रिपोर्टमंगलवार, कार्तिक १३, २०७५

हिउँदमा दर्के झरी !

विनय बञ्जारा

पूर्वी प्रशान्त क्षेत्रको समुद्री सतह तातेर बन्ने मौसमी प्रणालीका कारण आउँदो हिउँदमा नेपालको पश्चिम भेगमा सामान्य भन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ ।

यो वर्षको हिउँदमा खासगरी पश्चिम नेपालमा सामान्य भन्दा बढी पानी पर्ने आकलन मौसमविद्हरूले गरेका छन् । अमेरिकी मौसम पूर्वानुमान केन्द्रले पूर्वी प्रशान्त क्षेत्रको समुद्री सतह तातेर बन्ने ‘एल निनो’ प्रणालीले आउँदो हिउँदमा बढी पानी पार्न सक्ने पूर्वानुमान गएको २७ वैशाखमै गरेको थियो । हालै मात्र अष्ट्रेलियाले यस्तो मौसमी घटनाको सम्भावना थप बढेको जनाएको छ ।

सोही आधारमा अंग्रेजी महीना डिसेम्बर (मंसीर–पुस) मा पश्चिम नेपालमा सामान्य भन्दा बढी र अन्यत्र सरदर वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । दक्षिण अमेरिकी राष्ट्र पेरुदेखि पश्चिमतिर प्रशान्त महासागरमा देखिने मौसमी उतारचढावले पश्चिम नेपाललाई प्रभावित पार्न सक्ने विभागका महानिर्देशक ऋषिराम शर्मा बताउँछन् ।

समुद्रको मौसमी घटना प्रणालीलाई ‘एल निनो’ र ‘ला निना’ दुई नाम दिइएको छ । प्रशान्त महासागरको पश्चिम भागमा समुद्री सतहको पानी तातेर हावाको न्यूनचापीय क्षेत्र तयार हुने अवस्थालाई एल निनो भनिन्छ ।

त्यस विपरीत पूर्वी प्रशान्त क्षेत्रमा पानीको तापक्रम औसतभन्दा बढी र पश्चिम प्रशान्तमा कम भएको अवस्थालाई ला निना नाम दिइएको छ । यी दुवै घटनालाई लैंगिक रूपमा पनि परिभाषित गरिन्छ । एल निनोलाई बालक भनेर पुलिङ्गको रूपमा व्याख्या गरिन्छ भने ला निनालाई स्त्रीलिंगी नाम दिइएको छ । प्रशान्त महासागरका यी दुवै घटनाले पूरै पृथ्वीको तापक्रम र वर्षाको सन्तुलनलाई बिथोलिदिन सक्छन् ।

सामान्य अवस्थामा पश्चिमी प्रशान्त क्षेत्र अर्थात् पेरु र इक्वेडरतिरबाट ‘टे«ड विण्ड’ भनिने भूमध्यरेखीय क्षेत्रमा बहने तीव्र गतिको हावा पूर्वी प्रशान्त क्षेत्र (पपुवा न्यूगिनी, इण्डोनेसिया, फिलिपिन्स छेउछाउ) तर्फ बहन्छ । तर, केही वर्षको अन्तरालमा यो नियम बदलिन्छ । जब पूर्वी प्रशान्त अर्थात् अष्ट्रेलियादेखि उत्तरतिरको समुद्रमा पानी तात्दै र पेरु नजिकको समुद्रमा चिसिंदै जान्छ, त्यसपछि मौसमी संरचनामा परिवर्तन आउँछ । त्यसबेला पूर्वी प्रशान्तमा पानी तातेपछि वाष्पीकरण बढी र धेरै बादल भएर वर्षा पनि बढी हुन्छ ।

बढ्ता तातो भएर न्यून चापीय क्षेत्र बन्न पुग्दा त्यहाँको हावा माथि जान्छ र ‘टे«ड विण्ड’ को वेग अझै बढ्छ । त्यस अवस्थामा पूर्वी प्रशान्त क्षेत्रमा बढी वर्षा हुन्छ भने पश्चिम क्षेत्र अर्थात् अमेरिकी र अफ्रिकी महाद्वीपमा खडेरी पर्न सक्छ ।

यो क्रम केही समय चलेपछि समुद्री बाफ बोकेर आकाशतर्फ उडेको हावा वायुमण्डलको माथिल्लो भागमा पुगेपछि बादल बनेर उही ठाउँमा वर्षिन्छ र सुक्खा हावा पुनः पश्चिम फर्किन थाल्छ । त्यसले पश्चिमी समुद्रलाई अझ् चिस्याउने अवस्थालाई ‘ला निना’ भनिएको हो ।

पश्चिमतिरबाट चिसिंदै आएको समुद्रले ‘ट्रेड विण्ड’ लाई कमजोर पारिदिन्छ र वायुको चक्र साँघुरिएर प्रशान्त महासागरको आकाशमा थुप्रै चक्र बन्न थाल्छन् । फलस्वरुप पूर्वी प्रशान्तको समुद्री पानी चिसिंदै जान्छ र पेरु तथा इक्वेडर नजिकको पश्चिमी प्रशान्त क्षेत्रको पानी तात्न थाल्छ ।

त्यस अवस्थामा पहिलेभन्दा ठ्याक्कै उल्टो गरी पश्चिमबाट पूर्वतर्फ सुक्खा हावा बहन थाल्छ । यसले पश्चिमी इलाका (उत्तर र दक्षिण अमेरिका छेउछाउ) मा भारी वर्षा गराउँछ । यही मौसमी प्रवृत्तिलाई ‘एल निनो’ भनिएको हो । एल निनोको प्रभाव पश्चिम अफ्रिकासम्म आइपुग्ने वैज्ञानिकहरूले बताएका छन् ।

नेपालमा हिउँद याममा भूमध्य सागर र अरेबियन सागरबाट उठेको पश्चिमी हावाको प्रभाव रहन्छ । भूमध्य सागरको हावा सिरिया, टर्की, इराक, इरान, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै नेपाल आइपुग्छ । अरेबियन सागरको हावा भने भारत, पाकिस्तानको बाटो भएर पश्चिम नेपाल प्रवेश गर्छ । एल निनोले भूमध्य सागरको जलवाष्पयुक्त हावालाई प्रभावित पार्ने भएकाले पश्चिम नेपालमा यो वर्ष बढी वर्षा हुने अनुमान गरिएको हो । तर, पूर्वी नेपालमा भने एल निनोको प्रभाव खासै नपर्ने अनुमान मौसमविद्हरूको छ ।

विभागका महानिर्देशक शर्मा मौसमी संरचनाको प्रभाव व्यापक हुने बताउँछन् । “मौसमी संरचना हेर्दा संसारको एउटा कुनामा कुनै घटना भयो भने त्यसले पूरै पृथ्वीलाई राम्रो वा नराम्रो प्रभाव पार्छ” शर्मा भन्छन्, “यस वर्ष हुने एल निनो घटनाले पनि नेपालको हिउँदे वर्षालाई प्रभाव पार्ने देखिएको छ ।” उच्च पहाडी क्षेत्रमा बाली भिœयाउने समय पर्ने भएकाले हिउँदे वर्षाले त्यसलाई असर गर्न सक्छ । सामान्यभन्दा बढी पानी परेमा आकाशेपानीमा भर पर्नुपर्ने किसानका लागि गहुँ, तोरी जस्ता बाली लगाउन भने सजिलो पर्नेछ ।

१३ हजार वर्षदेखिको मौसमी चक्र
मौसमी प्रणालीबारे आफ्नै किंवदन्ती र धार्मिक विश्वास रहेको पाइन्छ । समुद्री सतहको पानी अस्वाभाविक रुपमा तातेको पेरुका स्थानीय माझीहरूले चाल पाएपछि इस्वीको १६औं शताब्दीतिर यस्तो मौसमी प्रणालीबारे पहिलो पटक मानव जातिले पत्तो पाएको थियो ।

मौसमी घटनाको एउटा प्रणालीलाई स्पेनिस भाषामा बालक वा भगवानको बच्चा भन्ने अर्थ लाग्ने ‘एल निनो’ शब्दको प्रयोग गरिएको सन्दर्भ पनि चाखलाग्दो छ । पेरुका आदिवासीहरूले यसलाई ‘भगवानको बच्चा रिसाएर’ समुद्रको तापक्रम बढेको भन्ने व्याख्या गर्छन् । यस किसिमको सामुद्रिक प्रणाली खासगरी डिसेम्बरतिर बढी सक्रिय हुन्छ, जुन बेला इसाईहरू भगवान जिसस क्राइस्टको जन्मदिन अर्थात् क्रिसमस मनाउँछन् ।

यस्तो सामुद्रिक प्रणाली हरेक दुईदेखि सात वर्षको बीचमा दोहोरिने गरेको छ । कोलम्बिया विश्वविद्यालयको ‘अर्थ इन्ष्टिच्युट’ का अनुसार, सामान्यतया अप्रिलदेखि जून (वैशाख–जेठ) महीनादेखि यस्तो प्रणाली विकास हुन्छ । अक्टोबरदेखि फेब्रुअरी (कात्तिक–माघ) को अवधिमा यो मौसमी घटना सक्रिय हुन्छ । सामान्यतया यस्तो मौसमी घटनाको असर ९ देखि १२ महीनासम्म देखिने भए पनि कहिलेकाहीं दुई वर्षसम्म लम्बिएको पाइन्छ ।

वैज्ञानिकहरू यस किसिमको सामुद्रिक घटना लगभग १३ हजार वर्ष अघिदेखि चल्दै आएको अनुमान गर्छन् । सन् १९०० यता कम्तीमा २६ पटक एल निनो घटना दोहोरिएको बताइन्छ । पछिल्ला ठूला एल निनो घटना सन् १९८२–८३, १९९७–९८ र २०१४–१६ मा भएका थिए ।

प्रतिकृया दिनुहोस