चार जलविद्युत कम्पनीको १८ अर्बको शेयर आउँदै
काठमाडौं- चिलिमे जलविद्युत आयोजनाले निर्माण गरिरहेका तीन र तामाकोशी जलविद्युत आयोजनाले यसै वर्ष सर्वसाधारणमा १८ अर्ब रुपैयाँको प्राथमिक शेयर जारी गर्ने भएका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी परियोजनाका लागि आवश्यक पर्ने रकममध्ये सर्वसाधारणको शेयर पुँजीमार्फत यो रकम उठाउन लागिएको जानकारी दिए। “यो वर्ष शेयर निष्कासन वर्ष बन्नेछ, चारै परियोजनाले सर्वसाधारणमा आईपीओ जारी गर्दैछन्,” घिसिङले भने, ‘१ खर्ब लागतका ७२६ मेगावाट क्षमताका परियोजना स्वदेशी पुँजीमा निर्माण सकिन लाग्नु उत्साहजनक छ।”
प्राधिकरणको सहायक कम्पनी चिलिमेले १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन तथा ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन निर्माण गरिरहेको छ। यस्तै, ४५६ मेगावाटको माथिल्लो तामाकोशी परियोजना पनि निर्माणाधीन छ।
यी सबै परियोजनामा स्वदेशी पुँजी र ऋण परिचालन गरिएको छ। दुई वर्षभित्रै यी परियोजनाहरूको निर्माण सकिँदैछ। तामाकोशी जलविद्युत आयोजना भने कात्तिक ०७६ देखि सञ्चालनमा आउने कम्पनीका कार्यकारी प्रमुख विज्ञान अधिकारीले जानकारी दिए।
मध्य भोटेकोशीले १५ कात्तिकदेखि पहिलो चरणमा सञ्चयकर्ता र कर्मचारीलाई शेयर जारी गर्दैछ। १०० रुपैयाँ अंकित दरका १ करोड ४४ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिन लागेको कम्पनीले जनाएको छ। त्यसमध्ये कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि १ करोड १७ लाख, संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता निष्काशन गर्न लागिएको हो।
शेयरका लागि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरू र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र त्यसभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र त्यसभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम १२०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गर्ने कम्पनीको योजना छ।
अधिकृत पुँजी ६ अर्ब २१ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी ६ अर्ब रुपैयाँ छ।
निर्माणाधीन यस आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदाका बखत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड रुपैयाँ थियो। हाल यस आयोजनाको अद्यावधिक अनुमानित लागत बढेर निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ पुगेको छ।