खेलकुदमंगलवार, कार्तिक ६, २०७५

सन्दीप आइपिएलपछि विश्वकै प्रतिष्ठित बिग बास लिगमा

हिमालखबर

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने एक पछि अर्को सफलता हात पार्ने क्रममा विश्वको प्रतिष्ठित क्रिकेट लिग, अष्ट्रेलियाको ‘बिग बास’मा आबद्ध भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि अनुबन्ध गरेको हो ।

फाइल तस्वीर

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार बलर, १८ बर्षीय लेग स्पिनर सन्दीपको खेल जीवनमा यो अर्को ठूलो छलाङ हो । केही महिना अघि मात्र सन्दीपले विश्वकै चर्चित क्रिकेट लिग, इन्डियन प्रिमियर लिग (आइपीएल) मा आबद्ध हुँदै आइपीएल टिम दिल्ली डेयरडेबिल्स्बाट आफ्नो सनसनीपूर्ण बलिङ कौशल प्रदर्शन गरेका थिए ।

बजारका हिसाबले आइपीएल अहिले सर्वाधिक ठूलो र आकर्षक घरेलु क्रिकेट लिग मानिन्छ । ट्वान्टी-ट्वान्टी संरचनाको यो लिगको जति आकर्षण छ, अष्ट्रेलियाको बिग बास पनि उत्तिकै आकर्षक मानिन्छ ।

अष्ट्रेलिया, बेलायत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, न्युजिल्याण्ड लगायतका देशका स्टार क्रिकेटहरुले भरिएको बिग बास लिगमा अनुबन्ध हुनु नै सन्दीपको महत्वपूर्ण उपलब्धि हो ।

सन्दीप यसअघि आइपिएल बाहेक बाङ्लादेश प्रिमियर लिग (बीपीएल) मा पनि आबद्ध भइसकेका छन् । हालसालै उनले क्यारेबियन प्रिमियर लिग पनि खेलेका थिए भने अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेलेर सन्दीप भर्खरै फर्केका हुन् ।

आइपीएलमा रु.३२ लाख पारिश्रमिक पाउने गरी दिल्ली डेयरडेबिल्सबाट खेलेका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा आबद्ध हुँदा ४० हजार अमेरिकी डलर पाएका थिए ।

बिग बास लिगमा आबद्ध भएपछि उनले पाउने पारिश्रमिकको टुंगो लाग्न बाँकी रहे पनि उनले कम्तीमा ६० हजार अमेरिकी डलर पाउने बताइएको छ ।

प्रतिकृया दिनुहोस