थप समाचारआइतवार, कार्तिक १८, २०७५

समितिको म्याद सकिँदै, तोकिएन प्रदेश-५ को राजधानी र नाम

हिमालखबर

प्रदेशसभाले गठन गरेको विशेष समितिको तीन महिने म्याद सकिन पाँच दिन मात्र बाँकी छ। तर, प्रदेश-५ ले अझै नाम र स्थायी राजधानी पाएको छैन।

प्रदेशको नामबारे खासै ठूलो विवाद देखिँदैन। लुम्बिनी वा बुद्धभूमिमध्ये एकमा सहमति हुन सक्ने सम्भावना छ। तर, राजधानीको विवाद सुल्झाउने ठोस प्रयास नभई समितिको म्याद सकिँदैछ।

स्थायी राजधानी र नाम प्रस्ताव गर्न गठित विशेष समितिको म्याद २३ कात्तिकमा सकिँदैछ। बाँकी पाँच दिनमा कुनै उपलब्धि हुने सम्भावना देखिँदैन। यस अवधिमा प्रदेशसभाको बैठक बस्ने सम्भावना समेत नभएकाले समिति नै अन्योलमा परेको छ।

२४ साउनमा प्रदेशसभा बैठकले तीन महिना म्यादसहितको विशेष समिति गठन गरेको थियो। म्याद सकिनै लाग्दासमेत समितिले अधिकार क्षेत्रका कार्य सम्पादन गर्न त के अहिलेसम्म नेतृत्वसमेत पाएको छैन। १५ सदस्यीय समितिमा संयोजकसम्म चुनिएका छैनन्।

समिति सदस्य तथा प्रदेश सांसद विष्णु पन्थीका अनुसार हालसम्म दुई पटक मात्रै समितिको बैठक बस्यो। संयोजक नचुनिएकाले दुवै बैठक ज्येष्ठ सदस्य सरस्वती गौतमको सभापतित्वमा सम्पन्न भए। दुवै बैठकले ठोस निर्णय लिन सकेनन्। १२ भदौ र २ असोजमा बैठक बसेबाहेक समितिका गतिविधि पनि देखिएका छैनन्। नेतृत्व नपाउँदा समितिका सदस्यहरू लाखापाखा छन्।

“स्थायी राजधानी र नाम प्रस्ताव गर्ने चरणमा पुगिएकै छैन,” पन्थी भन्छन्, “समितिको कार्यविधिसम्म प्रस्ताव भएको छ। तर, पारित भएको छैन।”

समितिको भविष्य के हुने भन्ने अन्योल छ। प्रदेशसभाले गठन गरेकाले यसको म्याद बढाउन पनि संसद नै चाहिनेछ। तर, तत्काल प्रदेशसभाको बैठक बस्ने कार्यसूची छैन। पन्थी भन्छन्, “समिति के हुनेछ भन्ने कुरा अन्योलमै छ। यसबारे प्रदेश सरकारले सोच्ला।”

ठूलो संख्याको समिति भएकाले पनि काम गर्न असजिलो भएको केही सांसदहरूको तर्क छ। एक सदस्य भन्छन्, “समिति सानो र छरितो हुनुपथ्र्यो। जम्बो भएकाले पनि खास काम हुन सकेन।”

त्यसमाथि सबै जिल्ला नसमेटिएको गुनासो आएपछि समितिलाई बढाएर १८ सदस्यीय बनाउनेबारे बहस चलेको थियो।

समितिमा रूपन्देहीबाट तुलसीप्रसाद चौधरी र रमा अर्याल, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य, गुल्मीबाट दिनेश पन्थी, अर्घाखाँचीबाट कल्पना पाण्डे, निर्मला क्षत्री र चेतनारायण आचार्य, कपिलवस्तुबाट विष्णुप्रसाद पन्थी र शहरराम यादव, बर्दियाबाट दीपेश थारू र भुवनेश्वर चौधरी, रोल्पाबाट दीपेन्द्रकुमार पुन, प्युठानबाट तारा जीसी र दाङबाट सरस्वती गौतम सदस्य छन्।

सत्तापक्षको ढिलासुस्तीका कारण स्थायी राजधानी र नाम तोक्ने कुरा अन्योलमा परेको प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको आरोप छ।

दलहरूका नेता-कार्यकर्ताहरू आफू अनुकुलका भूगोल र नामलाई चर्चामा ल्याउन तल्लीन देखिन्छन्। उनीहरूले स्थायी राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तुलगायत नाम चर्चामा ल्याएका छन्।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस