ब्लगसोमवार, कार्तिक ५, २०७५

भ्यागुता महात्म्य

कनकमणि दीक्षित

प्रकृतिमाथि अहिले जसरी नै प्रहार गरिरहने हो भने एक दिन भ्यागुता लोप हुन्छन्, त्यसको लगत्तै मानव जाति ।

करीब दुई दशक अघि भक्तप्रसाद भ्यागुतोको धूमधामको घुमघाम बाल–पुस्तक लेखेका कारण धेरैले स्तम्भकारलाई भ्यागुतो–मित्र ठान्छन् । मैले ‘भक्ते’ लाई पात्र बनाउनुको उद्देश्य आफ्नो पदयात्राका क्रममा देखेको नेपालबारे आफ्ना छोरी–छोरा लगायत बालबालिकालाई सुनाएर उत्साह जगाउनु थियो ।

जीव विज्ञानबारे थोरै थाहा नभएको पनि होइन । जस्तो कि, वातावरणमा कुनै तल–वितल पर्दा पहिलो असर उभयचरहरूलाई नै पर्ने भएकाले भ्यागुताहरू विनाशको सूचक पनि हुन् ।

सञ्जीवनी योञ्जन श्रेष्ठ र गौतमबज्र बज्राचार्य ।

हालै एक कार्यक्रममा भ्यागुताको वैज्ञानिक पक्षबारे वातावरण अभियन्ता सञ्जीवनी योञ्जन श्रेष्ठको प्रवचनबाट विस्तृतमा जान्न पाएँ । यस्तै, मैले आफ्नै प्रस्तुतिको लागि अनुसन्धान गर्दा संस्कृतविज्ञ तथा संस्कृतिविद् गौतमबज्र बज्राचार्यको लेखोट र पुस्तक फेला पर्‍यो । दुवै विज्ञको कारण म आज भ्यागुताबारे केही ‘बुज्रुक’ भएको छु ।

सञ्जीवनीका अनुसार, विश्वको अर्बौं वर्षको इतिहासमा तीन छुट्टाछुट्टै महाप्रलय पार गर्दै आएका भ्यागुता प्रजातिहरू आजको ‘एन्थ्रोपोसिन’ (मानव जातिको) युगमा फेरि जोखिममा छन् । अहिले भइरहेको प्रकृतिमाथिको प्रहारले पहिला भ्यागुता लैजान्छ, अन्ततः पूरै मानव जातिलाई ।

संसारभरि रहेका भ्यागुताका ७ हजार प्रजातिमध्ये ३२ प्रतिशत लोप हुने खतराको सूचीमा छन् । नेपाल पनि भ्यागुता प्रजातिमा धनी मुलुक हो, यद्यपि कतिपय प्रजाति भने अनुसन्धान हुन नपाउँदै लोप हुने सम्भावना छ ।

बालीमा लगाइने विषादि र रासायनिक मल भ्यागुता संसारमा घातक आक्रमणको रूपमा देखिएको छ । भ्यागुताको छाला अत्यन्तै संवेदनशील हुने भएकाले कुनै पनि बाहिरी ‘टक्सिक्’ तत्वको सम्पर्क हुनासाथै यिनीहरूलाई असर परिहाल्छ ।

बाल–पुस्तक धूमधामको घुमघाम को ‘भक्ते’ ।

भ्यागुता लोप हुँदै जाँदा यिनीहरू मार्फत जीवन गुजारा गर्ने प्राणी (बकुल्ला, सर्प आदि) को आहारा पनि हराउँछ । यस्तै, प्राकृतिक तरिकाले कीराफट्याङ्ग्रा नियन्त्रण गर्ने भ्यागुताको अवसानले कृषि कर्म झन्–झन् रासायनिक उपक्रमतिर धकेलिन्छ ।

भ्यागुतामाथिको हाम्रो सांस्कृतिक संवेदनशीलता जगाउने काम गरेका छन्, अमेरिकामा बस्दै आएका प्रा.डा.गौतमबज्र बज्राचार्यले । जसले पुस्तक र अनुसन्धानात्मक लेखबाट ऋग्वेदको उत्पत्ति र यसमा नेपालमण्डल लगायत दक्षिणएशियाको योगदानबारे चर्चा गरेका छन् ।

बज्राचार्यको लेख अनुसार, इरान–अफगानिस्तान क्षेत्रबाट ‘इन्डो–इरानियन’ हरू जब बसाइँ सरेर पञ्जाब हुँदै गंगा मैदानमा झरे, उनीहरूले लिएर आएको ऋग्वेदमा दक्षिणएशियाली छाप पर्न थाल्यो । त्यस क्रममा विशेषगरी ‘पर्सिया’ र मध्यएशियामा नपाइने चालचलन, वार्षिक दिनचर्या, मौसम र जीवजन्तुका कुरा ऋग्वेदका श्लोकमा छिर्न थाले ।

बज्राचार्यका अनुसार, मनसुन संस्कृति र कृषिमा आधारित नेपालमण्डल तथा अन्य स्थानीय सभ्यताले ऋग्वेद तथा अथर्ववेद दुवैको श्लोकलाई प्रभाव पार्‍यो । ‘आर्य’ भनिने समूहको आगमनपूर्वका स्थानीय समाजले नवआगन्तुक समाजमा आफ्नो छाप पारिछाड्यो । यसै कारण ऋग्वेदमा मनसुन र भ्यागुताको बखान पाइन्छ ।

अतः भ्यागुताको महत्व वातावरण र विज्ञान तथा मानवको भौतिक अस्तित्वसँगको सम्बन्धमा सीमित रहेन । नेपाल र दक्षिणएशियाको मानव इतिहास र संस्कृतिले पनि हामीलाई भ्यागुतासँग गाँसेको रहेछ ।

पूरै प्राचीन इतिहास र यसको प्रतिनिधित्व गर्ने ऋग्वेदलाई साक्षी राखेर, र आधुनिक विज्ञानको सहारा लिएर भ्यागुता जाति, प्रजातिलाई बचाउनु छ । यसरी प्राचीन वैदिक सभ्यताले समेत हाम्रो आधुनिक ‘एन्थ्रोपोसिन्’ युगमा प्रकृति बचाउन सहयोग गर्नेछ ।

ऋग्वेदको ‘भ्यागुता’ नामक ८ हरफको श्लोकले रमाइलो पाराले भ्यागुतालाई उतिबेलाको मनसुन संस्कृतिसँग जोड्छ । श्लोकका हरफले भ्यागुताको बखान गर्नुका साथै बर्खायाममा प्रकृति पुनर्जीवित र मानव संस्कृति पुनर्जागृत हुने चर्चा गर्दछन् ।

छिर्के र हरिया मण्डूका
ऋग्वेदको सूक्त १०३ का केही अंश जुन तल उद्धृत गरिएको छ (साभारः ऋग्वेद संहिता, अनुवादकः तिलकप्रसाद लुइटेल), यस कविताको शीर्षक ‘छिर्के र हरिया भ्यागुता’ भन्न मिल्ला ।

संवत्सरं शशयाना ब्राह्मणा व्रतचारिणः ।

वाचं पर्जन्यजिन्विन्तां प्रमण्डूका अवादिषुः ।। १ ।।

वर्षभरि गुप्त रूपमा बस्ने व्रतपालक ब्राह्मण झैं रहेका भ्यागुताहरू मेघलाई खुशी पार्ने खालका वाणी बोल्न थाले ।

दिव्या आपो अभि यदेनमायन्दृतिं न शुष्कं सरसी शयानम् ।

गवामह न मायुर्वत्सिनीनां मण्डूकानां वग्नुरत्रा समेति ।। २ ।।

सुकेका तलाउमा सुक्खा छाला जस्तो भएर सुतेका भ्यागुताहरूमा अन्तरिक्षको जल पुगेपछि उनीहरू लैनो गाईझैं स्वर निकालेर कराउन थाल्छन् ।

यदीमेनां उशतो अभ्यवर्षीत्तृष्यावतः प्रावृष्यागतायाम् ।

अख्खतीकृत्या पितरं न पुत्रो अन्यो अन्यमुप वदन्तमेति ।। ३ ।।

तिर्खाएका भ्यागुतामाथि वर्षायाम आएपछि झरीको पानी बर्सिन थाल्छ, त्यसपछि त बाबुले छोरासित कुरा गरेझैं गरी भ्यागुताहरू आफ्ना विनम्रताको ध्वनि निकाल्दै एकापसमा नजिकिन्छन् ।

अन्यो अन्यमनु गृभ्णात्येनोरपां प्रसर्गे यदमन्दिषाताम् ।

मण्डूको यदभिवृष्टः कनिष्कन्पृश्निः सम्पृङ्क्ते हरितेन वाचम् ।। ४ ।।

पानी बर्सिंदा भ्यागुताहरू खुशीले उफ्रन थालेपछि छिर्के भ्यागुतो हरिया भ्यागुतासित कुरो गर्ने शब्द निकाल्छ । त्यसबेला ती दुवै एकापसमा अनुग्रह गर्छन् ।

प्रतिकृया दिनुहोस