थप समाचारशुक्रवार, कार्तिक १६, २०७५

सय वर्ष थेग्ने मापदण्ड बनाउन सुझाव

हिमालखबर

पोखरा- पोखरालाई व्यवस्थित र सुन्दर बनाउन अबको सय वर्ष थेग्ने भवन तथा पूर्वाधार निर्माण मापदण्ड बनाउन महानगरपालिकालाई सांसदहरूले सुझाव दिएका छन्।

विज्ञ समूह गठन गरी पोखरा महानगरपालिकाले तयार गरेको भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड, २०७५ बारे सुझाव लिन आयोजित छलफलमा सांसदहरूले पोखराको सौन्दर्य नबिग्रने गरी मापदण्ड बनाउनुपर्ने सुझाव दिएका हुन्। दीर्घकालीन सोच राखेर महानगरले काम गर्नुपर्ने सुझाव उनीहरूको छ।

छलफलमा सांसदहरूले कार्यान्वयन गर्न सकिने र दूरगामी महत्व राख्ने मापदण्ड बनाउन सुझाव दिएका छन्। कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य वृन्दा राना मगरले पोखराको भौगोलिक अवस्थालाई हेरेर भौतिक संरचना निर्माण गर्नुपर्ने बताइन्। सार्वजनिक जग्गाको संरक्षण गर्दै हचुवाको भरमा नभई दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्माणको मापदण्ड बनाउनुपर्ने बताइन्।

सांसद कृष्णबहादुर थापाले भवन र पूर्वाधार निर्माणको मापदण्ड बनाउँदा एक इन्च पनि सम्झौता नगरी पोखराको भविष्यलाई हेरेर बनाउनुपर्ने बताए। सांसद मित्रकुमारी गुरुङ सुवेदीले निजी घरको मापदण्डलाई वैज्ञानिक बनाइनुपर्ने बताइन्।

सांसद प्रभा कोइरालाले अबको एक सय वर्षलाई थेग्ने गरी मापदण्ड बनाउन सुझाव दिइन्। सडकको मापदण्ड बनाउँदा कन्जुस्याईं गर्न नहुने र पार्किङको समस्यालाई समाधान गर्न घर बनाउँदा अन्डरग्राउन्ड पार्किङलाई अनिवार्य गर्नुपर्ने सुझाव उनको छ। सांसद राजीव पहारीले शहरीकरणलाई व्यवस्थित गर्ने गरी मापदण्ड बनाउनुपर्ने बताए। सांसद पुष्पा केसी भण्डारीले ताल तथा जलाधार क्षेत्रमा निर्माण भएको बाटोका कारण समस्या ल्याएको बताइन्।

प्रतिकृया दिनुहोस