थप समाचारबिहिवार, कार्तिक १५, २०७५

बालबालिकाको उजुरीमा मदिरा उत्पादक पक्राउ

हिमालखबर

विराटनगर- विराटनगर-१२ का बालबालिकाले जिल्ला प्रहरीमा लिखित उजुरी दिएपछि तीन वटा घरमा छापा मारेर प्रहरीले मदिरा उत्पादकलाई पक्राउ गरेको छ।

विराटनगर-१२ नयाँबस्ती कृष्णमार्ग ठेगाना उल्लेख गरी हस्तलिखित पत्र कार्यालयमा आएकाले तीन वटा घरमा छापा मारिएको प्रहरीले जनाएको छ।

“मेरो घर रहेको टोलमा थुप्रै स्थानमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुन्छ र त्यसको सेवनको कारण घरमा झैझगडा र कुटपिट हुने गर्छ। स्कुलको फी तिर्ने पैसाले समेत बुबाले रक्सी सेवन गर्नुहुन्छ, मैले घर सुधार्ने निकै प्रयास गर्दा समेत सकिनँ। यस्तो अवस्था रहेमा हाम्रो जीवन बर्बाद हुन्छ, त्यसैले समस्या समाधान गरिदिनु हुन” भन्ने विवरणको पत्र प्रहरी कार्यालयमा पुगेको थियो।

पत्र आएपछि जिल्ला र वडा प्रहरीले १४ कात्तिकमा मदिरा उत्पादकलाई नियन्त्रणमा लिइएको हो। स्थानीय गोपाल तामाङ, मेनोस उदास र राजकुमार श्रेष्ठका घरमा उत्पादित मदिरा र उत्पादन गर्न राखिएका कच्चा पदार्थसमेत जफत गरिएको प्रहरी नायब उपरीक्षक निशान थापाले बताए।

प्रतिकृया दिनुहोस