कला/साहित्यबुधवार, कार्तिक ७, २०७५

गुनासो

कविता

हिमालखबर

सुदीप पाख्रिन

जानेहरू
यसरी त
नगइदिए हुन्थ्यो...

दौडँदा–दौडँदैको गोरेटो
आमाको मूर्झाएको अनुहार हेरेर
चूपचाप एक कुना पसेर
त्योभन्दा पनि बढी मूर्झाओस् जसरी ।

बाटो छेउको नरिवलको हाँगा
काग–काग, काग–काग गरिरहोस्
तर खबर पनि नआओस् जसरी ।

गोरेटाका ढुङ्गाहरू भन्दा पनि ढुङ्गा भई जाऊन्
प्रतीक्षामा फूल ओछ्याइरहने
आमाका आँखाहरू
प्रियसीका
प्रियका
नानीका आँखाहरू जसरी ।

ढुङ्गा भई जाऊन्
बाटो हेर्दाहेर्दैका जम्मै–जम्मै आँखाहरू
ढुङ्गा भई जाऊन् चौतारो
बाटो छेउका पुलपुलेसा
बाटो छेउकै कुलो
कुलोमा पौडिरहेका हाँस
र, त्यहीं पौडँदै गरेका केही थान बालापन
ढुङ्गो भई जाऊन् जसरी ।

ढुङ्गो भई जाऊन्
कथा भनिरहेका ओठहरू
ढुङ्गो भई जाऊन् कथा नै
ढुङ्गो भई जाऊन् शब्दहरू
ढुङ्गो भई जाऊन् अनुभूतिहरू
बरु ढुङ्गो भई जाऊन् कविता नै
जानेहरू तर यसरी नगई दिऊन्
जसरी अक्सर जाने गर्दछन् ।

बिदाइका हात हल्लाउँदैनन् पनि
कुइनेटातिर पुगेर
न आवाज नै दिन्छन् फर्किएर

जानेहरू...
यसरी त नगइदिए हुन्थ्यो !

प्रतिकृया दिनुहोस