जुनियर विश्व सफ्ट टेनिसमा नेपालका १२ खेलाडी सहभागी हुँदै
दक्षिण कोरियामा आगामी ३–८ मंसीरमा हुने ‘जुनियर विश्व सफ्ट टेनिस’ प्रतियोगिताका लागि नेपाली खेलाडीहरुले तयारीलाई तीव्र पारेका छन् ।
कोरियामा हुने खेलमा नेपालका तर्फबाट १२ जना खेलाडी सहभागी हुनेछन् । जसमध्ये विराटनगरका मात्रै ६ जना छन् । उनीहरुलाई दैनिक ६ घण्टा तालीम दिइँदैछ ।
२१ वर्ष मुनीको उमेर समूहबाट विराटनगरका युकेश योञ्जन, रनिश तामाङ र श्रेया राईले प्रतिनिधित्व गर्दैछन् ।
१८ वर्ष मुनीको उमेर समूहबाट विराटनगरका आशिष बोहरा र काठमाडौंका ब्रिजेश पाण्डे तथा धनगढीकी भावना पनेरुले खेल्नेछन् ।
त्यसैगरी, १५ वर्ष मुनीका खेलाडीमा विराटनगरकी अभिलाशा लामिछाने र आभाना कार्की तथा दाङका शुभम खनाल र योगेशकुमार भण्डारीले खेल्दैछन् ।
प्रशिक्षक राजेश बोहराले उनीहरुलाई बिहान र बेलुका दुईपटक प्रशिक्षण गराइरहेका छन् ।
गत वर्ष इन्डोनेशियामा ‘रोड टू एशियाकप टेष्ट’ खेलेका आशिष बोहरा, रनिश तामाङ र युकेश योन्जनबाट बढी आशा रहेको प्रशिक्षक बोहराले बताए ।
आशिष र युकेशले गत असारमा कोरियामा सम्पन्न एशिया कपपनि खेलेका थिए ।
कोरियन प्रशिक्षक नेपालमा
खेलाडीलाई अतिरिक्त प्रशिक्षणका लागि कोरियाली प्रशिक्षक चोङरुल चोइ नेपाल आएका छन् । उनले विराटनगरका खेलाडीलाई १२ कात्तिकदेखि एक साता तालिम दिंदैछन् । चोइले विराटनगरपछि दाङ, नेपालगञ्ज र धनगढीमा प्रशिक्षण दिनेछन् ।
उनका अनुसार, दक्षिण कोरियामा खेलाडीलाई सरकारले न्यूनतम तीन हजार डलर र प्रशिक्षकलाई ६ हजार डलर मासिक पारिश्रमिक दिने गरेको छ ।
त्यस बाहेक खेलाडीलाई पोशाक, खेलसामग्री र प्रशिक्षकलाई निजी गाडी तथा मासिक एक हजार डलरको खानाको कुपन दिने गरेको छ । “नेपालमा भने खेलाडीलाई सर्ट टेनिस संघले खाजा मात्रै खुवाउँदो रहेछ,” उनले भने ।
सफ्ट टेनिस संघ मोरङका अध्यक्ष श्याम लामाका अनुसार, संघले खेलाडीलाई दैनिक प्रशिक्षणमा जान रिक्सा भाडा, खाजा र फलफूल खुवाउने गरेको छ ।
उपाध्यक्ष अभिषेक कार्कीका अनुसार, खेलाडी बाहेक कोरिया जाने व्यवस्थापन पक्षका तीन जनाले जहाजको टिकट आफैं काट्नेछन् भने कोरियामा खाने बस्ने खर्च आयोजकले बेहोर्नेछ । “प्रतियोगिता गराउँदा प्रायोजकबाट आएको खर्चले जिल्ला संघ चल्दैछ, केन्द्रको कुनै सहयोग छैन” उनले भने ।
*सच्याइएकाे
कमल रिमाल, विराटनगर