कला/साहित्यमंगलवार, कार्तिक ६, २०७५

कथा: मृत्यु

हिमालखबर

डा. विश्व पौडेल

२०१२ सालमा चितवन झरेकाे भीमप्रसाद २००७ सालको योद्धा थियो । र, बखानसिंह गुरुङको भक्त थियो । २०१५ सालको चुनाव बखानसिंहले जितेलगत्तै ऊ कास्कीमा रहेका बाबुआमा र श्रीमतीलाई चितवन झर्न भनेर कास्की लागेको थियो । तर, परिवारलाई सम्झाएर चितवन ल्याउँदासम्म २०१८ साल लागिसकेको थियो । यो बीचमा बखानसिंहको बिजोग बनाइयो, उनका छोरा मारिए, बखानपुरलाई शारदानगर बनाइयो । 

भीमप्रसाद परिवारसँग नारायणघाट झर्दा पहिला त नारायणघाटमा राहदानी मागियो । कांग्रेसको आन्दोलनले गर्दा चितवन पूरै जलेको थियो । कांग्रेसी पृष्ठभूमिको उसलाई सेनाले मजाले केरकार गर्‍यो । ऊ गल्यो र सेनाभित्र सम्बन्ध बनाउन थाल्यो । त्यसपछिका दिनमा चितवनमा जति आगो बले पनि भीमप्रसादलाई कल्याणै भयो ।

बदलामा भीमप्रसादलाई पूर्वी चितवनको निपनीमा १० बिघा जग्गा मिल्यो । मन्त्री, प्रधानमन्त्री र महाराजाधिराज सरकारको सवारी हुँदा उसले पनि भेट गर्न पाउँथ्यो । पञ्चायती सरकारले ऊबाटै स्थानीय स्थिति बुझने क्रम शुरू भयो । २०१९ सालमा राजाले गैंडाकोटबाट पूर्व–पश्चिम राजमार्ग उद्घाटन गर्दा पनि ऊ छेउमै थियो ।

पछि उसका भाइ, दिदी, बहिनी र छिमेकीहरू पनि चितवन झ्रे । आफ्नो कुनै सन्तान नभएकाले कास्कीबाट छिमेकमै बस्न आएकी राधालाई उसले छोरी मानेको थियो, राधा उसकै साथीकी बुहारी पनि थिइन् ।

क्रमशः गोरखा, तनहुँ, कास्की, धादिङ र पर्वतका मान्छेहरू चितवनमा ओइरिने क्रम चलिरह्यो, चितवन गुल्जार हुँदै गयो । नयाँ मान्छेको आगमनसँगै ऊ झ्स्किरहन्थ्यो– कोही नयाँ नेता हुने हुन् कि ? महाराजका लागि मेरो विकल्पमा अरू कोही उदाउने हुन् कि ?

२०३४ सालतिर भीमप्रसादको गाउँमा तीन जना चर्चामा थिए– बालक निश्चलेन्द्र, रवि र ऊ आफैं । तिनै जना फरकफरक उमेर समूहका थिए । रविकी श्रीमती विछट्टै राम्री र कुनै पूर्व बडाहाकिमको छोरी थिइन् ।

हल्ला अनुसार, प्रवासमा राजनीति गर्ने रवि बिहे गरेको केही समय आफ्नै श्रीमतीको गार्ड भएर बस्यो । कांग्रेसको कुनै नेताले श्रीमतीमाथि आँखा लगाएपछि त्यसको बदला लिन उसले सरोज कोइरालाको विरुद्ध सुराकी गर्ने र ओखलढुंगा विद्रोहको खबर सेनालाई दिने काम गर्‍यो ।

रवि आफैं पनि ओखलढुंगा काण्ड हुँदा बम बोकेको कुरा गथ्र्यो । भर्खर पञ्चायतमा प्रवेश गरेको थियो । ओखलढुंगामा त्यत्रा मान्छे मारिंदा ऊ बाँच्नु र उसले सरोज कोइरालाको नजिक भएर काम गरेका बेला नै सरोज मारिनुले कांग्रेसीहरू ऊसँग सशंकित थिए ।

रवि गोरो, राम्रो, हँसिलो थियो र बकुलहरनिर घरजग्गा किनेर बसेको थियो । खेतीमा व्यस्त भइरहने ऊ राजनीतिको कुरा निस्केपछि चम्केर बोल्थ्यो । उसको आशय ‘कांग्रेसीहरू कताकताबाट सञ्चालित भएको आफूलाई थाहा भएको र मौका पाए मन्त्री बनेर देश चलाउन सक्ने क्षमता आफूमा छ’ भन्ने हुन्थ्यो । बकुलहरको चोकमा चिया खाएर समय बिताउने रविका वरिपरि ठिटाहरूको राम्रै भीड हुन्थ्यो ।

पञ्चायतमा प्रवेश गरे पनि भीमप्रसादका सबैभन्दा रमाइला सम्झना बखानसिंहको वरिपरि हुँदा र २००७ सालमा वीरगञ्ज आक्रमण गर्दा ताकाका थिए । ऊ ती कुरा निपनीको चियापसलहरूमा दोहोर्‍याई–दोहोर्‍याई गथ्र्यो ।

२०१५ सालको चुनावमा बखानसिंहको पछिपछि लागेर हिंडेको उसले बखानपुरस्थित बखानसिंहको घर कतिपटक रुँगेर पनि बसेको थियो । उसको भनाइमा उसका पुराना साथीहरू मानबहादुर, घामप्रसाद, दलबहादुर, उदयनाथ र श्रीहर्ष जम्मै १८ सालको भरतपुरको क्रान्तिपछि जेलमा थिए ।

सत्ताको रापले दबिएका कांग्रेसीहरू उसका कुरा सुने पनि ‘अराष्ट्रिय तत्व’ भन्दै बखानसिंहको घर जलाउने समूहको नेतृत्व पनि भीमप्रसादले नै गरेको भन्ने आफूआफूमा सुनाउँथे । भीमप्रसादको बयानकै आधारमा २०१९ भदौमा ललितपुरको एक ट्रिबुनलले बखानसिंह सहित सुवर्णशमशेर, भरतशमशेर, शशिशमशेर, परशुनारायण चौधरी र तेजबहादुर श्रेष्ठलाई आजन्म कैद तोकेको थियो । यो थाहा पाएरै पनि कांग्रेसी कार्यकर्ताहरू काम पर्दा भीमप्रसादकैमा पुग्थे । ऊ पनि सकेसम्म काम गरिदिन खोज्थ्यो ।

तर आफूले पञ्चायतका लागि त्यत्रो गरे पनि सरकारले कुनै ठूलो शासकीय पद नदिएको एउटा तुष भने भीमप्रसादमा गडेको थियो । राजा महेन्द्रले ‘दिन्छु, दिन्छु’ भने पनि केही दिएनन् । शिवबहादुर खड्का र बमबहादुर बस्नेत क्षत्री जस्ता सिपाहीले भरतपुरमा वीरता देखाएबापत नेपाल तारा मेडल र पुरस्कार पाए । भरतपुरमा कांग्रेसीलाई दबाउन आफूले गरेको योगदान यी सिपाहीको भन्दा कम नभएको उसलाई लाग्थ्यो । तर, राजा महेन्द्र मरेपछि उनका छोराहरू उसलाई चिनेझैं पनि गर्दैनथे ।

बालक निश्चलेन्द्रका बा भारतमा टाटाको फैक्ट्रीमा प्राविधिक थिए । पूर्व–पश्चिम राजमार्ग बनेपछि नै उनी ‘एस पौडेल एन्ड सन्स इन्जिनियरिङ’ भनेर गाडी रिपेयर गर्ने दुकान खोल्ने योजनामा थिए । त्यसैले श्रीमती राधालाई उता लगेका थिएनन् । बरु आफैं चितवन आऊजाऊ गरिरहन्थे । चितवन आएका बेला उनको हाँकोडाँको चर्को हुन्थ्यो, ठूलाठूला कुरा गर्थे ।

उनलाई एक पुत्रलाभ भयो । जन्मेको केही दिनपछि बालकका बाको चिठी आयो, “म यहाँ टाइफाइडले निख्लोट भएको छु । सन्चो हुनेबित्तिकै नेपाल आउँछु ।” बालकको जन्मँदै दाँत उम्रेका थिए । यसमा गाउँलेका विविध अनुमान थिए । कसैले राजयोग त कसैले भगवानको अवतारसम्म भने ।

बाबुलाई सञ्चो भएर नेपाल आउन तीन महीना लाग्यो । आइपुग्दा छोराले कोल्टो फेर्न शुरू गरिसकेको थियो । माथिका दाँतहरू पनि निस्कन थालेका थिए ।

एक नर्सको सल्लाहमा राधाका दम्पती एक दिन वीर अस्पताल पुगे, त्यहाँका डाक्टरले अर्को बच्चा जन्माउँदा राधालाई असर पर्ने बताए । यसरी बालक कुलदीपक बने । अन्धविश्वासले गाँजिएको चितवनमा बालकको जन्मँदै दाँत निस्कनु शुभ हो कि अशुभ होला भनेर खुबै चर्चा हुन्थ्यो । परिस्थिति यस्तो आयो कि २०३२ सालमा पहिलोपटक छेउको हाईस्कूलको एसएलसी रिजल्ट नील आयो ।

२०३३ सालमा बुडिकुलो बगेर निपनी, बकुलहर, टाँडी सबैतिर आतंक मच्यायो । २०३४ सालमा एकातिर अनावृष्टि भयो, अर्कोतिर मल समयमा नआएर पतेरोले खेती खायो । त्यही वर्ष राम्रो व्यवसाय चलाइरहेका निश्चलेन्द्रका बा मुटुको व्यथाले मरे ।

२०३४ सालमै बालकले हात चलाएर अंग्रेजी र नेपालीमा लेख्न थाल्यो । कहिल्यै नपढेको भाषा लेख्न सक्ने व्यक्ति पाउँदा गाउँलेले बालकलाई साक्षात् भगवान ठाने । ऊ आफ्नो उमेरभन्दा निकै पाको जस्तो भएर लेख्न र बोल्न थाल्यो । अचम्भित भक्तहरूले उसको नाम निश्चलेन्द्र राखिदिए ।

पुराना कांग्रेसीहरू धमाधम पञ्चायतमा प्रवेश गरेर मन्त्री, सहायक मन्त्री वा अरू पद खाएको देखिरहेको भीमप्रसादलाई एक जना पाल्पाली पूर्व कांग्रेसले सल्लाह दिए, “तिमी सधैं चितवन बस्छौ, अनि कहाँ हुन्छ ? राजाको अगाडि देखापर्ने केही गर ।”

२०३५ साल भीमप्रसादका लागि खुब व्यस्त वर्ष भयो । उसले पोखरा र विराटनगर गएर बीपी चढेको जहाज अवतरण गर्न नदिने प्रदर्शनहरूमा भाग लियो । तर, महेन्द्रले दिए जति भाउ उनका छोराहरूले कहिल्यै दिएनन् । चैतमा बीपीलाई हिंडडुल गर्न नपाउने गरी स्थानहद लागेपछि भीमप्रसादको दौडधुप बन्द भयो ।

२०३५ सालको २१ चैतमा काठमाडौंमा उसलाई भेट्दा सूर्यबहादुर थापाले भने, “बीपीको पनि क्यान्सरले गर्दा आयु धेरै छैन । कांग्रेसको दुई वटा सशस्त्र संघर्ष फेल खायो । कांग्रेसीहरू सबै पञ्चायत प्रवेश गरिसके । यिनीहरूका अन्नदाता भनिएका सुवर्ण पनि मरिसके । अब सबै नेपालीहरू पञ्च हुन् । म तिमीलाई हेर्छु, तिमी आफ्नो क्षमता देखाऊ ।”

उसले पनि चितवनमा आएर सबै केटाकेटीहरूलाई वरिपरि राखेर भन्यो, “अब अराष्ट्रिय तत्वहरूका दिन गए । राजमुकुटको सेवा गरेर देशमा विकासको मूल फुटाउने हो ।” तर सोचे जस्तो भएन । २०३६ को वैशाखमै देशभरि चर्को विद्यार्थी आन्दोलन भयो । भरतपुरमा पनि दुई जना गोली लागेर मारिए । एक जना काँक्रो बेच्न बसेकी महिला मारिइन् ।

अन्धाधुन्द गोली चलाइयो भनेर सबै आक्रोशित भए । मरिसकेको भनेको कांग्रेसको प्रेत फेरि जाग्यो । जेल बसेर आएका पुराना कांग्रेसी कार्यकर्ताहरू खेतीपाती गर्दागर्दै उद्वेलित भएर फेरि सडकमा आए । स्थिति बिग्रँदै गर्दा जेठ १ गते सूर्यबहादुर चितवन पुगे । र; भने, “भीमप्रसाद, अब म प्रधानमन्त्री बन्दैछु । कीर्तिनिधिले स्थिति सम्हाल्न सक्दैनन् । तिमी चितवनमा माथि उठ्ने कोशिश गर, लामो समयदेखि पञ्चायतमा लागेर मौका नपाउने मध्ये तिमी पनि हौ । तिमीलाई म हेर्छु ।”

जेठमा जनमत संग्रह घोषणा भयो, कीर्तिनिधिले राजीनामा दिए र सूर्यबहादुर प्रधानमन्त्री बने । बखानसिंहको अठतीसे समूहले पनि स्वागतमा वक्तव्य दियो । चुनावको चहलपहल शुरू भएपछि बिस्तारै आमसभाहरू शुरू भए । कांग्रेसीहरूले पञ्चायतको विरोध गर्न थाले । सोझसाझ भनेर चिनिएका छिमेकीहरू अब आफूलाई कांग्रेस भनेर चिनाउन थाले ।

उसलाई आफ्नै वरिपरि त्यति धेरै कांग्रेसीहरू बस्छन् भन्ने भेउ नै थिएन । २० वर्षमा आफूले जस्तै धेरैले माउ पार्टी छाडिसकेका हुनन् भन्ने उसले सोचेको थियो । असारमा राष्ट्रिय सभागृहमा भएको पञ्चभेलामा भीमप्रसाद र सूर्यबहादुर फेरि भेट भयो । सूर्यबहादुरले दोहोर्‍याए, “काजी, चितवनमा निर्दललाई जिताउन सक्नु भनेको मन्त्री हुने पक्का गर्नु जस्तै हो ।”

भीमप्रसाद महŒवाकांक्षी भए पनि धेरै टाठो थिएन । छिटोछिटो भइरहेका राजनीतिक घटना बुझ्न सकिरहेको थिएन । असोजमा बीपीलाई लगाएको स्थानहद हटाएपछि त स्थिति झ्न् अर्कै भयो । राजाले आफैं बहुदल दिन खोजेका हुन् कि जस्तो देखिन थाल्यो । कांग्रेस छाडेर पञ्चायतमा आएको र धेरै पहिलेका साथीहरूलाई धोका दिएको भीमप्रसादलाई कांग्रेस फेरि सत्तामा आउँछ भन्ने सोच्दा मात्र चक्कर आउँथ्यो ।

एक दिन शारदानगर गएर उसले सबै गुरुङहरूलाई जम्मा पार्‍यो र भन्यो, “काजी नर्सिङ गुरुङ १८६३ सालमा मारिएपछि यो देशमा अहिलेसम्म कुनै गुरुङको छोरो फेरि काजी भएको छैन । इतिहास तोड्न पनि मलाई काजी बनाउन सहयोग गर ।” शारदानगरका गुरुङहरू भीमप्रसादले बखानसिंह गुरुङको विरुद्ध सुराकी गरेको ठान्थे, त्यसैले उसको कुरा सुनिएन ।

भरतपुर ओरालोमा क्षेत्रपुर जाने बाटोमै एक राजज्योतिषी बस्थे । उनले भीमप्रसादको भाग्य हेरेर भने, “तिमी मन्त्री बन्छौ । तर तिम्रो घरको पूर्वतिर जन्मेको राक्षसले तिमीलाई अप्ठेरो पार्छ ।” सँगै बसेका एक जना कार्यकर्ताले थप्यो, “यस्तो बच्चा त त्यही राधाकै छोरो हुनुपर्छ, जन्मँदै दाँत आएको ।”

त्यसैताका उसले नयाँ हल्ला पनि सुन्यो, बखानसिंह गुरुङ पनि ढिलोचाँडो पञ्चायत पस्छन् । बखानसिंह पञ्चायत पसे भने राजाले उनैलाई च्याप्छन्, म जस्तालाई के मन्त्री बनाउलान् भन्ने उसले सोच्यो । बूढो हुँदै गएको उसले राजज्योतिषीले भनेका कुरामा विश्वास गर्न थाल्यो ।

समाजले निश्चलेन्द्रलाई साक्षात् भगवानको रूपमा पुज्थ्यो भने राधालाई पनि आधुनिक यशोदा भनेर सम्मान गथ्र्यो । भविष्यवाणी गर्न सक्ने भएकाले निश्चलेन्द्रको महात्म्य बिस्तारै पूरै चितवनभरि फैलँदो थियो । पश्चिम चितवनको एक जना पत्रकारले निश्चलेन्द्रको बारेमा गोरखापत्र मा खबर छापेपछि राजा नै निश्चलेन्द्रसँग आशीर्वाद थाप्न आउँदैछन् भन्ने हल्ला पनि चल्यो ।

भीमप्रसादले निश्चलेन्द्र जन्मेपछिका घटनाबारे सोच्यो, विद्यालयमा विद्यार्थीहरू फेल भएकोदेखि खेती नराम्रो भएको । निश्चलेन्द्रको जन्म भएदेखि गाउँमा केही राम्रो भएको उसले पाएन । निश्चलेन्द्रका जन्मँदैका दाँतलाई उसले राक्षस भएको प्रमाण ठान्यो । कहिलेकाहीं राधाले भन्थी “भीमप्रसाद बा, तपाईंको भविष्य पनि निश्चलेन्द्रसँग सोध्नुपर्‍यो ।” ऊ फिस्स हाँसेर टारिदिन्थ्यो ।

रवि पुरानो खालको मान्छे थियो । भीमप्रसादलाई चितवनबाट नलखेटिकन चितवनमा राजनीतिक रूपले आफू स्थापित हुन नसक्ने उसको बुझइ थियो । ऊ भन्थ्यो “कांग्रेसीहरू राष्ट्रविरोधी हुन् । भीमप्रसाद जस्ता बूढाहरूले यो देशलाई कांग्रेसीहरू जस्ता अराष्ट्रिय तत्वबाट बचाउन सक्दैनन् । हामी जस्ता युवा पञ्चहरू राजनीतिमा सक्रिय हुनुपर्छ ।”

रवि निश्चलेन्द्रसँग टीका थाप्थ्यो र आफ्नो राजनीतिक भविष्यबारे प्रश्न गथ्र्यो । निश्चलेन्द्रका उत्तर सधैं अमूर्त हुन्थे “तिमीले खोजेको पाउँछौ तर भयलाई परास्त गर” जस्ता ।

भीमप्रसाद र रवि, दुवै पुराना कांग्रेस र नयाँ पञ्च, एक–अर्कालाई देखी सहँदैनथे । गाउँलेहरूले त्यसको कारण भने बुझेका थिएनन् । एकथरीले पञ्चायतभित्र फरक गुट भएकाले यी दुईको कुरा नमिलेको अनुमान गर्थे । कसैको शंका थियो, भीमप्रसाद भित्र–भित्र कांग्रेस हो । जे भए पनि, पूर्वी चितवनमा दुवैले राम्रो पकड बनाएका थिए । त्यही मेसोमा घटस्थापनाको दिन भीमप्रसादले रविलाई बकुलहरको चियापसलमा भेट्न बोलायो । रवि तीन–चार जना केटाहरू लिएर आयो । भीमप्रसादले भन्यो “पञ्चायत जिताउन तिमी मलाई सहयोग गर ।”

रविले जवाफ दियो “भीमप्रसाद बा, पञ्चायत जिताउन तपाईंहरू जस्ता बूढाले हुँदैन । हामी जस्तो युवा चाहिन्छ । र, हामी युवाको नेतृत्वमै चुनाव प्रचार समिति बन्नुपर्छ ।” त्यसपछि ऊ केही नबोली उठेर हिंड्यो ।

भीमप्रसाद राधाको घरतिर लाग्यो । राधालाई त्यस दिन “खाना खान आउँछु छोरी” भनेको थियो । तर, ऊ पुग्दा राधा घरमा थिइनन् । उसले निश्चलेन्द्रलाई खेलिरहेको देख्यो । केही दिनयता उसले ‘यो केटो मरिदिए हुन्थ्यो’ भनेर सोच्न थालेको थियो । निश्चलेन्द्रलाई भगवान्झ्ैं मानेर पुजेको उसलाई मनपरेको थिएन ।

पाँच वर्षको निश्चलेन्द्रले सोध्यो, “हजुरबा, खाना पस्किदिऊँ ?” भीमप्रसादले रमाइलो मान्यो र ‘हुन्छ’ भन्यो । खाना खाएर घर गएको भीमप्रसादलाई दिउँसोतिर बेस्सरी बान्ता हुन थाल्यो । ऊ बिरामी परेको सुनेपछि समर्थकहरू आए । भरतपुरबाट डाक्टर बोलाए । भीमप्रसादले दिउँसोतिर रगत बान्ता गरेर सास छोड्यो ।

यो थाहा पाए लगत्तै रवि दौडँदै भीमप्रसादको घर गयो । वरपरका गाउँलेदेखि भरतपुरबाट सिडिओ, डीएसपीहरू पनि आए । टिकौलीको जंगलमा गाईगोरु चराउन गएका थारूहरू पनि आए । भीमप्रसादले मर्दापर्दा गरेको सहयोग सम्झेर सबै भावुक भए । कसैले २० वर्षअघि कुनै हाकिमलाई भेटाइदिएको सम्झे, कसैले १५ वर्षअघि जागिर खुवाउन भनेर मन्त्रीसँग भेटाएको सम्झे । “राजासँग ठाड्ठाडै गफ गर्न सक्थे, रगत छादेर मरे” भन्ने धेरै भेटिए ।

भीमप्रसादका समर्थकहरूले शंका गरे, उनको मृत्युमा रविको हात हुन सक्छ । कसैले बाल भगवान् निश्चलेन्द्रले केही भन्छन् कि भनेर राधालाई सोध्न लगाए । आमासँग एकान्तमा निश्चलेन्द्रले भन्यो, “हिजो तपाईंले ल्याएको जंगली च्याउ विषालु थियो । मैले त्यही थोरै उमालेर भीमप्रसादको तरकारीमा राखिदिएँ । तपाईंलाई विश्वास नलाग्ला, बूढाले मलाई कहिल्यै माया गर्दैनथे । मलाई मार्न खोज्थे । म मरें भने तपाईंलाई कसले हेर्छ ? त्यसैले बूढालाई मैले मारेको हुँ ।”

राधालाई आफ्नो छोराको माया लाग्यो । बाहिर “हत्याको बदला लिन्छौं लिन्छौं” भनी नारा लगाइँदै थियो । राधाले बाहिर आएर भनिन्, “भीमप्रसादको हत्या भएको हो भन्ने भगवान्को भनाइ छ । खानामा विष मिसाइएको थियो ।”

भीमप्रसादले कहाँ खाना खाए भन्ने निश्चलेन्द्र बाहेक कसैलाई थाहा थिएन । तर रविलाई शंका गर्नेहरू बिस्तारै बढ्दै गए । बिहान उनीहरूसँगै चिया खान बसेका थिए । कतै धूर्त रविले बूढालाई चियामा विष हालिदिएछ कि भन्ने गाउँलेलाई लाग्न थाल्यो । यो शंका बिस्तारै फैलिएपछि एक दिन प्रहरी रविको घरमा पुग्यो र भरतपुर प्रहरी कार्यालयमा लिएर गयो ।

मान्छेहरूमा आक्रोश बढ्दै गयो । भीमप्रसादका समर्थकहरू रविको पत्तासाफ भएको देख्न चाहन्थे, त्यसैले उनीहरू झ्न्झ्न् चर्को स्वरमा सरकारको विरोध गर्न थाले । पञ्चायत इतरकाहरू पनि ‘हत्यारो सरकार मुर्दावाद’ नारा लगाउँदै भीमप्रसादको घरनिर आइपुगे । कांग्रेसीहरू ‘भीमप्रसाद पञ्चायतमा प्रवेश गरे पनि परेका बेला हामीलाई पनि सघाउँथे’ भन्न थाले । कम्युनिष्टहरूले ‘कांग्रेसको राष्ट्रघाती चरित्रसँग रिसाएर भीमप्रसाद पञ्चायत प्रवेश गरेका थिए, तर सारमा उनी राष्ट्रवादी र समाजवादी व्यक्ति थिए’ भन्न थाले ।

रविको घर घेर्न जानेहरू धेरै थिए । रामपुर क्याम्पसका युवा नेताहरू रामबहादुर लामा, पुष्पकमल पोखरेल लगायत । भण्डारातिरका चर्का युवा जागृत श्रेष्ठ पनि साइकल चढेर आएका थिए । नजिकै नेपाल माविबाट विद्यार्थीको जुलूसको नेतृत्व गर्दै जीवनाथ खनालहरू आएका थिए । रामपुरको समूहले ‘रविलाई जिउँदै जलाउनुपर्छ’ भन्दै नारा लगायो ।

सिडियोले जुलूसमा भएका सबैको गतिविधि हेरिरहेका थिए । उनले प्रधानमन्त्रीलाई रिपोर्ट गर्न भनेर नोटबुकमा लेखे “हत्याको विरोध गर्ने युवाहरू राष्ट्रिय स्तरका नेता हुने खालका देखिन्छन् । रविलाई यो भीडमा आएकाले जे गर्छन्, गरून्, छोडिदिऊँ । बरु यी नयाँ युवा नेताहरूलाई दरबारले आफ्नो बनाउन कोशिश गर्नुपर्छ ।”

यता, भीडले रविको घर जलायो । भीडलाई लाठीचार्ज वा गोली नहान्न माथिबाट सिडिओलाई आदेश थियो ।

त्यसपछि रवि कहिल्यै चितवन फर्केन, काठमाडौंमा नेताहरूको दैलो कुरेरै बाँकी जिन्दगी बितायो । भीमप्रसाद मरेको केही समयपछि जनमत संग्रह हुँदा चितवनमा बहुदलको पक्षमा बहुमत भोट झर्‍यो ।

निश्चलेन्द्रको अलौकिक शक्ति केही वर्षपछि आफैं हरायो । कसैको भविष्यवाणी गर्न सकेन । उसका ८८८ जना भक्त थिए, सबैले साथ छाडे ।

पछि राधा पनि काठमाडौं बस्न थालिन् । २०४० असारमा बखानसिंह गुरुङ कानून तथा न्यायमन्त्री बने । तर, उनी धेरै बाँचेनन्, पदमा छँदै मरे ।

यता, चितवन सधैं पञ्चायत विरोधीको किल्ला भइरह्यो । २०४६ सालमा पञ्चायत विधिवत् रूपमा अन्त भयो । तर, चितवनका धेरैको भनाइमा चितवनमा पञ्चायत २०३६ सालको घटस्थापनाकै दिन मरेको थियो, जुन दिन दिन भीमप्रसाद र रवि जस्ता प्रभावशाली, प्रतिस्पर्धी र सम्भावना भएका दुई नेताहरूको राजनीतिक रूपमा अन्त भएको थियो ।

प्रतिकृया दिनुहोस