कला/साहित्यशनिवार, कार्तिक १७, २०७५

वैकल्पिक विश्व व्यवस्थाको खोजी

हिमालखबर

इन्द्रध्वज क्षेत्री

हालको भारतीय जनता पार्टीको पूर्ववर्ती भारतीय जनसंघबाट राजनीति शुरू गरेर ५० वर्ष सक्रिय रहेका भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको अगस्ट २०१८ मा निधन भयो ।

वाजपेयी हिन्दूवादी भाजपाबाट प्रधानमन्त्री भए पनि कम आलोचित र धेरैलाई स्वीकार्य रहे । आधा शताब्दीभन्दा लामो उनको राजनीतिक जीवनमा एउटा मात्रै धब्बा रह्यो– सन् २००२ मा गुजरातमा भएको हिन्दू–मुस्लिम दंगामा मुछिएका गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी विरुद्ध कारबाही गर्न नसक्नु ।

दंगापछि भएको भाजपाको बोर्ड बैठकमा वाजपेयीले मोदीलाई हटाउनुपर्ने धारणा राखे पनि पार्टीले त्यस्तो निर्णय गर्न नसकेको खुलासा भयो, उनको निधनपछि । 

वाजपेयीको अडानको बाबजूद मोदीले १२ वर्ष गुजरातको मुख्यमन्त्री सम्हाले । त्यसपछि भारतको निर्वाचित प्रधानमन्त्रीको रूपमा पहिलो पाँचवर्षे कार्यकाल सम्पन्न गर्ने क्रममा छन् र अर्को कार्यकालका लागि पनि निर्विकल्प देखिएका छन् ।

उनै मोदी र यस्तै विवादास्पद पृष्ठभूमिबाट आएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उत्थानको पहेली अर्थशास्त्री मेघनाद देशाइले पत्ता लगाउने प्रयास गरेका छन्, पोलिटिक शकः ट्रम्प, मोदी, ब्रेक्जिट एण्ड प्रोस्पेक्ट फर लिबरल डेमोक्रेसी पुस्तकमा ।

देशाइले विभिन्न देशमा भइरहेका आर्थिक उथलपुथलको विश्लेषण गर्दै सन् १९९० मा सोभियत संघको पतनपछि संसारभर एकछत्र राज गरेको अमेरिकाको प्रभुत्वशाली विश्व व्यवस्था (उनको शब्दमा उदार व्यवस्था) मा चुनौती देखिएको तर्क गरेका छन् । फ्रान्सिस फुकुयामा जस्ता दार्शनिकहरूले इतिहासको अन्त्य भएको र उदार व्यवस्थाले संसारभर राज गर्ने पूर्वानुमान गरेको केही वर्षमै त्यस्तो व्यवस्थाको विकल्प देखिन थालेको उनको तर्क छ ।

खुला बजारको भाष्यलाई चुनौती
लेखक देशाइले हालको खुला बजार अर्थतन्त्रको अन्तर्राष्ट्रिय भाष्यलाई चुनौती दिने प्रयास गरेका छन् । उनले विश्व खुला बजार अर्थतन्त्रको ऐतिहासिक विकासक्रममा विभिन्न देश आफ्नो उत्पादन शक्तिको आधारमा खुला बजारको पक्षधर वा विरोधी रहेको उदाहरणसहित तर्क प्रस्तुत गरेका छन् ।

उनको तर्क छ– खुला बजार तबसम्म देशको लागि फाइदाजनक छ, जबसम्म उत्पादन र निर्यातमूलक उद्योग र उत्पादन धेरै हुन्छन् । यसमा फेरबदल आउनासाथ यो पक्षधरता पनि बदलिन्छ । यस विपरीत नव औद्योगिकीकरण भएका मुलुकहरू खुला बजार अर्थतन्त्रका पक्षधर बन्छन् ।

यसको पुष्टिका लागि देशाइले पन्ध्रौं शताब्दीको व्यापारिक पूँजीवाद (मर्कन्टाइलिज्म) बाट शुरू गरेका छन् । मर्कन्टाइलिज्मको उद्देश्य थियो, आफ्नो उत्पादन बेचेर सुन जम्मा पार्नु । देशभित्रको उपभोग बढाउन ध्यान नदिएकोले यसले अर्थतन्त्र चलायमान बनाएन ।

त्यसपछि अठारौं शताब्दीको उत्तराद्र्धतिर सन् १७७६ मा एडम स्मिथको कालजयी पुस्तक एन इन्क्याएरी इन्टु द नेचर एण्ड कजेज अफ वेल्थ अफ नेशन्स निस्क्यो, जसमा देशहरूले तुलनात्मक लाभका वस्तुहरू उत्पादन गर्नुपर्ने र अन्य उत्पादनहरू लागत कम लाग्ने देशबाट आयात गर्नुपर्ने तर्क गरिएको थियो ।

उक्त तर्कलाई डेभिड रिकार्डोले सन् १८१७ मा राजनीतिक अर्थशास्त्र र कर प्रणालीका सिद्धान्तहरू (प्रिन्सिपल्स अफ पोलिटिकल इकोनोमी एण्ड ट्याक्शेसन) पुस्तक मार्फत प्रतिस्पर्धात्मक लाभ कसरी हुनसक्छ र यसको हिसाबकिताब कसरी गर्न सक्छ भन्नेबारे थप विश्लेषण गरे ।

यिनै दर्शनको आधारमा बेलायतले उत्पादनको आक्रामक बिस्तार गर्‍यो, जसलाई औद्योगिक क्रान्ति भनियो । आफ्ना उत्पादनहरूको बजार सुरक्षित गर्न बेलायतले धेरै देशलाई उपनिवेश बनायो, ती देशको उत्पादन व्यवस्थालाई योजनाबद्ध रूपमा ध्वस्त पनि पार्‍यो । अन्य युरोपेली देशहरूले पनि बेलायतको ढाँचा पछ्याए ।

यो युरोपेली प्रभुत्वको विश्व व्यवस्था दोस्रो विश्वयुद्धपछि पतन हुन थाल्यो । उत्पादन र राजनीतिक शक्तिकेन्द्र अमेरिकामा सर्‍यो । यसले बेलायत र समग्रमा पश्चिम युरोपलाई नै द्विविधाग्रस्त बनायो । उसको साम्राज्य पतनोन्मुख हुँदै जाँदा उत्पादन र बजार गुम्दै गएको थियो । तर, आफूले नै प्रवद्र्धन गरेको खुला बजार व्यवस्थाको विरोध गर्ने अवस्था थिएन । यद्यपि युरोपेली देशहरूले सेवा र वित्त क्षेत्रमा जोड दिंदै आफ्नो अर्थतन्त्र चलायमान बनाइरहे ।

खुला बजारको भाष्य र क्षेत्र बिस्तार हुँदै जाँदा युरोपेली देशहरू सन् १९६७ मा युरोपेली समुदायका रूपमा एकल भन्सार इकाइ (सिंगल कस्टम युनियन) मा संगठित भए, जुन सन् १९९२ मा युरोपेली युनियन (ईयू) बन्यो ।

यसले सदस्य राष्ट्रहरूभित्र खुला व्यापार सुनिश्चित गर्छ । तर, यस्ता भन्सार इकाइहरू खुला बजार अर्थतन्त्रको विरुद्ध हुन् भन्ने देशाइको तर्क छ । किनकि यसले प्रतिस्पर्धा सीमित र एकाधिकार सिर्जना गर्छ । उनको विचारमा ईयूभित्र बजार सुनिश्चित भएकैले जर्मनी हाल ईयूको सबैभन्दा ठूलो पक्षधर छ ।

देशाइले ब्रेक्जिट (ईयूबाट बेलायत छुट्टिने प्रक्रिया) को सन्दर्भ पनि उल्लेख गरेका छन् । ब्रेक्जिटलाई उनले विश्वमा उदार अर्थव्यवस्था र ईयूभित्र जर्मनीले प्रवद्र्धन गरेको खुला बजार व्यवस्थामाथि अर्को ठूलो चुनौती भनेका छन् । उनले युरोपभरि उग्रदक्षिणपन्थी पार्टीहरू उदयको दृष्टान्त मार्फत पनि यो कुरालाई पुष्टि गर्न खोजेका छन् ।

तर, ब्रेक्जिटको रोमाञ्चकता एकातिर हुँदाहुँदै यसले बेलायतलाई के फाइदा/बेफाइदा हुन्छ भन्ने कुरामा भने उनले चर्चा गरेका छैनन् । ब्रेक्जिटले बेलायतलाई अझ असहज अवस्थामा पुर्‍याउनेछ, किनकि उसले युरोपको बजार प्रवेशमा कठिनाइ त व्यहोर्ने नै छ, बाँकी विश्व बजारमा प्रतिस्पर्धा पनि गर्न सक्ने छैन ।

ट्रम्पको राजनीतिक उदयलाई सकारात्मक रूपमा लिने देशाइले उनका आर्थिक नीतिहरू सफल हुनेमा भने आशंका व्यक्त गरेका छन् । ट्रम्पको आर्थिक नीति अमेरिकामा रहेका उत्पादनमूलक उद्योगहरू नवऔद्योगीकरण भएका मुलुकहरूमा सरेपछिको अवस्थालाई उल्ट्याउने प्रयास हो । तर, जुन कारणले ती उद्योगहरू बाहिरिएका थिए, ती यथावत् छन् ।

अमेरिकामा उत्पादन गर्दा श्रमको मूल्य आदि कारणले महँगो पर्न जान्छ, जसले गर्दा विश्वबजारमा अमेरिकी उत्पादनले प्रतिस्पर्धात्मक लाभ गुमाउनेछन् भने अमेरिकी उपभोक्ताले पनि महँगोमा ती सामान किन्नुपर्नेछ । त्यसैले ट्रम्पको प्रयासले केही उत्पादनमूलक उद्योग अमेरिकामा फर्काउन सके पनि दीर्घकालीन रूपमा सफल हुनेमा देशाइले आशंका व्यक्त गरेका हुन् ।

विकल्पको खोजी
हालै दिवंगत माक्र्सवादी अर्थशास्त्री समिर अमिनको धारणामा पेरिस–बर्लिन–मस्को गठबन्धन बेइजिङ र दिल्लीसम्म पुगे अमेरिकी प्रभुत्वको विश्व व्यवस्थालाई चुनौती दिन सकिन्छ । यही धारणाकै सेरोफेरोमा देशाइले यस्तो चुनौती चीन र भारत जस्ता एशियाली देशहरूबाट आउन खोजिरहेको तर्क राखेका छन् । देशाइले यस्तो ध्रुव ढिलो–चाँडो बन्ने र यसको नेतृत्व एशियाली देशहरूले गर्ने तर्क राखेका छन् ।

उनले अमेरिका र चीनबीच युद्ध हुन सक्नेतर्फ समेत संकेत गरेका छन् । एशियामा पहिलो हुने आकांक्षाका कारण उक्त युद्धमा भारतले अमेरिकाको साथ र पाकिस्तानले चीनको साथ दिने उनको अनुमान छ । चीनको आक्रामक पूर्वाधार विस्तार र विश्वमा नम्बर एक अर्थतन्त्र हुने महत्वाकांक्षाका कारण यस्तो युद्ध हुनसक्ने उनको पूर्वानुमान छ ।

सूचनाप्रविधिको विकास–विस्तारले उपलब्ध गराउने नयाँ उद्यम र अन्वेषणका क्षेत्रहरू, रोबोटबाट मानवीय श्रम प्रतिस्थापन, आर्टिफिसियल इन्टेलिजेन्स आदिले आगामी आर्थिक विकास निर्धारित गर्ने देशाइको तर्क छ ।

उनको प्रश्न छ, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटले मानवीय श्रम प्रतिस्थापन गर्‍यो भने मानिसले आय आर्जन कसरी गर्छन् ? कर कसले तिर्छ ? लोककल्याणकारी राज्य सञ्चालनका लागि सरकारको आम्दानीको स्रोत के हुन्छ ? यसको विकल्पमा के राज्यले हरेक नागरिकलाई आधारभूत आय सुनिश्चित गरिदिन सक्छ ?

बहकिएको विश्लेषण
देशाइले वैकल्पिक आर्थिक राजनीतिक व्यवस्था प्रवद्र्धन गर्न खोजे पनि आफ्नो विश्लेषण भने परम्परागत कुल गार्हस्थ्य उत्पादनको कोणबाटै गरेका छन् । उनको भनाइमा चीनमा परिवार नियोजन (एक बच्चा नीति) को अवधारणा सफल हुनु नै अहिले अभिशाप भयो, किनकि चीनको जनसंख्या छिटो बूढो हुँदै गएको छ ।

त्यस विपरीत भारतमा परिवार नियोजन अभियान असफल हुँदा त्यहाँ अहिले उत्पादनशील जनसंख्या धेरै छ र विकास पनि छिटो गर्न सक्छ । यसमा देशाइले के विचार गरेका छैनन् भने, जनसंख्या बूढो हुँदै गए पनि प्रतिव्यक्ति आयमा भारतभन्दा चीन नै अगाडि छ ।

त्यसै गरी चीनभन्दा धेरै पाको जनसंख्या भएको जापानको कुल गार्हस्थ्य उत्पादन स्थिर रहे पनि पारिवारिक आय भने बढिरहेको छ । वैयक्तिक प्रगतिभन्दा देशको शक्ति प्राप्तिलाई बढी प्राथमिकता दिंदा उनी चिप्लिएका छन् ।

देशाइ मूलतः अर्थशास्त्री भएकाले राजनीतिक शुद्धता आवश्यक हुन्छ भन्ने तर्कबाट उनी पन्छिन सक्छन् । तर, ट्रम्प र मोदीको उत्थानलाई स्थापित गर्न उनले केही राजनीतिक आपराधिक घटनाप्रति आँखा चिम्लिएका छन् । गुजरातमा भएको हिन्दू–मुस्लिम दंगामा नरेन्द्र मोदीको भूमिका धेरै तर्फबाट पुष्टि हुँदा पनि उनी त्यसको आलोचना गर्न चुकेका छन् ।

त्यस्तै, आप्रवासी र अफ्रिकी समुदायप्रति डोनल्ड ट्रम्पको घृणा माथि पनि उनी आलोचनात्मक बन्न सकेका छैनन् । समग्रमा देशाइ विद्यमान विश्व राजनीतिक र आर्थिक व्यवस्थाबाट बेखुशी देखिन्छन् र राजनीतिमा नवप्रवेशीहरूलाई स्वागत गर्छन् । तर, उनले उठाएका पात्रहरूको पृष्ठभूमिले उनको दाबीलाई नै फिक्का बनाइदिएको छ ।

राजनीतिमा मोदीको उत्थानले विश्व व्यवस्थामा के प्रभाव पार्छ भन्ने बारेमा पुस्तकमा मनग्य विश्लेषण गरिएको छ । तर, भारतका छिमेकीहरूमा पर्ने प्रभाव र सिर्जना हुने घर्षणबारे उल्लेख गरिएको छैन । यसले उनको विश्लेषण पनि प्रभुत्ववादी दृष्टिकोणबाटैै आएको देखिन्छ र यो पुस्तक दक्षिण एशियामा भारतलाई निर्विकल्प शक्ति देखाउने प्रयास प्रतीत हुन्छ ।

पुस्तक पोलिटिक शकः ट्रम्प, मोदी, ब्रेक्जिट एण्ड प्रोस्पेक्ट फर लिबरल डेमोक्रेसी 

लेखक मेघनाद देशाइ

प्रकाशक रूपा पब्लिकेशन्स इन्डिया (२०१७)

मूल्य भारु ५९५

प्रतिकृया दिनुहोस