रिपोर्टआइतवार, कार्तिक १८, २०७५

टिच फर नेपालः विश्वले हेरेको परिवर्तन

सविना देवकोटा

समुदाय र विद्यार्थीसँग घुलमिल भएर दुर्गमका सामुदायिक विद्यालयमा पढाउने टिच फर नेपाल को शैक्षिक अभियान विश्वसामु अनुकरणीय सावित भएको छ ।

‘टिच फर अल’ को आयोजनामा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरू ‘टिच फर नेपाल’ का स्वयंसेवीहरूले अध्यापन गरिरहेको श्री बाघभैरव माध्यमिक विद्यालय, चौघरे, ललितपुरको अवलोकनमा । तस्वीरः विपिन महर्जन

“मिस, आज मैले चुरोट खाएँ नि !” १० कक्षामा पढ्ने एक छात्रले एकदिन अचानकै शिक्षिका पूजा भेटवालसँग भने ।

“किन खायौ त ?” शिक्षिकाले सोधिन् ।

“साथीहरूको लहैलहैमा लागेर ।”

शिक्षिकाले केही भन्नुअघि नै सिन्धुपाल्चोकको कुण्डलादेवी माध्यमिक विद्यालयका ती विद्यार्थी आफैंले भने, “मिस अबदेखि खान्नँ है ।” उनी मुस्कुराइन् मात्र । छात्रले फेरि थपे, “साँच्चै भनेको मिस अबदेखि खान्नँ, यो कुरा अरूलाई नभन्दिनु ।”

“मलाई त्यो केटा हेरिराखूँ, उसैसँग बोलिराखूँ जस्तो लाग्छ । तपाईंलाई पनि यस्तै हुन्थ्यो, मिस ?” धनुषाकी अर्की छात्राको उत्सुकता थियो शिक्षिका निहारिका मैनालीसँग । किशोरी छात्रालाई शिक्षिकाले भनिन्, “मलाई पनि सात/आठ कक्षा पढ्दा यस्तै हुन्थ्यो । यो उमेरमा यस्तो आकर्षण स्वाभाविक हो ।” आकर्षण स्वाभाविक भए पनि त्यसैलाई पछ्याइरहँदा परिणाम अनपेक्षित पनि हुनसक्ने बारे शिक्षिकाले राम्रोसँग बुझाएपछि ती जिज्ञासु छात्रा सहज भएकी थिइन् ।

“सर, तपाईं हामीलाई पढाउन पहिले नै किन आउनु भएन ?” ललितपुरको बुद्ध भगवान माध्यमिक विद्यालय, मानिखेलमा दुई वर्षको शिक्षण अवधि सकिएर विदा हुन लागेका शिक्षक सन्तोष राईलाई एक विद्यार्थीले भने । पहिले शिक्षक देख्नेबित्तिकै लुक्न खोज्ने विद्यार्थीले त्यसो भन्दा शिक्षक राईका आँखा रसाएका थिए ।

दक्षिण ललितपुरको सिम्लेस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा अंग्रेजी भाषा पढाउन पुगेका शिक्षक विजयमणि पौडेलले पहिलो दिन विद्यार्थीलाई भने, “म तिमीहरूको भाषा सिक्छु, तिमीहरू मैले पढाएको अङ्ग्रेजी सिक्नू ।” दुई वर्षसम्म गाउँको सामुदायिक विद्यालयमा पढाएर फर्कने बेला पौडेल तामाङ भाषामा कुरा गर्न सक्ने भए भने विद्यार्थीको अंग्रेजी भाषामा आश्चर्यजनक सुधार आयो ।

विद्यार्थी र समुदायसँग घुलमिल भएर उनीहरूका हरेक जिज्ञासा मेटाउँदै विद्यार्थीलाई पढाइ र सिकाइतर्फ यसरी नै आकर्षित गराउँछन् टिच फर नेपाल का स्वयम्सेवी शिक्षकहरू । नेपालका गाउँका सामुदायिक विद्यालयमा पढाउने टिच फर नेपाल बाट खटिएका युवाहरूले गएको पाँच वर्षमा ती विद्यालयहरूमा देखिने गरी परिवर्तन ल्याउन सफल भएका छन् ।

दुई वर्षअघि १५ जना मात्रै विद्यार्थी भएपछि बन्द हुने अवस्थामा रहेको ललितपुरको भानोदय प्राथमिक विद्यालयमा अहिले १५० विद्यार्थी पढिरहेका छन् । त्यहाँ अध्यापन गरिरहेका स्वयंसेवी शिक्षक सगेन्द्र श्रेष्ठ भन्छन्, “नजिकैको बोर्डिङ स्कूल छाडेर यस वर्ष मात्रै ३५ जना विद्यार्थीले भानोदयमा नाम लेखाए ।”

सिन्धुपाल्चोकको श्री भोटेनाम्लाङ्ग माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउने स्वयम्सेवी शिक्षक पदमराज अवस्थीले विद्यार्थीलाई च्याउ खेती गर्न सिकाएको कक्षा नै आज गाउँलेका लागि आम्दानीको स्रोत बन्न पुगेको छ । त्यस्तै सिन्धुपाल्चोकको श्री कुण्डलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालिकाको बालविवाह रोक्न शिक्षक पूजा भेटवाल सफल भएकी छन् ।

धनुषाको श्री माध्यमिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित नहुने समस्या हटाउन स्वयम्सेवी शिक्षक महेश सिलवालले नियमित फूटबल खेलको प्रतिस्पर्धा गराउन थाले । फूटबलको आकर्षण र शिक्षकको व्यवहारले गर्दा अहिले अनुपस्थित हुने विद्यार्थी संख्या ह्वात्तै घटेको छ । त्यही विद्यालयका अङ्ग्रेजी विषयमा फेल भइरहने तीन विद्यार्थीको अङ्ग्रेजी भाषा चामत्कारिक रूपमा सुधार भएको छ ।

अरू शिक्षकलाई पाठ
विद्यार्थीलाई उनीहरूले बुझ्ने शैलीमा रमाइलो तरिकाले पढाउने, उनीहरूसँग साथी जस्तो व्यवहार गर्ने शैलीबाट विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र पढाइमा आमूल परिवर्तन आएको यी युवाहरूको अनुभव छ । यस्तो शिक्षण शैलीबाट अन्य शिक्षकहरूले समेत पाठ सिकेर विद्यार्थीलाई अनावश्यक नियन्त्रण गर्न, पिट्न, गाली गर्न छोडेको यी स्वयम्सेवी शिक्षकहरू बताउँछन् ।

सिन्धुपाल्चोक, ठूलोसिरुबारीस्थित श्री कुण्डलादेवी माध्यमिक विद्यालयकी सह–प्रधानाध्यापक सरला थापा भन्छिन्, “पढाइलाई कक्षाकोठामा मात्रै सीमित राख्नुहुँदैन रहेछ ।” स्वयंसेवी शिक्षकहरूले खेल्दै, गाउँदै र नाटक मञ्चन गरेर पढाउँदा विद्यार्थीको सिकाइ क्षमता बढेको उनी आफैंले अनुभव गरेकी छन् ।

स्वयंसेवी शिक्षकका कारण अन्य शिक्षकहरू पनि विद्यार्थीप्रति थप जिम्मेवार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद ढुङ्गेल बताउँछन् । उनी भन्छन्, “पहिलेपहिले विद्यार्थी दुई–तीन दिन विद्यालय नआउँदा किन आएनन् भन्ने प्रश्नमै शिक्षकको भूमिका सीमित हुन्थ्यो, अहिले किन आएनन् भन्ने प्रश्नको खोजीमा उहाँहरू विद्यार्थीको घरमै पुग्नुहुन्छ ।”

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गरी सामाजिक असमानता हटाउन गाउँका स्कूलमा दक्ष स्वयंसेवी शिक्षक पठाउने अभियान शुरू गरेको टिच फर नेपाल ले विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवालाई तालीम दिई अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा सरकारी विद्यालयहरूमा पठाउँदै आएको छ ।

विश्वकै लागि अनुकरणीय
२०६८ सालमा अमेरिकाबाट नेपाल फर्किएर सामाजिक कामका लागि गाउँगाउँमा पुग्दा सामुदायिक विद्यालयको शैक्षिक स्थिति निकै दयनीय देखेका शिशिर खनाल सम्झन्छन्, “अधिकांश अभिभावकको एउटै कामना हुन्थ्यो, हामीले त पढ्न पाएनौं, छोराछोरीले पढ्न पाउन् ।” तर अवस्था त्यसको विपरीत थियो । त्यसैले दुर्गमका सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न टिच फर नेपाल स्थापना गरेर स्वयंसेवी शिक्षक अभियान शुरू गरेको यसका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल बताउँछन् ।

नेपालको टिच फर नेपाल अन्तर्राष्ट्रिय सञ्जाल टिच फर अल को एउटा हिस्सा भए पनि यसको कार्यशैली मौलिक भएको खनालको भनाइ छ । उनी भन्छन्, “२०३० को दशकमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह दोस्रो वर्षको पढाइ सकेका विद्यार्थीले राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रम अन्तर्गत गाउँगाउँमा गएर अनुसन्धान गर्ने प्रणाली थियो, हामीले त्यसैलाई आत्मसात् गरेका हौं ।”

टिच फर नेपाल ले सामुदायिक विद्यालयमा खस्कँदो शैक्षिक गुणस्तर उकास्न गरेको अभ्यास आज अन्य देशका लागि पनि पाठ भएको छ । गएको हप्ता काठमाडौंमा आयोजित टिच फर अल को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी टिच फर चिली का अभियन्ता टोमस रिकार्टले भने, “७/८ वर्षदेखि हामीले काम गरिरहेका छौं भन्ठानेका थियौं तर, साँच्चिकै काम त नेपालमा भएको रहेछ । अब हामी पनि नेपालको अनुभव लागू गर्नेछौं ।”

समुदायमै रहेर परिवर्तन गर्न सकिन्छ भन्ने बलियो प्रमाण बन्न सकेको टिच फर नेपाल बाट विश्वले पाठ सिक्नुपर्ने टिच फर हैटी बाट सम्मेलनमा भाग लिन आएकी नेजिन पल डेर्ली भन्छिन् । टिच फर अल, ग्लोबल लर्निङ ल्याब का निर्देशक जुड हिटन भन्छन्, “विद्यार्थीले सिक्नका लागि विद्यार्थी शिक्षकबीच प्रेम अनिवार्य छ ।” नेपालको यो विशेषतालाई विश्वव्यापी कार्यशैली बनाउनुपर्ने उनी बताउँछन् ।

सामाजिक आत्मीयता कम भएका अष्ट्रेलिया जस्ता देशमा भने समुदायमै घुलमिल भएर शिक्षा दिन असम्भव नै नभए पनि गाह्रो हुने टिच फर अष्ट्रेलिया का चार्ली विलियम्स टिप्पणी गर्छन् । “हामीले शिक्षालाई नीतिगत रूपमा मात्रै बदल्न खोज्नु मूर्खता रहेछ” उनी भन्छन्, “शिक्षा सधैं सानो समुदायमा हुर्कंदो रहेछ ।” सम्मेलनमा सहभागी ५० राष्ट्रका झण्डै ५०० सहभागीले टिच फर नेपाल का स्वयंसेवी शिक्षकहरू कार्यरत ललितपुर र सिन्धुपाल्चोकका विद्यालयहरूको भ्रमण गरेका थिए ।

टिच फर नेपाल ले २०७० सालदेखि ललितपुरको दक्षिणी भेगका १५ वटा विद्यालयमा स्वयंसेवी शिक्षक (फेलो) पठाएर सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेको हो । पहिलो ब्याचका स्वयंसेवी शिक्षक विजयमणि पौडेल भन्छन्, “विद्यालयमा औसत ५४ प्रतिशत रहेको एसएलसी उत्तीर्ण दर अभियानको शुरूआती वर्षमै ७५ प्रतिशत भन्दा बढी पुगेको थियो ।”

हाल टिच फर नेपाल ले ६ जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा ११० जना स्वयंसेवी शिक्षक खटाएको छ । ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ र पर्सामा टिच फर नेपाल ले शिक्षा मन्त्रालय, शिक्षा विभाग र सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा यो अभियान चलाइरहेको कार्यकारी निर्देशक खनाल बताउँछन् ।

प्रतिकृया दिनुहोस