सम्पादकीयमंगलवार, कार्तिक १३, २०७५

पार्टी संक्रमण छोट्याऊ

किरण नेपाल

नेकपाभित्र चुलिंदो अन्योल, द्धिविधा र अव्यवस्था स्वयम् नेकपा मात्र होइन, मुलुकको बहुदलीय राजनीतिक प्रणालीका निम्ति समेत जोखिमपूर्ण छ ।

संविधानसभाबाट निर्मित संविधान अनुसार भएको पहिलो आम निर्वाचनको पूर्वसन्ध्यामा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतासम्म पुग्ने गरी निर्वाचनकेन्द्रित वाम–गठबन्धन निर्माण भएको एक वर्ष पुगेको छ ।

निर्वाचनमा बहुमत हासिल गरी दुई कम्युनिष्ट पार्टीबीच एकता गर्न भएको त्यो प्रयास जति आश्चर्यजनक थियो, त्यति नै उत्साहजनक पनि । यो राजनीतिक परिघटनाले कुनैबेला कटुतापूर्ण सम्बन्धमा रहेका दुवै पार्टीका नेता/कार्यकर्तालाई जति खुशी तुल्यायो, त्योभन्दा बढी म्यादी सरकारबाट प्रताडित आम नेपालीमा शासकीय स्थिरता दिलाउने सुखानुभूति समेत गरायो । परिणाम, मतदाताले वाम–गठबन्धनलाई प्रचण्ड बहुमत दिलाए । र, यही गठबन्धन संसदमा दुईतिहाइ बहुमतप्राप्त सरकार गठन गर्न सफल भयो ।

३ जेठ २०७५ मा पार्टी एकीकरण घोषणा कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ।

एक वर्षअघि शुरू भएको दुई प्रमुख वाम शक्तिबीचको एकता प्रक्रियाले गएको ३ जेठमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण गरेर औपचारिक आकार लिन सफल भयो । यसरी लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेको शक्ति र हिंसात्मक विद्रोह मार्फत खुला राजनीतिमा ‘स्पेस’ बनाएको शक्तिबीचको एकताले मुलुकको राजनीतिले बलियो ‘सेन्टर लेफ्ट’ शक्ति पायो पनि ।

लोककल्याणकारी राज्यको अर्थ–राजनीतिक विचार बोकेका वाम शक्तिबीचको एकीकरणले ल्याएको तरंग आफैंमा जबर्दस्त त थियो नै, त्योभन्दा यसले बढी लामो समयदेखिको राजनीतिक संक्रमणको नियति अन्त्य भएको आभास समेत दिलायो ।

एकताकै बेला एकीकृत पार्टीको सिद्धान्त, नेतृत्व र संगठनबारे समयसीमा सहितका कार्ययोजना बनाइयो । सिद्धान्तको व्याख्या गर्न राजनीतिक दस्तावेजको मस्यौदा कार्यदल बन्यो भने संगठन निर्माणका लागि तीन महीनाको समयावधि तोकियो ।

त्यहीबेला ल्याइएको पार्टीको अन्तरिम विधानमा दुई वर्षभित्र एकताको राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख गरियो । ‘जनताको बहुदलीय जनवाद’ लाई मार्गदर्शक सिद्धान्त मानेको एमाले र ‘एक्काइसौं शताब्दीको जनवाद’ को व्याख्यामा चलेको माओवादी आ–आफ्ना मौलिक सिद्धान्त महाधिवेशनसम्म स्थगित गर्न सहमत भए, ‘जनताको जनवाद’ लाई पार्टी कार्यक्रमका रूपमा स्वीकार्न सहमत हुँदै ।

तत्कालका निम्ति यसले अलमल पारे पनि एकताबाट पार्टी पंक्तिमा छाएको रोमाञ्च र नेतृत्वले अघि सारेको समयसीमा सहितको कार्ययोजनाले त्यसलाई हावी हुन दिएन ।

आन्तरिक राजनीति मात्र नभई भूराजनीतिमा समेत अद्भुत मानिएको नेकपा गठनपछिको यसको गति र विकासक्रम सुस्त र उदेकलाग्दो बन्दै जाँदा नेकपाको सिंगो पंक्ति क्रमशः अन्योल र द्विविधाग्रस्त हुँदै गएको छ ।

लामो समय पार्टी पद्धति मार्फत चल्दै आएको एमाले पंक्तिदेखि नेतृत्वको एकल आदेशमा युद्धदेखि राजनीतिक संक्रमणको चरण पार गरेर आएको पूर्व माओवादीको कार्यकर्ता पंक्तिसम्मले आफू प्रशिक्षित राजनीतिक परिवेश नपाउँदा यस्तो अन्योल र द्विविधा देखापरेको हो ।

नेकपामा अहिले पार्टी संरचनाका रूपमा द्विअध्यक्षात्मक सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटी छ । संघीय संरचनामा अभ्यास गर्ने प्रादेशिक कमिटीदेखि जिल्ला, नगर, गाउँ तथा वडा तहसम्मका कमिटीविहिनतामै छ, नेकपा ।

पार्टी एकताको संक्रमण पार लगाउन बनाइएको दुई अध्यक्षात्मक प्रणाली सजावटको तहमा सीमित छ । किनभने, प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको सल्लाहलाई सचिवालय मार्फत औपचारिकता दिने गरी मात्र पार्टी सञ्चालन भइरहेको तथ्य सचिवालयमै रहेका नेताहरूबाट सार्वजनिक तहमै प्रकट हुन थालेको छ ।

यो अवस्था नेकपाका लागि मात्र होइन, मुलुकको बहुदलीय राजनीतिक प्रणालीका निम्ति समेत जोखिमपूर्ण छ । पद्धतिभन्दा व्यक्ति प्रधान हुने प्रणालीमा बहुदलीयता बलियो हुँदैन । यसले दलहरू समाजबाट अलग्गिंदै जाने र व्यक्ति–व्यक्तिको निकटताले काम गर्ने प्रवृत्ति मौलाउँदै जान्छ, जुन केही हदसम्म देखिएको पनि छ ।

पार्टी पद्धति ओझेलमा र संगठन बेवास्तामा पर्ने प्रवृत्तिले नेकपाको नेतृत्व–नेता पंक्तिलाई कार्यकर्ता हुँदै जनस्तरसम्मको फराकिलो आँगनसम्म पुग्न दिएको छैन । बरु, उनीहरू व्यक्ति–व्यक्तिको रुचि र स्वार्थको घेरामा सीमित बन्दै गएका छन् । यही कारण समाजमा हुर्कंदै गरेका नयाँ–नयाँ प्रवृत्ति, विकसित नौला परिघटना र चुलिंदो जनआकांक्षाबारे पार्टी तथा सरकारको नेतृत्व र आम बुझइका बीचमा ठूलो खाडल देखापरेको छ ।

संविधान निर्माणका क्रममा लम्बिएको संक्रमणकालमा सार्वभौम संविधानसभा पार्टी–नेताकेन्द्रित विमर्शबाट कुन हदसम्म उपेक्षित हुनपुग्यो र त्यसले जनमानसमा दल तथा नेताप्रति कतिसम्म नैराश्यता बढायो भन्ने देखिइसकेको छ ।

नयाँ संविधान अनुसार भएका विभिन्न तहका निर्वाचनसँगै राजकीय र शासकीय तहमा जननिर्वाचित संस्थाहरूको बहाली मार्फत राजनीतिक संक्रमण अन्त्य भएको छ । तर, प्रतिनिधिसभामा कमजोर हैसियत–भूमिकामा रहेको प्रमुख प्रतिपक्षसँगै मुलुकलाई नेतृत्व दिइरहेको दलमा बढिरहेको प्रणालीगत अव्यवस्थाले देशलाई पुनः राजनीतिक संक्रमणमा धकेल्ने जोखिम रहन्छ ।

आफ्नो पार्टी पंक्तिलाई व्यवस्थित गर्न र समाजमा बहुदलीयताको ‘स्पेस’ खुम्चन नदिन पनि नेकपाले पार्टीको सिद्धान्त, संगठन र नेतृत्वलाई संक्रमणको लामो यात्रामा जानबाट रोक्नै पर्छ ।

पढ्नुहाेस् । 

संक्रमणले शिथिल नेकपा

प्रतिकृया दिनुहोस