खेलकुदसोमवार, कार्तिक १२, २०७५

शहीद स्मारक ‘ए’ डिभिजन लिग १ मंसीरदेखि

हिमालखबर

शहीद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज लिगको नयाँ तालिका सार्वजनिक गरेको हो ।

एन्फाले १३ असोजदेखि शुरु गरेको लिग बङ्गबन्धु गोल्डकप, दशैँ, तिहार र छठका कारण स्थगित गरेको थियो । लिगको पहिलो चरणका खेल सम्पन्न भइसकेका छन् ।

पहिलो चरणको खेल सकिँदासम्म मनाङ मस्र्याङदी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै तीन÷तीन अङ्क जोडेका छन् ।
त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मछिन्द्र, न्युरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक÷एक अङ्क जोडेका छन् ।

त्यसैगरी जावलाखेल, सरस्वती, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजले हार बेहोर्दै अङ्कविहीन छन् ।

लिगको दोस्रो चरणको पहिलो खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी २ मंसीरमा मछिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
३ मंसीरमा जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र एपिएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ ।

सोही दिन सरस्वती क्लब र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल भएसँगै दोस्रो चरणको खेल समाप्त हुनेछ । तेस्रो चरणको खेल ६ मंसीरदेखि शुरु हुनेछ ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले सात लाख र छैटौंले पाँच लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउनेछ ।

प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् ।

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । रासस

 

प्रतिकृया दिनुहोस