थप समाचारशनिवार, कार्तिक १७, २०७५

एडभेन्चर्स ‘दी लास्ट रिसोर्ट’ (फोटो फिचर)

हिमालखबर

-शरद ओझा

भूकम्प आयो, सडक बिग्रियो। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पनि बन्द भयो। त्यसका कारण आठ महिना सबैजसो व्यापार ठप्प रहे। त्यही मार बेहोर्‍यो, दी लास्ट रिसोर्टले पनि।

रिसोर्टका प्रबन्ध निर्देशक भुवन शर्मालाई एक समय त व्यवसाय नै धरासायी हुन्छ भन्ने लागेको थियो। सडक यातायात सञ्चालनका लागि योग्य थिएन। सञ्चार माध्यमहरूमा सिन्धुपाल्चोक भूकम्पले थिलथिलो बनेको समाचार आउँथ्यो। उनलाई त्यतिबेला लागेको थियो रे, अब पर्यटक ल्याउन सकिँदैन भन्ने।

‘तर, हाम्रो अनुमानविपरित नेपाली र भारतीय पर्यटकको संख्या उच्च दरले बढ्यो अनि व्यवसाय सञ्चालन गर्न सकस भएन,” उनी सम्झिन्छन्। ०७२ सालअघि तेस्रो मुलुकका ७० तथा नेपाली र भारतीय पर्यटक गरी ३० प्रतिशत साहसिक खेलका लागि यहाँ आइपुग्थे। भूकम्पपछि ठ्याक्कै उल्टो भयो। अर्थात्, नेपाली र भारतीय ७० तथा तेस्रो मुलुकका ३० प्रतिशत पर्यटक आउने गरेका छन्।

रिसोर्ट परिसरमा रहेका साहसिक खेलमा भूकम्पीय जोखिम रहे/नरहेको बेलायतको डुरहम विश्वविद्यालयका भूगर्भशास्त्रीहरू अझै पनि अध्ययनमा छन्। नेपाली र विदेशी भूगर्भशास्त्रीहरूले १५ रोपनीमा फैलिएको रिसोर्ट भूकम्पीय दृष्टिबाट सुरक्षित रहेको बताएपछि स्वदेशी/विदेशी पर्यटकको चहलपहल उकालो लागेको छ।

केही वर्षयता नेपालीहरूमा घुम्ने प्रचलन बढ्दो छ। ट्रेकिङका साथै साहसिक खेलहरूप्रति पनि नेपालीको रुचि बढ्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन्। विगतमा र्‍याफ्टिङ, बन्जी जम्प, स्विङ, रक क्लाइम्बिङ, क्यानोइङलगायत साहसिक खेलमा प्रायः विदेशी पर्यटक रमाउँथे।

नेपालमा साहसिक खेल शुरु गर्न विदेशीकै महत्वपूर्ण भूमिका छ। न्युजिल्यान्डका डेबिड अलार्डिस तीमध्येका हुन्। लामो समय भोटेकोशीमा र्‍याफ्टिङ गाइड बनेका डेबिडले नेपाली व्यवसायीसँगको सहकार्यमा ०५८ सालमा पहिलो पटक नेपालमा बन्जी जम्प शुरु गराएका हुन्।

साहसिक खेलप्रति नेपालीको रुचि बढ्दै गएपछि पोखराको हेम्जामा पनि ०७० सालदेखि बन्जी जम्प शुरु भएको छ। भोटेकोशीको बन्जी जम्प १६० मिटरको उचाइबाट गरिन्छ भने पोखराको ७० मिटर मात्र।

पोखरामा जिप फ्लायर, प्याराग्लाइडिङ, स्काई डाइभिङलगायत साहसिक खेल सञ्चालनमा छन्। मुलुकका धेरै नदीमा र्‍याफ्टिङ हुने गरेको छ। साहसिक खेल नेपाली पर्यटकको रोजाइमा पर्दा व्यावसायिक दायरा फराकिलो बन्दैछ। ०७२ सालको विनासकारी भूकम्पअघि विदेशी पर्यटकमा टिकेको व्यावसायिक आधार अहिले आन्तरिक पर्यटकमा अडिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ पाङलाङस्थित ‘दी लास्ट रिसोर्ट’मा क्यानोइङ, स्विङ, टेन्डम स्विङ, रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ, र्‍याफ्टिङ, ज्याकोब ल्याडर, एब्सेलिङलगायत साहसिक खेलका प्याकेज उपलब्ध छन्।

दुई ठूला पहाडबीच छङछङ बगिरहेको भोटेकोशी र त्यसमाथि टाँगिएका लठ्ठामा झुण्डिएको झोलुंगे पुल। अनि, त्यही पुलबाट डोरीमा बाँधिएर हाम फाल्नुपर्ने साहसिक खेल। जतिबेलासम्म डोरीको मानिसलाई आफूतिर खिच्दैन, आकाशमा जहाजबाट हाम फाल्ने ‘फ्री फल’कै अनुभूति हुन्छ। डर कति लाग्छ ? हाम फाल्नेलाई मात्र थाहा हुन्छ।

यस्तै, ठूला चट्टानमा तीव्र गतिमा झर्ने पानीसँगै डोरीको सहायताले झर्ने क्यानोइङ खेल जोखिमपूर्णसँगै रोमाञ्चक पनि छ। १५ देखि ४५ मिटरसम्मका आठ वटा झरनामा डोरीबाट झरेर खोलामा पुग्दा थकानसँगै आनन्द आउँछ।

बन्जीजस्तै गरी १६० मिटरमाथिको पुलबाट खेलिने पिङ अर्थात् स्विङ गर्दा लाग्ने डर र आनन्द अविस्मरणीय हुन्छ। टेन्डम स्विङमा भने दुई जनाले पुलबाट एकैपटक जम्प गर्न मिल्छ।

‘दी लास्ट रिसोर्ट’ले कर्पोरेट हाउसलाई लक्षित गरेर टिम बिल्डिङ प्याकेज पनि बनाएको छ। यसमा रक क्लाइम्बिङ, ज्याकोब ल्याडर, एब्सेलिङ, क्यानोइङ र व्यवस्थापनसँग सम्बन्धित तालिमहरू पर्छन् । शर्मा भन्छन्, “हामीले यहाँ नयाँ विषय सिकाउनेभन्दा पनि नियमित काम गर्दा महत्व नदिइएका र व्यवस्थापनको रोजाइमा नपरेका साना विषय नोटिस गराउने गर्छां।”

यस्ता साहसिक खेलमा सुरक्षाको पाटो संवेदनशील हुन्छ। त्यसैले ४० देखि १०५ किलो तौल भएका व्यक्तिले मात्र खेल्न सक्छन्।

काठमाडौंबाट चार घण्टामा पुग्न सकिन्छ, यस रिसोर्टमा। साहसिक खेल मात्र होइन, शान्त वातावरणमा पूस्तकमा घोत्लिन चाहनेहरूका लागि पनि ‘दी लास्ट रिसोर्ट’निकै राम्रो गन्तव्य हो। सफारी टेन्टभित्र भोटेकोशीको सुसाहटसँगै रात बिताउनुको मज्जा नै बेग्लै।

 

प्रतिकृया दिनुहोस