कला/साहित्यबिहिवार, कार्तिक ८, २०७५

शासकलाई दिव्य सुझाव

हिमालखबर

विनोदविक्रम केसी

सके मनन गर्नू
नसके हेक्का राख्नू
सत्य डग्दैन, झूटो टिक्दैन ।

सयचोटि त के
हजारचोटि, लाखचोटि दोहोर्‍याए पनि
झूट सत्य हुँदैन ।

इतिहास सधैं जित्नेका जुत्ताका तलुवालाई
जिब्रो समर्पण गरेर मात्र बस्दैन
जो–जो छन्, छल गरी हराइएका
तीसँग हात मिलाउन पनि आउँछ
एक दिन ।

श्रीहीनहरूलाई कदापि कम नआँक्नू याद गर्नू
यिनले जुन दिन तुफानी तानमा अग्निगान गाएथे
श्रीमा ३ अनि ५ जडित फलामे दम्भहरू पनि
दग्ध भएर बनेथे खरानी ।

सवालको बाँच्न पाउने हकको सम्मान गर्नू
यसको हत्या गर्न उद्यत नहुनू
मर्दामर्दै पनि एउटा सवालले
सय इन्कलाबी जन्माउँछ ।

कविता नलेख्नू
जब–जब शासकले कविता लेख्छ
जनताको कविता फाँसी चढ्छ
नृशंसहरूलाई मान्छेको मासु खाने तलतल लाग्छ ।

गफ नदिनू
शिशुलाई दूध खुवाउन खोजिरहेकी
मुन्टा छातीमै टाँसिएकी स्त्री,
बाकसमा फिरेको सन्तानसँग
अन्तिमपल्ट क्षेमकुशल सोधिरहेका आमाबाउ,
उचित ज्याला नपाएको झोंकमा
साहूको पिठ्यूँपछाडि अश्लील गाली गरिरहेको मजदूर,
ग्यास च्याम्बर जस्तो बसमा
कोचिएकी गर्भवती,
विष खान/पासो लाउनबाट आफूलाई बलजफ्ती जोगाइरहेको
हर घडी हतास बेरोजगार,
सालैपिच्छे बाढीसँग लडाइँ गरेर
आफ्नो भागको बचेखुचेको संसार हार्ने मान्छे,
बजारमा आफूबाहेक सबै थोक महँगो भेटेर
रित्तै फर्किएको खिन्नता नै खिन्न हुने अनुहार,
बरु मृत्युको प्रमाणपत्रको कामना गर्ने
हातमा औषधिको पुर्जी बोकेको बिरामी,
बच्चाबच्चीको फिस, किताब–कापी र टिफिनको दुष्चक्रमा
उमेरै नपुगी जो भिर्छ बुढ्यौली,
एक निजी छाकका लागि
सार्वजनिक बन्न विवश शरीर,
दैनन्दिनका दुःखले चपाइएर
जो भएको छ मुखबाट फालिनुअघिको चुइगम,
सदियौंदेखि खुद जिन्दगी मजाक भएपछि
जसले बिर्सेको छ हाँस्न... ।

यी बाह्र थरीलाई
समृद्धिको गफ नदिनू
बाह्र–सत्ताइस गफ नदिनू ।

प्रतिकृया दिनुहोस