कला/साहित्यसोमवार, कार्तिक ५, २०७५

मासिक स्रावको मिथक

कविता

हिमालखबर

सीमा आभास

सबैभन्दा पहिला स्त्रीहरूकै उत्पत्ति भएको हो
रजबाट बनेको हो ब्रह्माण्ड ।

आफ्नै मासिक स्रावबाट जन्मिएका स्त्रीहरूले
जहाँ–जहाँ टेके
त्यहाँ–त्यहाँबाट शुरु भयो जीवनलीला ।

उनीहरूले विश्राम लिएको ठाउँमा छ्यापछ्याप बसेका
रगतका छापबाट चम्किएको तेजिलो रापले
न्यानो भएको हो पृथ्वी ।

घामलाई रजस्राव भएपछि
बिहानै हिमाललाई गरिदिन्छ रजाभिषेक
साँझको समुद्रलाई डुबाउँछ रजक्रीडामा ।

आकाशलाई स्राव भएपछि पहिरिन्छ इन्द्रेणीमाला ।

धरतीको रज हो जूनबाट खस्ने शीतको बुँद ।

पहिलोपटक धर्तीको योनीस्रावबाट
उत्पत्ति भएको हो पानी
स्रावको फोहोराबाट निस्किएका हुन् आवाज
तिनै आवाजहरूमा फैलिएका हुन् सृष्टि धुन ।

रजस्राव धरतीका कापकापमा पुगेपछि
बग्न थालेका हुन् नदीनाला ।

रजोगुणी नदीहरू बग्दैबग्दै जरामा पुगेपछि
फूलहरूले रजस्वलाकै रङमा थालेका हुन् फुल्न
फलहरूले रजधर्मकै रङमा सिकेका हुन् पाक्न ।
शक्तिस्वरूप
चढाउन थालियो तिनै फूल
पहिर्‍याउन थालियो विजयोत्सवको गलामा ।

मासिक स्रावको स्त्री खुन जहाँ–जहाँ चुहियो
त्यहाँ–त्यहाँ रंगियो माटो ।

त्यही माटोको अविरलाई
शिरमा लगाइदिएर ईश्वरलाई दिन थालियो आशीर्वाद
पवित्र पार्न माटोले लिप्न थालियो घर–मन्दिरका द्वार ।

रजोवतीलाई देखेपछि नै सिकेका हुन्
बलि चढाएको खुनले नुहाइदिएर देवदेवीलाई शक्तिशाली बनाउन
देशलाई शहीदको रगतले नुहाइदिएर महान् कहलाउन ।

मासिक धर्मले जगाएको स्त्रीत्व सिउरिएर
घुमिरहेको छ रक्तबीजबाट कोरिएको सृष्टिचक्र ।

रजोधर्मले नै पवित्र पारिरहेको छ धर्तीको हृदय ।

प्रतिकृया दिनुहोस