प्रिमियर लिगः आर्सनल र लिभरपुल बराबरीमा, इन्जुरी समयको गोलमा युनाइटेडको जित
इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार अबेर राति सम्पन्न प्रतिस्पर्धामा आर्सनल र लिभरपुलले १–१ गोलको बराबरी खेलेका छन् ।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा पाहुना टोली लिभरपुलले जेम्स मिल्नरको गोलमा ६१औं मिनेटमा अग्रता लिएको थियो । तर, ८२औं मिनेटमा अलेक्जेन्डेर लाकाजेटले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए ।
आर्सनल र लिभरपुलबीचको खेल पूर्वअपेक्षाअनुरुप निकै प्रतिस्पर्धापूर्ण रह्यो । दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि थप गोल भने हुन सकेन । पहिलो हाफमा लिभरपुलका साडियो माने र आर्सनलका लाकाजेटले गरेको गोललाई रेफ्रीले अफसाइड घोषित गरेका थिए ।
घरेलु टोलीले बलमा आफ्नो नियन्त्रण कायम राखे पनि जितको हकदार भने बन्न सकेन । खेल सकिएपछि आर्सनलका प्रशिक्षक उनाइ इमरीले अन्तिम नतिजाबाट आफू ५० प्रतिशत मात्र सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
आर्सनलसँगको बराबरीका बाबजुद लिभरपुल ११ खेलबाट २७ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ र तेस्रो स्थानको चेल्सीको २४ अंक छ । यद्यपि, सिटी र चेल्सीले लिभरपुलभन्दा एक खेल कम खेलेका छन् ।
शनिबार साँझ सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडले इन्जुरी समयको गोलमार्फत् जित हासिल गरेको छ । बर्नमाउथको घरेलु मैदानमा सम्पन्न खेल १–१ गोलको बराबरीमा टुंगिने निश्चितजस्तै बनेका बेला युनाइटेडले मार्कस रासफोर्डको गोलमार्फत् तीन अंक सुरक्षित गरेको हो ।
खेलमा अग्रता भने बर्नमाउथले लिएको थियो ।
घरेलु टोलीका लागि ११ औं मिनेटमा कालम विल्सनले गोल गरेका थिए । तर, ३५ औं मिनेटमा एन्थोली मार्सियलले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका रासफोर्डको निर्णायक गोलले प्रशिक्षक जोसे माररिन्होलाई पनि ठूलो राहत मिलेको छ ।
शनिबार नै सम्पन्न प्रिमियर लिगका अन्य खेलमा टोननहम हटस्पर्सले ओल्भसमाथि ३–२, वेस्ट ह्यामले बर्नलीमाथि ४–२, एभर्टनले ब्राइटनमाथि ३–१, न्युक्यासलले वाटफोर्डमाथि १–० र लेस्टर सिटीले कार्डिफ सिटीमाथि १–० गोलको जित हात पारे ।