टिप्पणीसोमवार, कार्तिक १२, २०७५

मस्तिष्कघातका कारक चुरोट, तनाव र जंक फुड

सन्दर्भ : वर्ल्ड स्ट्रोक डे

हिमालखबर

मुटु स्वस्थ राख्न सके दिमाग पनि बलियो हुन्छ। यस्ता विषयमा ध्यान दिए पक्षाघातबाट बच्न सकिन्छ।

 डा. राजु पौडेल

स्ट्रोक अर्थात् मस्तिष्कघात जोसुकैलाई हुन सक्छ। तथापि, मधुमेह र उच्च रक्तचाप भएकाहरूलाई सम्भावना बढी हुन्छ। ‘वर्ल्ड स्ट्रोक अर्गानाइजेसन’का अनुसार विश्वमा ६ जनामा एकलाई जीवनको कुनै न कुनै मोडमा कम्तीमा एक पटक मस्तिष्काघात हुन्छ।

अचानक एकातर्फको मुख बांगिनु, हात उचालेर राख्न नसक्नु, बोल्दाबोल्दै बोली लर्बरिनु आदि मस्तिष्काघातका लक्षण हुन्।

यस्ता लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि अस्पताल पुर्याउनुपर्छ। लक्षण देखिएको तीन घण्टाभित्र उपचार गराउन सके बिरामीको ज्यान बचाउन सक्ने सम्भावना रहन्छ।

मस्तिष्काघात हुँदा दिमागसम्म रक्तसञ्चार हुन सक्दैन। यो अवस्थामा हरेक सेकेन्ड दिमागका ३२ हजार कोष मर्ने गर्छन्। यो हिसाबमा एक घण्टाभित्र करिब २० लाख कोष मर्छन्।

समयसँगै मृत कोषको संख्या बढ्ने हुँदा मानिसको ज्यान जोखिममा हुन्छ। त्यसैले चाँडै उपचार प्रक्रिया शुरु गर्नु नै रोगीको ज्यान बचाउने एक मात्र उपाय हो।

दिमागसम्म रक्तसञ्चार हुन नपाउँदा वा कम हुँदा मस्तिष्कघात अर्थात् स्ट्रोक हुन्छ। यो अवस्थामा दिमागसम्म आवश्यक मात्रामा अक्सिजन वा पोषक तत्व पुग्न पाउँदैन। र, दिमागका कोषहरू मर्न थाल्छन्।

आइसेमिक, हेमोरेजिक र टीआईए गरी स्ट्रोक तीन किसिमका हुन्छन्। स्ट्रोकका घटनामध्ये करिब ८५ प्रतिशत आइसेमिक हुने गर्छ। दिमागसँग जोडिएको नसा (आर्टरी)मा रोकावट आउँदा वा खुम्चिँदा दिमागमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ। आर्टरीमा रगत जम्नु, अन्य नसामा जमेको रगत त्यहाँसम्म पुगेर रगतको प्रवाह रोकिनु वा कम हुनु यसको प्रमुख कारण हो।

दिमागसँग जोडिएको आर्टरी चुहिँदा वा फुट्दा हेमोरेजिक स्ट्रोक हुने गर्छ। यसरी नसाबाट चुहिएको रगतले दिमागमा चाप बढाउँछ। अन्ततः त्यसले दिमागको कोषमा नोक्सान पुर्याउँछ। चुहिएको रगत दिमागको बीचमा वा सतहमा पुग्ने गर्छ। यसो हुँदा दिमाग तथा खप्परको बीचमा रहेको खाली स्थानमा भरिन्छ।

हाइपर्टेन्सन, ट्रमा, अनियमित औषधि सेवन र नसा कमजोर हुनु यसका प्रमुख कारण हुन्। टीआईए स्ट्रोकमा भने सीमित अवधिका लागि दिमागमा रक्तसञ्चार हुन पाउँदैन। केही मात्रामा यसको लक्षण आइसेमिक स्ट्रोकजस्तै हुन्छ।

तुलनात्मक रूपमा अन्य स्ट्रोकभन्दा कम जोखिमपूर्ण भए पनि उपचारमा ढिलाइ गर्नु हुँदैन। किनभने, यो भविष्यमा हुन सक्ने स्ट्रोकको लक्षण हो। ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’का अनुसार टीआईए भएका मानिसमध्ये एक तिहाइमा एक वर्षको अवधिभित्र ‘मेजर स्ट्रोक’हुने सम्भावना रहन्छ। तीमध्ये पनि १० देखि १५ प्रतिशतमा तीन महीनाभित्रै ‘मेजर स्ट्रोक’हुने गर्छ।

अव्यवस्थित एवं अस्वस्थकर जीवनशैली नै पक्षाघातको प्रमुख कारण हो। व्यायामको कमी, तनावपूर्ण जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, धुम्रपान, चिल्लो तथा जंक फुड खाने बानी भएका मानिसमा मस्तिष्कघातको सम्भावना उच्च हुन्छ। मधुमेह तथा उच्च रक्तचापलगायत रोग भएका मानिसले नियमित औषधि सेवनमा हेलचेक्रयाईं गर्दा पनि पक्षाघातको सम्भावना बढ्छ।

दैनिक जीवनशैलीमा पर्याप्त व्यायाम तथा स्वस्थकर खानपिनको बानी अपनाउँदा मस्तिष्कघातबाट धेरै हदसम्म बच्न सकिन्छ। साथै, समय-समयमा रगतको परीक्षण गर्नु आवश्यक छ।

त्यसमा पनि सकेसम्म समग्र शरीरकै परीक्षण गर्नु उपयुक्त हुन्छ। मुटु स्वस्थ राख्न सके दिमाग पनि बलियो हुन्छ। यस्ता विषयमा ध्यान दिए पक्षाघातबाट बच्न सकिन्छ। तर, पक्षाघातको लक्षण देखिए वा भइहाले समयमै परीक्षण गरी औषधोपचारमा विशेष ध्यान दिनुपर्छ।

(लेखक ग्रान्डी अस्पतालका कन्सल्टेन्ट न्युरोलोजिस्ट हुन्)

प्रतिकृया दिनुहोस