इङ्लिस लिग कपमा चेल्सीको संघर्षपूर्ण जित
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियनसिप क्लब डर्बी काउन्टीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै लिग कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
जारी प्रिमियर लिगका शुरुवाती १० खेलमा अपराजित रहँदै अंक तालीकामा तेस्रो स्थानमा रहेको चेल्सीका लागि लिग कपको क्वार्टरफाइनल यात्रा तय गर्न भने सहज भएन ।
चेल्सीका घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा आफ्ना पूर्व स्टार खेलाडी फ्रांक लाम्पार्डको प्रशिक्षणमा रहेको डर्बी काउन्टीले ठूलो चुनौती पेस गर्यो । तर, पहिलो हाफमा भएका दुइटा सुसाइड गोल नै डर्बीको हारका प्रमुख कारण बने ।
खेल शुरु भएको पाँचौं मिनेटमै डर्बीका फिकायो टोमोरीको सुसाइड गोलमा चेल्सीले अग्रता लिएको थियो । तर, त्यो अग्रता चार मिनेट पनि टिकेन ।
नवौं मिनेटमा ज्याक मारिअटले गोल गर्दै डर्बीलाई बराबरीमा ल्याए । तर, २१ औं मिनेटमा रिचर्ड कियोघले अर्को सुसाइड गोल गर्दै चेल्सीलाई अग्रता दिलाइदिए । चेल्सीको यो अग्रता पनि धेरै बेर टिकेन । २७ औं मिनेटमा मार्टिनले गोल गर्दै डर्बीलाई बराबरीमा पुर्याए ।
४१ औं मिनेटमा सेस फाब्रिगासले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । दोस्रो हाफमा दुवै टिमबाट गोल नभएपछि अन्ततः फब्रिगासको त्यही गोल नै चेल्सीको जितको आधार बन्यो ।
चेल्सीले लिग कपको क्वार्टरफाइनलमा अब प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नमाउथको सामना गर्नेछ ।
लिगकपको क्वार्टरफाइनल पुग्ने क्रममा बर्नमाउथले नर्विच सिटीलाई २–१, टोटनहमले वेस्टह्यामलाई ३–१ ले तथा आर्सनलले ब्ल्याकपुललाई २–१ गोलले पराजित गरे ।