रिपोर्टबुधवार, कार्तिक १४, २०७५

साढे तीन वर्षदेखि बन्द तातोपानी नाका खोल्ने सुरसार

सहमतिभन्दा २ महीना चाँडै सञ्चालनको तयारी

हिमालखबर

उपेन्द्र पोखरेल

काठमाडौं- गएको २७ असोजमा उत्तरी सीमा क्षेत्र, तातोपानी नाकास्थित मितेरी पुल पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पारिपट्टि भइरहेको सडक निर्माणको आभास राम्रैसँग पाए। चिनियाँ क्षेत्रमा भइरहेको सडक निर्माणमा प्रयोग भएका डोजर, स्काभेटरलगायत हेभी उपकरणको आवाज मितेरी पुलसम्म प्रष्टसँगै सुनिन्थ्यो।

मितेरी पुल पुगेर फर्केपछि मन्त्री महासेठको योजना पनि बदलिएको छ। यसअघि मे २०१९ सम्ममा तातोपानी नाका जोड्ने नेपालतर्फको सडक निर्माण गरिसक्ने बताउँदै आएका उनी त्यसभन्दा दुर्इ महिना पहिले नै सडक निर्माण सम्पन्न गराउने दौडधुपमा जुटेका छन्। १२ कात्तिकमा मन्त्रालयमा आयोजित एक अनौपचारिक बैठकमा उनले आउँदो मार्चसम्ममै काम सक्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

२७ असोजको अनुगमनमा मन्त्री महासेठसँगै सिन्धुपाल्चोकबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नि सापकोटा, प्रदेश-३ का वन, वातावरण तथा उद्योग मन्त्री अरुण नेपाल, सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ र डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अशोक तिवारीलगायत सहभागी थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत ५-१० असारमा सम्पन्न चीन भ्रमणका क्रममा मे २०१९ अर्थात् चैत अन्तिम सातादेखि तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने सहमति भएको थियो। सिन्धुपाल्चोकका सांसद सापकोटाका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैंले तातोपानी नाकाको प्रसंग उठाएका थिए। र, छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए।

२०२६/२७ सालदेखि सञ्चालनमा आएको तातोपानी चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने पहिलो नाका पनि हो। १२ वैशाख २०७२ को महाभूकम्प र त्यसयताका परकम्पहरूले त्यस क्षेत्रको भूगोल नै लथालिंग बनेपछि उक्त नाका बन्द भएको थियो। भूकम्पको विनाशलीलापछि चीनले नेपाल सीमावर्ती, खासा बजारका बासिन्दालाई करिब साढे चार सय किलोमिटर टाढाको सिगात्सेमा पुनर्वास गराएको छ। भूकम्पबाट क्षतविक्षत खासाको भूगोलमा बस्ती बसाल्ने कुनै योजना देखिँदैन, चिनियाँ पक्षको।

त्यसयता नेपालले पटक-पटक नाका सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गर्दै आएको छ। सन् २०१२ मा भविष्यमा नेपालसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढीलाई बनाउने चिनियाँ निर्णयका कारण तातोपानी नाका खुल्ने/नखुल्ने अन्योल कायम थियो।

अहिले लार्चादेखि कोदारीसम्मको सडक चीनले निर्माण गरिरहेको छ। नेपालतर्फको सडक निर्माणलाई तीव्रता दिन मन्त्री महासेठले पहलकदमी लिएका छन्।

सभामुख कृष्णबहादुर महराको पाँच दिने तिब्बत भ्रमणका क्रममा ल्हासामा दुई मुलुक जोड्ने मितेरी पुलको संयुक्त शिलान्यास भएको थियो। त्यतिबेला चिनियाँ अधिकारीहरूले मितेरी पुल निर्माणमा समय लागे पनि दुवैतर्फको सडक तयार हुनासाथ स्टिलको पुल राखेर भए पनि अस्थायी रूपमा आवागमन सहज बनाउने प्रतिबद्धता जनाएका थिए।

“खासादेखि मितेरी पुलसम्मको सडक चिनियाँहरूले युद्धस्तरमा निर्माण गरिरहेका छन्,” सांसद सापकोटाले हिमालखबरसँग भने। उनका अनुसार सबैभन्दा बढी बिग्रिएको लार्चा-कोदारी खण्डको निर्माणलाई तीव्रता दिइएको छ।

यसअघि पहिरो रोकथाम नेपालले गर्नुपर्ने र सडक चीनले बनाइदिने सहमति थियो। नेपालको पटक-पटकको आग्रहपछि पहिरो रोकथाम र सडक निर्माण दुवै चीनले नै गरिदिने भएको छ।

नेपालतर्फको सडक निर्माणका लागि आवश्यक सबै बजेट व्यवस्था गरिने प्रतिबद्धता मन्त्री महासेठले सरोकारवालाहरूसँग गरेका छन्। “अब तातोपानी नाका छिट्टै खुल्ने विश्वसनीय आधार बन्यो,” सांसद सापकोटाले भने, “मे सम्ममा त खुल्ने निश्चित भयो, त्यसअघि नै सञ्चालनमा आउने सम्भावना बढेको छ।”

मे सम्ममा नाका खुल्नेमा द्विविधा नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए। तर, त्यसका लागि भूकम्पका कारण ध्वस्त भएको सडक निर्माण नै पहिलो काम हो।

सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ भने मितेरी पुलभन्दा यताको सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा नभइसकेको बताउँछन्। “हामीले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौं,” श्रेष्ठले भने।

उनका अनुसार कुल ११४ किलोमिटरमध्ये एक किमिमा मात्र अहिले सवारी साधन सञ्चालन हुन सक्दैनन्। ११३ किमिमा भने यात्रुवाहक बसहरू सञ्चालनमा छन्। बाह्रविसेबाट मितेरी पुलसम्मको करिब २२ किमि खण्डमा भने अहिले पनि ठूलो भारवहन क्षमताका गाडी सञ्चालन हुन सक्ने अवस्था छैन।

महानिर्देशक श्रेष्ठका अनुसार तातोपानी नाका सञ्चालनमा ल्याउन नेपालतर्फको सडक निर्माणका लागि करिब ९० करोड रुपैयाँ आवश्यक छ। उक्त बजेट निकासा भएपछि मात्र टेन्डर प्रक्रिया शुरु हुन्छ।

“एक किमि सडक यति ध्वस्त भएको छ कि त्यतिबेला चीनले निर्माण गरेका सबैजसो पर्खाल र पुल लडेका छन्। सडकको पूर्ण निर्माणका लागि ठूलो बजेट आवश्यक हुन्छ,” श्रेष्ठले भने, “त्यसका लागि त सर्वे र डिजाइन पनि गरिएको छैन।” महभीर, डाकलाङ, लार्चाको पुल र लिपिङको पुललगायत स्थानमा बढी समस्या छ।

तत्काललाई गाडी सञ्चालनसम्म हुन सक्ने अवस्थामा ल्याउने प्रयास रहेको श्रेष्ठले बताए। उनका अनुसार शुरुमा चीनका तर्फबाट नेपालले पहिरो रोकथाम गर्ने र चीनले सडक बनाइदिने प्रस्ताव आएको थियो। तर, विभागले एकै ठाउँमा दुई वटा एजेन्सी ‘इंगेज’ हुँदा काम गर्न अप्ठेरो हुने जनाउँदै काम बाँडफाँट गर्नुपर्ने प्रस्ताव अगाडि सारेको थियो। त्यसको जवाफ सडक विभागसम्म आइसकेको छैन।

कुतीबाटै व्यापार

तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार अब खासाबाट नभई करिब ६ किमि माथिको कुतीबाट व्यापार सञ्चालन गर्ने चिनियाँ तयारी देखिन्छ। र, त्यहाँबाट सीधै सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन सुख्खा बन्दरगाहसम्म मालवाहक सवारी साधन पठाउने चिनियाँ तयारी छ।

नेपालतर्फको सुख्खा बन्दरगाहको निर्माण करिब ८० प्रतिशत सकिएको बस्नेतले जानकारी दिए। “सडक तयार हुनासाथ सुख्खा बन्दरगाहबाटै व्यापार शुरु गर्न सकिने अपेक्षा छ,” बस्नेतले भने।

उनका अनुसार भूकम्प अघिसम्म वार्षिक करिब रु.७ अर्ब राजश्व तातोपानी भन्सारबाट उठ्ने गरेको थियो। वार्षिक करिब २० अर्बको आयात र तीन अर्बको निर्यात व्यापार हुने गरेको थियो। साढे तीन वर्षयता भने व्यापार ठप्प छ। स्थानीय बासिन्दाको रोजगारीको आधार पनि खोसिएको छ। नाका पुनःसञ्चालनमा आउँदा चीन सीमादेखि काभ्रेको धुलिखेलसम्मका बासिन्दा लाभान्वित हुने सांसद सापकोटाको भनाइ छ।

 

पढ्नूस्

तातोपानी नाकाः ओझेलमा परेको तीन वर्ष

प्रतिकृया दिनुहोस