कला/साहित्यबिहिवार, कार्तिक १५, २०७५

पढ्न चाहन्छन् थारू आइकन

हिमालखबर

शहरीया जीवनशैलीमा हुर्किएका प्रदेश-१ का थारू समुदायका युवा-युवतीबीच गरिएको ‘मिस्टर एन्ड मिस थारू आइकन’का विजेताले पढाइलाई पहिलो प्राथमिकतामा राखेर कला क्षेत्रमा लाग्ने बताएका छन्। पढाइ सकेर मात्रै कला क्षेत्र अपनाउने मिस्टर थारू तेजेन्द्रकुमार विश्वास र मिस थारू शिवानी चौधरीको भनाइ छ।

जातीय संस्कार सिकाउँदै समाजमा स्थापित हुन दिइएको पाँच साताको प्रशिक्षणपछि विराटनगरमा २७ असोजमा मिस्टर एन्ड मिस थारू आइकन प्रतियोगिता गरिएको थियो।

उनीहरूले कलाकारिता फुर्सदमा गर्ने पेशा भएको बताए। उनीहरूलाई व्यक्तित्व विकाससँगै थारू जातिको पोशाक, संस्कार, चाडपर्व र परिकारका बारेमा प्रशिक्षण दिइएको थियो।

झापा, मोरङ, सुनसरी र उदयपुरका १४८ युवा-युवतीबाट ८० जनालाई छानिएको थियो। थारू कला केन्द्रका कार्यक्रम व्यवस्थापक प्रवलदीप विश्वासका अनुसार तीमध्ये १७ युवा र २९ युवतीलाई प्रशिक्षणमा सहभागी गराइएको थियो।

“थारू जातिको विवाहमा जन्ती जाँदा तरवारमा सुपाडी लगाइँदो रहेछ, प्रशिक्षण लिएपछि पर्वका विशेषताहरू पनि थाहा भयो,” तेजेन्द्रले भने।

शिक्षादीप कलेज विराटनगरबाट हालै कक्षा १२ उत्तीर्ण गरी कृषि विज्ञानमा स्नातक पढ्ने तयारीमा रहेका तेजेन्द्र र हिमालय दर्शन क्याम्पस विराटनगरमा बीआईएम प्रथम वर्षमा अध्ययनरत शिवानीले पढाइ सकेर मात्रै कला क्षेत्रमा लाग्ने बताए। “जित्ने बित्तिकै विभिन्न प्रतियोगिता र स्टेज सोका लागि निम्ता आए पनि मैले मानिनँ,” तेजेन्द्रले भने।

नेपालमा छात्रवृत्तिमा नाम ननिस्किए उनी भारत गएर पढ्ने तयारीमा छन्। थारू समुदायमा मोडलिङलाई नकारात्मक रूपमा लिने गरिएको शिवानी बताउँछिन्। भन्छिन्, “कलाकारिताले मानिसका बीचमा उभिन सक्ने आत्मविश्वास बढाउँछ भन्ने सन्देश हाम्रो जातिमा फैलाउन चाहन्छु।”

यस बीचमा आयोजना हुने मिस नेपालमा पनि भाग लिने तयारीमा छिन्, शिवानी।

छोरीका लागि असल अभिभावकत्व प्रदान गरेको बताउने शिवानीका बाबु श्रवणकुमार माझी भन्छन्, “हरेक कुरालाई विश्लेषण गर्छिन्, कसैले नराम्रो भनिदिए त्यसलाई सकारात्मक रूपमा लिएर सुधार्न खोज्छिन्।”

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस