थप समाचारबिहिवार, कार्तिक १५, २०७५

गाउँपालिकाले थुन्यो २ सय वटा बाँदर

हिमालखबर

पर्वत- अपराध गर्ने मानिसलार्इ प्रहरीले नियन्त्रणमा लिने गरेको विषय नौलो होइन। पर्वतको महाशिला गाउँपालिकाले भने बालीनाली सखाप बनाउने बाँदर नियन्त्रणमा लिएर थुन्ने गरेको छ।

फाइल तस्वीर

गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षको हालसम्म दुर्इ सय २० वटा बाँदरलार्इ नियन्त्रणमा लिइसकिएको छ। त्यसका लागि दोस्रो गाउँसभाबाट बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित रु ३० लाख विनियोजन गरिएको छ।

गाउँपालिकाका ६ वटै वडामा बाँदर नियन्त्रण अभियान सञ्चालन गरिएको प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए। बाँदर नियन्त्रणका लागि भारतीय नागरिक, स्थानीयवासी र प्रहरी गरी २० जनालाई परिचालन गरिएको छ।

नियन्त्रणमा लिइएका बाँदरलाई वडा नम्बर ४ स्थित पाखापानीमा सुरक्षित खोर बनाएर राखिएको छ। बाँदर बर्दिया राष्ट्रिय निकञ्जमा लैजाने गाउँपालिका र निकुञ्जबीच कुरा भएको भए पनि प्रदेश सरकार, वन विभाग, वन मन्त्रालयलगायत एक दर्जनभन्दा बढी निकायको सहमति आवश्यक पर्ने भएकाले पठाउन नसकिएको उच्चैले बताए।

बाँदर नियन्त्रण गरेपछि बालीनाली जोगिएको छ। तर, तिनको दैनिक पालनपोषण, दानापानी र औषधि उपचारको व्यवस्था स्थानीय बासिन्दाले नै गरिरहेका छन्।

स्थानीय बासिन्दाले फलफूल, मकै, धान, तरकारी, आलु दिँदै आएका छन्। दैनिक ५० किलोभन्दा बढी खाद्यान्न आवश्यक पर्छ। आधुनिक प्रविधिको पासो बनाएर बाँदर नियन्त्रण जारी छ। भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी सखाप पार्ने गरेका छन्। गत साउनयता धेरै नियन्त्रण भएको महाशिला-५ की सरस्वती अधिकारीले बताइन्। रासस

प्रतिकृया दिनुहोस