हात्तीले बच्चा जन्माएका थिए । ती सबै रोनाल्डोबाट गर्भाधान भएको चौधरीले बताए । अहिले खोरसोरमा नौ पोथी हात्ती छन् । तालिम नपाएका आठ तथा पाएका हात्तीका दुई बच्चा छन् । हात्तीले २२ देखि २४ महीनामा बच्चा जन्माउने गर्छ ।

सौराहा क्षेत्रमा पछिल्ला वर्षमा रोनान्डोले राज गर्दै आएको चौधरीले बताए । उनका अनुसार १८ वटा भाले हात्तीमध्ये केही बच्चा तथा केही बुढा छन् । जंगली हात्ती रातको समयमा पोथी हात्ती रहेको ठाउँमा आउँछन् ।

चौधरीका अनुसार असोज अन्तिम सातादेखि वैशाखसम्म रोनाल्डोले राति खोरसोरस्थित प्रजनन केन्द्रमा बिताउने गर्छ । बिहान सबेरै रोनाल्डो जंगलतर्फ लाग्छ ।

बच्चा जन्माएको ६ महीनापछि पोथी हात्तीमा पुनः भाले हात्ती लाग्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेका अनुसार ०४२ सालमा भारतले उपलब्ध गराएका १६ वटा हात्तीबाट शुरु भएको प्रजनन केन्द्रमा हालसम्म २६ वटा छावा जन्मिएका छन् । रासस

प्रतिकृया दिनुहोस