कला/साहित्यमंगलवार, कार्तिक ६, २०७५

जनानी

कथा

हिमालखबर

नयनराज पाण्डे

“दुर्गालालले बडा खपसुरत जनानी ल्यायो । नखलऊ (लखनऊ) बाट । बिहाव गरेर ।” 

टोलभरि हल्ला फैलियो । यो हामी सबैका लागि आश्चर्यको कुरा थियो ।

हामीले दिनदिनै देखिरहेकै व्यक्ति दुर्गालाल, एकदमै कमजोर शरीरको थियो । वर्षमा नौ महीना त बिरामी हुन्थ्यो । साढे पाँच फुट अग्लो थियो, तर वजन ४०/४५ किलोभन्दा बढ्ता थिएन, सानोतिनो हावाहुरीले पनि उडाउला जस्तो । आँखा हो कि कुवा, छुट्याउनै गाह्रो । छातीका करङ देखिन्थे । मान्छे हुने प्रयासमा अलिकति मासु र छाला धारण गरेको अस्थिपञ्जर मात्र थियो ऊ ।

हामीले वर्षौंदेखि उसलाई उस्तै देख्यौं, रोगी र कमजोर । कुनै कामधाम गर्दैनथ्यो । बाउले यति कमाइदिएका थिए कि उसलाई थप कमाउन आवश्यक थिएन । हाम्रै टोलमा मात्र उसका बाउका तीनवटा घर थिए, दुइटा भाडामा लगाइएको थियो । आफू बसेको घरको भुइँतलामा उसले किराना दोकान पनि खोलेको थियो । खासमा त्यो दोकान उसले पैसा कमाउन भन्दा पनि समय बिताउन खोलेको थियो ।

दोकानमा ऊ प्रायः दिउँसो बस्थ्यो । बिहान–बेलुका अरू कामदार बस्थे । रोगी दुर्गालाल एकछिन उभिंदा लत्रक्क गल्थ्यो, कुर्सीमा पनि धेरैबेर बस्न सक्दैनथ्यो । खाट वा कतै पल्टिहाल्नुपर्ने भएकाले ऊ पसलमा बस्दैनथ्यो, यताउता पनि त्यति हिंड्दैनथ्यो ।

आफ्नो घर वरिपरिको १०० वा ५० गजको दूरीभित्रै ऊ सीमित थियो । अलिपर भनेको अस्पताल पुग्थ्यो, अस्पताल उसको दोस्रो घर जस्तै थियो । खानाभन्दा बढ्ता औषधि खान्थ्यो । औषधिले नै बाँचेको निरीह प्राणी थियो, दुर्गालाल ।

जीवनमा केही गर्न सक्दैन भन्ने ठानिएको मानिसले बिहे गर्‍यो भन्दा सबै जिल्ल पर्नु स्वाभाविक थियो । दुर्गालालले बिहे गरेपछि सारा टोल चकित थियो । चुगलीबाजहरूले कुरा काट्ने खूब मौका पाएका थिए । उनीहरू भन्थे, “रघुलालले पैसाको बलबुतामा नखलऊबाट किनेर ल्याएको हो, आफ्नो छोरो दुर्गालालका लागि जनानी । नत्र बिहाव नै गरेको भए किन लगेन टोलका कसैलाई बरियाती ? यसरी चुपैचाप बिहाव गर्नुको कारण यही हो । यो शादी होइन, खरिदफरोख्त हो । किनबेच हो ।”

के पैसामै किनिएकी थिइन् त दुर्गालालकी जनानी ?

रासनकार्डमा उनको नाम दमयन्ती भनेर उल्लेख छ । तर, सबैले उनलाई जमेन्ती भनेर चिन्छन्, बोलाउँछन् । उनी लखनऊको अलिगन्जमा जन्मिइन् । अलिगन्जको हनुमान मन्दिरनिरै थियो, उनको घर । टोलमा उनको परिवार मात्र हिन्दू थियो, बाँकी सबै मुसलमान । टोलकै आफताब भन्ने केटासित उनको प्रेम भयो ।

आफताब धनी परिवारका थिए । पहिला–पहिला उनीहरूले हथकरघामा लुगा बुन्थे, प्रशस्त कमाए पनि त्यही पेशाबाट । पछि बत्तीबाट चल्ने पावरलुम आएपछि उनीहरूले हथकरघा त्यागे । लखनऊमा धेरै ठाउँमा उनीहरूको पावरलुम थियो । जसबाट सयौं बुनकरहरूले रोजगार पाएका थिए । अलिगन्जको त्यस टोलमा सबैभन्दा धनीमानी मानिन्थ्यो, आफताबको परिवार । आफताब असाध्यै भलाद्‌मी थिए ।

आफ्नो पारिवारिक पेशामा परिवारलाई सघाउँदै बीएस्सी पढ्दै पनि थिए । जमेन्तीलाई परिवारले मुस्लिम केटोसित बिहे गरिदिने कुरै थिएन, समाजमा यो त ठूलो कलङ्कको कुरो थियो । तर, अथाह प्रेम गर्थे जमेन्ती र आफताब । दुवैले एकअर्कालाई छोड्न सक्ने कुरै थिएन ।

आफताबले त जसोतसो आफ्नो घरपरिवारलाई राजी बनाएको थियो । जमेन्तीको धर्म परिवर्तन गरेर भए पनि आफताबसित निकाह गरिदिन उनीहरू तयार भएका थिए । तर, जमेन्तीको परिवार कुनै हालतमा तयार भएन । उल्टै उनीहरूले जमेन्तीलाई घरमै कैद गरेर राखे ।

एकदिन मौका पाएर जमेन्ती घरबाट भागिन् । धर्म परिवर्तन गरेर जमेन्तीबाट नफिसा बनिन् र आफताबसित बिहे गरिन् । जमेन्तीको परिवारका लागि यो ठूलो चोट थियो । समयसँगै त्यो चोट भरिनुपर्ने, तर भरिएन ।

एकदिन हल्ला फैलियो “आफताबको परिवारले गाई मार्‍यो र गाईको मासु खायो ।” हल्लाले लखनऊ ततायो । भाजपा र आरएसएसका कार्यकर्ता क्रूद्ध भए । वास्तवमा यो जमेन्तीका बाबु र दाजुहरूले फैलाएको नियोजित हल्ला थियो । प्रदेशमा हिन्दूवादी भारतीय जनता पार्टीको सरकार थियो । त्यसैले हिन्दूवादीहरूको रवाफै बेग्लै थियो ।

मुसलमानहरूलाई पाकिस्तान धपाउनुपर्छ भन्ने असहिष्णु सोचले समाजभित्रको भाइचारालाई खलबल्याउन थालेको थियो । यस्तोमा गौहत्या ठूलो मुद्दा बनिहाल्यो । कानूनले प्रमाण खोज्दै थियो । तर, भीडको आफ्नै कानून, आफ्नै न्याय–व्यवस्था थियो । भीडले नै आफताबहरूमाथि गोकुशीको आरोप लगायो, भीडले नै नभएका चश्मदिद गवाहहरू जुटायो र फैसला गर्‍यो ।

एक दिन घरनजिकैको मस्जिदबाट नमाज पढेर फर्केका बेला आरएसएसका कार्यकर्ताको विशाल भीडले आफताबलाई समात्यो । आफताबले आफू निर्दोष भएको याचना गरिरहेको थियो । तर, भीडले उसको आवाज सुन्नै चाहेन । पिटीपिटी मार्‍यो, आफताबलाई । त्यो भीडमा जमेन्तीका बाबु र दाजुहरू पनि थिए ।

पोस्टमार्टमका लागि अस्पताल लगिएको आफताबको लासलाई अँगालेर नफिसा रोइरहेकी थिइन्, उनलाई एउटा दाइले समात्यो र घिच्याउँदै घरमा ल्यायो । उसको बुर्का च्यातेर फालिदियो । गलाबाट ताबिज पनि थुतेर फालिदियो । उनी फेरि नफिसाबाट जमेन्ती बन्न विवश भइन् ।

त्यहीबेला छोरा दुर्गालाललाई उपचार गराउन लखनऊ पुगेका थिए, रघुलाल । रघुलाल र जमेन्तीका बाबुबीच त्यहीं परिचय भयो । जमेन्तीका परिवारलाई जसरी भए पनि कुनै हिन्दू केटासित छोरीलाई भिडाइदिनुथियो । त्यसैले जमेन्तीका पिताले रघुलाललाई प्रशस्त दाइजो दिने लोभ देखाए । बेकामे भन्ठानेको छोराकै कारण लाखौं आम्दानी हुने भएपछि रघुलालले जमेन्तीका पिताको प्रस्ताव नमान्ने कुरै भएन ।

आफताबको हत्यापछि जमेन्ती ढुङ्गाजस्तै भएकी थिइन्, सारा पीडा चुपचाप सहने लाचार र प्रतिक्रियाहीन । उनले ‘दुर्गालालसित किन मेरो बिहे गरिदिन लाग्यौ ?’ भनेर परिवारसँग प्रश्न र विरोध गरिनन् । बाबुआमा र दाजुभाइहरूले जसोजसो भने उनले त्यसैत्यसै गरिन् । बिदाइका बेला जमेन्तीसित उनकी आमाले भनिन्, “हाम्रो गुन मान् कि हामीले आफताबलाई जस्तै तँलाई मार्न सकेनौं ।

बडो मुश्किलले तेरा लागि यो केटा भेट्यौं । यसैसित जसोतसो जीवन बिताउनू । अब बिर्सेर पनि माइती नआउनू । लखनऊ पनि नआउनू । भन्ठान्नू बाबुआमा, दाजुभाइ सबै मरिसके । हामी पनि तँ मरिसकिस् भन्ने सोच्छौं । यसपालि इलाहावादको कुम्भमा डुबकी लगाएर तेरो श्राद्ध गर्छौं । तँसितका सबै सम्बन्ध अब खत्तम गर्छौं ।”

आमाले यसो भन्दा पनि रोइनन् जमेन्ती । चुपचाप सुनिन् र अन्तमा यति मात्र भनिन्, “हुन्छ आमा, म आउँदिनँ अब यहाँ ।”

यसरी जमेन्ती घरबाट बिदा भइन् । उनको बिदाइमा कोही रोएन ।

यसरी जडैया बुखारको उपचार गर्न गएको दुर्गालालले जनानी लिएर फर्कियो । टोलमा उसको उपलब्धिको खूब चर्चा भयो । मरन्च्याँसे दुर्गालाल रातारात सेलेब्रिटी भयो ।

...

पाँच फुटभन्दा केही अग्ली । साठी किलो हाराहारीको वजन । कसिलो देह । गोरो र बेदाग अनुहार । सलक्क परेका हातखुट्टा । समाजले स्थापित गरेका सुन्दरताको मानकमा जमेन्ती अब्बल ठहर्थिन् । आफताबको मृत्युपछि पो बोल्न छाडेका थिए, उनका आँखाले ।

नत्र ती कति बाचाल र कति चरबाँक (चञ्चल) थिए । उनको ओठले धेरै बोल्नै पर्दैनथ्यो, धेरै कुरा उनको आँखाले नै भनिदिन्थे । दुर्गालालकी जनानी भएर आएपछि भने उनका बाचाल आँखा मौन बने ।

“जमेन्ती, तेरो आँखा किन यसरी मौन भएको ?” कसैले यति प्रश्न सोधिदिएको भए पनि हुन्थ्यो । तर, कसैले सोधेन ।

सुहागरातका लागि पलङ्ग त सजाइयो । तर, त्यसमा बसेर दुर्गालाल र जमेन्तीबीच मायाप्रीतिको सामान्य बातचित पनि भएन । दुर्गालाल अझै जडैया बुखारले ग्रस्त थियो र उसलाई प्रचण्ड गर्मीमा पनि बाक्लो कम्बल ओढेर सुत्नुपथ्र्यो ।

केही दिनमै दुर्गालालको जडैया बुखार त निको भयो, लगत्तै फेरि अकडबाईले समात्यो । बाथ रोगले उसका हाडहरू दुख्न थाले । जोर्नीहरू अकडिन थाले । अकडबाईको दबाई चल्दैथियो, त्यसमाथि दम पनि थपियो । त्यसपछि टिबी पनि भयो । लखनऊबाट जनानी ल्याएर घरभित्र पसेको दुर्गालाल त्यसपछि कहिल्यै घरबाहिर देखापरेन ।

बाह्रै मास, चौसठ घडी नै घर घुसडु भएको भयै भयो । उसै त पहिलेदेखिको मरियल परानी अब त झन् हाडछालाको कमजोर ढाँचा मात्र शेष रहेर किसानहरूले खेतबारीमा चराचुरुङ्गीलाई झुक्याउन राखेको झुक्का जस्तै भएको थियो ऊ ।

जमेन्ती घरबाहिर खासै निस्कन्नथिइन् । बस्, सोमबारको दिन बिहानै उनी हरियो साडी, हरियो पोते र हरियै चुराहरू लगाएर नजिकैको शिव मन्दिरसम्म जान्थिन् । गोरो शरीरमा हरियो साडी उनलाई खूब सुहाउँथ्यो । उनी दुर्गालाल जस्तो बेकामे र निर्बलकी जनानी भनेर कसलाई थाहा थिएन र ? यसै पनि ‘कमजोर की लुगाई, सारे गाँव की भौजाई’ भन्ने कहावत प्रसिद्ध थियो । त्यसैले उनी आउने र जाने बाटो ढुकेर बस्ने टोलका बलियाबाङ्गा ठिटा र अधेडहरू उनलाई आसक्त आँखाले हेर्थे ।

उनीहरूको हेराइमा ‘दुर्गालालले तिमीलाई शारीरिक सुख दिन नसके पनि किन निराश हुन्छ्यौ जमेन्ती, हामी छौं नि’ भन्ने खालको फोहोरी भाव उत्ताउलो पाराले सलबलाइरहेको हुन्थ्यो । तर, जमेन्ती यी सबै कुराबाट निरपेक्ष थिइन् । उनलाई आफू हिंड्ने बाटोमा कसले, कहाँ, कुन मोडमा उभिएर कस्तो खालको शब्दवाण प्रहार गर्छ भन्ने थाहै हुँदैनथ्यो । थाहा भए पनि मतलबै हुँदैनथ्यो ।

उनी चुपचाप भुइँतिर हेरेर शिवालयसम्म पुग्थिन् । उसरी नै घर फर्किन्थिन् र फेरि एक साता घरभित्रै आफूलाई कैदी बनाएर राख्थिन् । यसैबीच इलाहावादमा कुम्भ नुहाउन गएका सासू–ससुरा संगममा डुबेर मरेपछि त्यो घर मरघटजस्तो भएको थियो । सासू–ससुराको असामयिक मृत्युसँगै अर्को त्यस्तै खबर पनि कताकताबाट जमेन्तीसम्म आइपुगेको थियो । त्यही कुम्भमै उनका बाआमा पनि डुबेर मरेका थिए ।

टोलका केहीले आपसमा खासखुस गरे– ‘पञ्चक परेकाले चार ज्यान एकैपटक गयो । शान्तिस्वस्ति गरिएन भने पाँचौं ज्यान पनि जान्छ ।’

घरभित्र अब दुर्गालाल र जमेन्ती नामका दुई प्राणी मात्र बाँकी थिए । दुर्गालाल बोल्न पनि नसक्ने गरी अशक्त भइसकेको थियो । आफताब मरेको दिनदेखि नै जमेन्तीको बोल्नुपर्ने सबै कुरा सकिएका थिए । त्यसैले त्यो घरमा मसानघाटको जस्तो मौनता व्याप्त थियो ।

जमेन्ती बिहे गरेर आएदेखि भोकै बसिनन् । रुवावासी पनि गरिनन् । कसैसित झ्ैझ्गडा र मारामार पनि गरिनन् । कसैसित कुनै गुनासो गरिनन् । बस्, घर–भान्साको काम गर्थिन्, अशक्त दुर्गालालको सेवाशुश्रुषा गर्थिन् । जे जे गर्थिन्, चुपचाप गर्थिन् । दुर्गालाल पूरै लाचार थियो । ऊ जमेन्तीप्रति आभार प्रकट गर्न चाहन्थ्यो । आफूले गर्दा उसको जीवन बर्बाद भएकोमा माफी माग्न चाहन्थ्यो । तर, ऊ बोल्न सक्दैनथ्यो ।

ऊ आफ्नो मनको भाव आँखाले अभिव्यक्त गर्न खोज्थ्यो । तर, उसका आँखा भास्सिएर यति भित्र पसिसकेका थिए, मानौं ती कुनै गहिरो इनारभित्र पसिसके । जमेन्ती त्यो इनारभित्र पस्न सक्दैनथी र इनारबाट उसले बुझने कुनै आवाज आउँदैनथ्यो । भयानक मौनता व्याप्त थियो, त्यो घरमा । त्यो मौनतामा जमेन्तीका पाउजूका हल्का छन्–छन् पनि डरलाग्दो किसिमले प्रतिध्वनित हुन्थ्यो र जमेन्तीलाई नै तर्साउँथ्यो । त्यसैले उनले पाउजू लगाउनै छाडिदिएकी थिइन् ।

“जमेन्ती त पगलाई गई ।”

एकदिन हल्ला फैलियो । टोलभरिका मान्छे चोकमा भेला भए । सोमबार मात्र एकछिनलाई बाटोमा देखिने जमेन्ती आइतबार नै कसरी देखापरी भनेर सबैलाई जिज्ञासा भयो । “कमजोर की लुगाई, गाउँभरिकी भौजाई” भन्ने फोहोरी सोचका पुरुष हतारहतार रमिता हेर्न घरबाट निस्किए । सधैं शान्त र चुपचाप देखिने जमेन्ती जगल्टा फिंजाएर उग्रचण्डी जस्ती भएकी थिइन् । क्रोधले अनुहार रातो भएको थियो । उनी बीच चोकमा दुई हातले घुँडा–घुँडासम्म साडी तानेर चिच्याउँदै थिइन्, “आओ भतारहरू, आओ । समात मलाई । नचोर मलाई । भोग गर मलाई । तिमीहरूलाई जे जे मन लाग्छ गर ।”

त्यो दिन बजारभरि यसै भन्दै हिंडिन् उनी । आधा रातमा पनि उनी यसरी नै भौंतारिन्थिन् । यो क्रम एक हप्तासम्मै चल्यो । एक हप्तापछि अचानक यो क्रम रोकियो । जमेन्ती सडकमा देखापरिनन् । सबै चकित भए ।

चकित पार्ने अर्को कुरा थियो– एक हप्तासम्म पगलाएकी जमेन्ती सोमबारको दिन पहिलेजस्तै चुपचाप र शान्त भइन् । पहिले जस्तै हरियो चुरा, टीका, पोते र हरियै साडी लगाएर चुपचाप कसैतिर नहेरी शिवमन्दिर गइन् र त्यहाँबाट फर्केर घर आइन् । दुर्गालालको सेवामा लागिन् ।

सबैले ठाने, “डायनसायन लागेर मुडी फिर्‍यो होला जमेन्तीको । त्यसैले केही दिन बौलाई र आफैं ठीक भई ।”

फेरि एक हप्तापछि उसरी नै बौलाइन् जमेन्ती । उसरी नै अश्लील फलाक्दै बजारबजार हिंडिन् । आइतबार रातिसम्म यही क्रम चल्यो र फेरि सोमबारको दिन जस्ताको तस्तै भइन् । यसरी बेलाबेलामा के हुन्थ्यो कुन्नि जमेन्तीलाई । एक हप्ता बौलाउँथिन्, एक हप्ता ठीक हुन्थिन् । बौलाउँदा सम्हाल्नै नसकिने उग्र र ठीक हुँदा असाध्यै शान्त र चुपचाप ।

उनी बौलाएका बेलाका अनेक किस्साहरू टोलमा प्रचलित भए । फलानोलाई उनले च्याप्प समातिन्, छाड्दै छाडिनन् । त्यो मान्छेले पनि जमेन्तीलाई कुनामा लग्यो र भोग गर्‍यो । कुरा सत्य या असत्य जे भए पनि यसरी केही दिनमै जमेन्तीलाई भोगें भन्ने मर्दजातहरू भने अनेक–अनेक निस्किए । यसरी सधैं शान्त र चुपचाप देखिने जमेन्ती अब लुकीलुकी व्यभिचार गर्ने चुपछिनालको रूपमा चर्चित हुन थालिन् ।

जमेन्ती दुई व्यक्तित्वमा रूपान्तरित भइसकेकी थिइन्– चुपछिनाल र शान्त शिवभक्तिनी । अशक्त भएर ओछ्यानबाट उठ्नै नसक्ने भएको दुर्गालाल यी सबै कुरा लाचार भएर टुलुटुलु हेरिरहेको थियो । तर, उसले धेरै समयसम्म हेर्न सकेन । ऊ ओछ्यानमै मर्‍यो, सोमबारकै दिन ।

जमेन्ती त्यो दिन ठीकठाक थिइन् । पगलाएकी थिइनन् । बिहानै शिवमन्दिर गएर आएकी उनले शिव भगवानको टीका लगाइदिने क्रममा आफ्नो पतिदेव मरिसकेको थाहा पाएकी थिइन् । उनी फेरि मन्दिर गएर केही जोगीहरूलाई बोलाएर ल्याइन् । जोगीहरूले नै दुर्गालालको लास बोके र मरघटमा लगेर अन्तिम संस्कार गरिदिए ।

उनी रोइनन्, त्यो दिन । बरु एक हप्तासम्म उनी घरबाट निस्किइनन् । सोमबारको दिन पनि निस्किइनन् । उनी बौलाएको हेर्न चाहने उत्सुक जमात निराश भयो । एक दिन जमेन्ती आफ्नै घरको ऐनाअगाडि उभिइन् । ऐनाभित्रकी जमेन्तीले ऐना अगाडिकी जमेन्तीसित सोधिन्, “कुम्भको बेला सङ्गममा आफ्ना बाबुआमा, सासू–ससुरालाई एकसाथ डुबाएर कसरी मारिस् ?’

“शिवमन्दिर गएका बेला एक जना कनफट्टा जोगीसित भेट भयो । मैले उसलाई आफ्नो दुःखदर्द बताएँ । उसले अफिम खुवाएर भोग्यो मलाई । पछि उसैले इलाहावादबाट आएको एउटा गोताखोरसित भेट गरायो । डुबकी लगाउनेहरूलाई नदीभित्रै गायब पार्ने र लास खोजिदिने बहानामा मर्नेवालाको परिवारसित मोटो रकम असूल गर्ने धन्दा रहेछ त्यसको” ऐना बाहिरकी जमेन्तीले जवाफ दिइन् ।

“किन यस्तो गरेकी तैंले ? तँलाई आफ्नो बाबुआमा, सासू–ससुराको अलिकति पनि माया लागेन ?”

‘मेरा लागि त आमाबाबु उहिल्यै मरिसकेका थिए । म पनि उनीहरूका लागि मरिसकेकी थिएँ । म यहाँ दुर्गालालकी जनानी भएर हैन, लास भएर आएकी थिएँ । न लासलाई कसैले माया गर्छ, न त लासलाई कसैको माया लाग्छ ।”

ऐना बाहिरकी जमेन्तीको जवाफ सुनेर ऐनाभित्रकी जमेन्ती चुप लागिन् र ऐनाबाट हराइन् ।

...

कति दिनपछि मृतक दुर्गालालको घरको ढोका खुल्यो । सबका आँखा ढोकामा केन्द्रित भए । दर्शकहरू जमेन्ती त्यो ढोकाबाट शान्त शिवभक्तिनी भएर निस्कन्छिन् कि उग्र पगली भएर निस्कन्छिन् भनेर हेर्न उत्सुक थिए ।

तर, उनीहरू सबैलाई जिल्ल पार्दै त्यो दिन ढोकाबाट कालो बुर्कामा निस्किइन्, एक स्त्री । उनी बजारतिर लागिन् । केही सौदाहरू किनिन् र फेरि उही बाटो फर्किन थालिन्् । उसरी नै शान्त र चुपचाप ।

बाटोमा एउटा मस्जिदनिर एक जना मुस्लिम महिलाले उनीसित सोधिन्, “तिमी को हौ बहिन ? मैले पहिला कहिल्यै पनि तिमीलाई बजारमा देखेकी थिइनँ ।”

उनले अनुहारबाट बिस्तारै बुर्का हटाइन् र भनिन्, ‘म आफताबकी जनानी हुँ, नफिसा ।’

त्यसपछि कहिल्यै बौलाइनन्, नफिसा ।

प्रतिकृया दिनुहोस