कला/साहित्यसोमवार, कार्तिक ५, २०७५

पञ्चायती

कथा

हिमालखबर

- श्याम साह

सन्नाटा व्याप्त थियो, बिरजु मरिकको घरमा । कसैको एक्लो जवान छोरा अनाहकमा मारिएको घरमा हुने सन्नाटा । बाउआमालाई सान्त्वना दिन वा सम्झउन घरभरि आफन्तहरू त छन्, तर कसैको मुखबाट एक शब्द निस्कन सकेको छैन । 

आँगनमा परालको पटिया ओछ्याइएको छ । त्यही पटियामा असोरा (पिंढी) को अडेस लगाएर टाउकोमा हात राखेर बसेको छ, महावीर मरिक । ऊसँगै बसेका छन्, उसका केही साथीहरू । कसैको हिम्मत छैन भन्ने, “भो महावीर, छोड्दे चिन्ता । जानै छ एकदिन सबैलाई । ढिलो र चाँडोको कुरा न हो ।”

सबै चिन्तित छन्, आफ्नै छोरा मरेजस्तो गरी । असोरामा पल्टेकी छिन्, बिरजुकी आमा फुलिया मरिक । उनको चारैतिर महिलाहरू नै छन् । एकजना उनको अनुहारमा बेनाले हम्किंदै छिन् । धेरैजसो समय बेहोश हुने बिरजुकी आमा होश आउँदा साथ चिच्याउन थाल्छिन्, “रे बिरजु ? रे बौवा ? केना के छोइडके चैल गेला ? रे बेटा ...?”

उनले चिच्याउँदा वरपरका महिलाहरूमा पनि रुवाबासी चल्थ्यो । शायद उनको चिच्याइले छाती चिरिन्थे, उनीहरूका ।

त्यो सन्नाटा र बेलाबेलाको कोलाहल शायद नजिकै खोरमा राखिएका सुँगुरहरूले पनि अनुभव गरेका थिए । अरू बेला अनावश्यक कराइरहने तिनीहरू सन्नाटाका बेला शान्त हुन्थे भने रुवाबासीका बेला थोरै चलेर फेरि शान्त हुन्थे ।

असनपुरको त्यस डोम टोलभन्दा पारिपट्टि गोलबजारमा भने मानिसहरूको चहलपहल थियो । दुई टोलका बीच सीधा डगहर र खुला खेत बाहेक केही थिएन । त्यसैले उताको चहलपहल यताबाट देखिन्थ्यो ।

त्यो चहलपहल त्यहाँ हुन लागेको पञ्चायतीको थियो । जसका वादी पाण्डव मरिक थिए भने प्रतिवादी महावीर मरिक । महावीरको छोरा बिरजु अनाहकमा मारिएको थियो । वरको रूखमुनि दरी र त्रिपाल ओछ्याइएका थिए । माइजन (मुखिया) लाई बस्नका लागि भनेर एउटा छुट्टै प्लाष्टिकको कुर्सी मगाइएको थियो । मासुका लागि बिहानै सुँगुरलाई घोचा हानेर मारिएको थियो । जसको मासु अगाडि दुरामा पाकिरहेको थियो । त्यसरी घोचा हानेर मारिएको सुँगुर पाण्डव मरिकको आफ्नै थियो । जसलाई व्यापारीले घरमै आएर १० हजार रुपैयाँ दिएको थियो । अझ् एक महीना पाल्न पाएको भए १५ हजारको हुन्थ्यो होला ।

दुई हजार रुपैयाँ जतिको १० ग्यालिन रक्सी पाण्डव मरिकको घरमा आइसकेको थियो । चिउरा र मसला गरेर १५ हजार रुपैयाँ उसको खर्च भयो । उसलाई पैसाको चिन्ता थिएन । किनकि उसलाई थाहा थियो, पञ्चायती जित्ने उसैले हो । पछि खर्च जम्मै उसले महावीर मरिकबाट पाइहाल्थ्यो ।

उसले सोच्दै गर्दा उसको छोरा उसैको अगाडिबाट गयो । उसकै छोराको उमेरको त थियो, बिरजु पनि । उसले मनमनै आफूलाई अपराधी झैं मान्यो ।

‘पञ्चायतीले फैसला गरे पनि यसको पैसा लिन्नँ म...’

फेरि उसले मनमनै आफ्नो खर्चको हिसाबकिताब गर्न थाल्यो ।

‘...प्रहरी र बिसनाथ बाबुलाई मिलाउन मात्र एक लाख लाग्यो । माइजनको भाग अझ् बाँकी नै छ । आफू रिमझ्मि होटल नछिरे पनि बिसनाथ र पुलिसहरूले खाएको २० हजार रुपैयाँ तिर्‍यो । सो अलग भो । सालाहरूले २० हजारको के खायो होला ? यदि अलिअलि महावीरसँग लिन पाए भने राहत हुन्थ्यो ।’

तर आँखा चिम्लने बित्तिकै रगतपच्छे भएर लडेको बिरजु, आत्तिएर रुँदै चिच्याउँदै गरेका उसको बुवा र आमाको झ्लक उसको सामुन्ने आउन थाले ।

‘...मेरो त गएको सम्पत्ति हो । भोलि फेरि कमाउन सक्छु । उसको जवान छोरा गयो । त्यो पनि एक्लो । कहाँबाट ल्याउँछ उसले । जानेर त गरेको होइन । अन्जानमा भएको पाप पनि सानो होइन । भो ऊसँग पैसा लिन्नँ ।’

“बाबु, माइजन चैल आइल ।”

छोराले बोलाएपछि ऊ झ्संग भयो । माइजन आइपुगेको थियो । खासमा उसलाई अलि अगाडि नै बोलाइएको थियो । ताकि पञ्चायती शान्तपूर्वक नै सम्पन्न होस् । र, त्यो विषयमा सल्लाह गर्न पाइयोस् । ऊ हतारहतार उठेर माइजनलाई स्वागत गर्न गयो । माइजनलाई कुर्सीमा बसाएर आफू भुइँमै बस्यो ।

“एकटा बात पहिने ठीक भेलौ कि थाना फोजदारी पहिने मिला लेला । गौवाँ सब जरे हम बात कर लेलियौ एक चोटी । सब वेहा कहलकौ, थाना फोजदारी मिले गेल छै, तब कोइ बढ्का बात नै रहगेलौ । ई आब आपसके बात रैह गेलै ।”

बोल्दा बोल्दै माइजन चुप लाग्यो । र, घाँटी खसखसाएको गरी एकक्षण खकार्‍यो । र, फेरि भन्न थाल्यो, “मगर एकटा बात ! पंचैतीके खर्चा महावीर जरे नै मँगिह्य ।” “हमहुँ अपन मनमे इहे विचार केने रहियै ।”

पाण्डव मरिक हतार–हतार बोल्यो ।

“तब त ठीक हौ । आदमी सबके कखन बोलौने छे ? जो, आब खबर कर ग ।” पाण्डव मरिकले आफ्ना चारै छोराहरूलाई डाक्यो । र, मान्छेहरूलाई खबर गर्न पठायो ।

“रे सुन् ।”

माइजनले पाण्डव मरिकका छोराहरूलाई बोलायो । सबै फर्के ।

“महावीरके घरे तु सब नै जैहे । ओकर भतिजाके हम कहने छियै । ओकरे जाक भेटिहे । आ ओहे बोलाक लैतौ... ।”

त्यसपछि उनीहरू पञ्चायतीका लागि मानिसहरू बोलाउन हिंडे ।

असनपुरबाट बसाइँ सरेर घुरहु महतो गोलबजारमा घर बनाउन पुगेको थियो । र, त्यहीं उसकी आमाको मृत्यु भएको थियो । असनपुर र गोलबजार दुवैका लागि लास जलाउने ठाउँ गागनखोला थियो । त्यसपछि आगो दिनका लागि घुरहुले महावीर मरिकलाई बोलाउन पठाएको थियो । महावीरलाई थाहा थियो, गोलबजार उसको जिमदारीभित्र पर्दैन । तर, घुरहु महतो गोलबजारको भइसकेको उसलाई थाहा थिएन । किनकि ऊ सीधै गागन पुगेको थियो । असनपुरबाट बोलाए जसरी नै ऊ गएको थियो ।

आमाको काजकिरिया सकेपछि घुरहुले जे जे महावीरलाई दियो, त्यति अहिलेसम्म कुनै पनि डोमले पाएको थिएन । अरूले मृतकको लुगाफाटा र केही रुपैयाँ दिएर टार्थे । डोमहरू पनि मरणहरण भएकोमा खासै अडान लिंदैनथे । त्यसको बदला विवाहहरूमा अडेर असुल्थे । घुरहुले भने उसकी आमा सुत्ने पुरानो सखुवाको काठको ठूलो पलंग, बाकससँगै आमाको नाक र कानको सुन, १० हजार नगद पनि दिएको थियो । त्यो काठको अहिलेको मूल्य र सुनको समेत गर्दा लाखभन्दा बढीको सम्पत्ति महावीरले पाएको थियो । त्यसरी दिएकोमा घुरहुका आफन्तहरूले समेत कुरा काटेका थिए । झ्न् त्यसरी पाउने डोमहरूमा त्यो खबर डढेलो जसरी फैलिने भयो । महावीरले त चिताएकै थिएन ।

शुरूमा मरणहरणका लागि मात्र हो भनेर पाण्डव मरिक र उसका छोराहरूले वास्ता गरेका थिएनन् । तर, जब महावीरले पाएको सम्पत्तिको चर्चा पूरै गोलबजारभरि हुन थाल्यो, त्यसपछि उनीहरू सबैलाई भित्रभित्रै पोल्न थालेको थियो ।

“कहने रहियै जाउ यैइ, त सबके गोरमे रहे लकवा माइर देने । आव ठिक भेल ने ? गाउँ केक्रो ? जिम्दारी करे कोई ?”

घरमा सबै भएको बेला पाण्डवकी बूढीले उनीहरूको पोलाईलाई झ्न् चर्को बनाई । “तुहों आब हमर मथ्था नै खो । जायछियै, काइल गफ कर । आब ऊ कथि कहै छै, तब ने किछो करबै ? ओहनाहिते के ना छोरबै ? पंचैती बैठाब परतै त बैठेबै कि ।” उसकी बूढी शान्त भई । बाउ छोराहरू भोलि हुनसक्ने सम्भावित घटनाबारे छलफल गर्न थाले ।

पाण्डव र उसका छोराहरू पुग्दा महावीर सुँगुरहरूलाई समात्दै खोरमा हुलिरहेका थिए । बिरजु नाङ्लो बनाउन बाँस ताछ्दै थियो । उनीहरूले खोर नजिकै महावीरलाई घेरे । बिरजु बाँस ताछ्न छोडेर उनीहरूको गतिविधि हेर्न थाल्यो ।

“रे महावीर, जब बुझ्है छेलही ई तोहर जिमदारीमे नै छलौ, त तु आइग दैला केना चैल गेलही ?”

कुरा पाण्डव आफैंले कोट्यायो । महावीरलाई पनि थाहा थियो । घुरहुले दिएको सम्पत्तिका कारणले यिनीहरू आएका हुन् । नत्र त्यही दिन आउँथे होलान् !

“तोरा मालुम रहौ त आव परै छलौ ने ? वेहा दिन चैल एैता ।”

मुखभरि जवाफ पाएपछि पाण्डव चुप लागेको थियो ।

“ओना नै हो तौ । पंचैती बैठाब तब तोरा मालुम हो तौ ?”

पाण्डवको कान्छो छोराले सन्किदै भन्यो ।

“त एते दिनसे कथि पक्रै छेलही बापके...?”

पञ्चायतीको नाम सुनेर झ्नक्क रिसाएको थियो, महावीर । ऊ त्यसरी बोलेपछि पाण्डवको कान्छो छोराले महावीरलाई धक्का दिएको थियो ।

गफ गरुञ्जेलसम्म बिरजु हेरेर बसेको थियो । धक्का दिएपछि उसले सहन सकेन । दौडँदै आयो र उसको कान्छो छोरालाई धकेलेर परसम्म हुत्याइदियो । त्यसपछि पाण्डवका बाँकी छोराहरू पनि बिरजुमाथि जाइलागे । त्यसरी झ्गडा होला भन्ने कल्पना पाण्डव स्वयंले गरेको थिएन, आवेशमा भयो । न पाण्डव मरिकका कुरा उसका छोराहरूले सुने, न त महावीरका कुरा बिरजुले नै । सबै मिलेर बिरजुलाई कुट्न थालेपछि उसकी आमा फुलिया चिच्याउँदै गाउँ गुहार्न थालिन् ।

बिरजु त्यहाँबाट उम्केर बाँस काट्ने कट्टी लिएर दौड्दै आयो । उसको हातमा कट्टी देखेपछि उसका छोराहरूको भागाभाग भयो । बस पाण्डव त्यहीं रह्यो । ऊ कट्टी लिएर पाण्डवतिरै बढ्यो । नजिक पुगेर कट्टी उज्याउँदै करायो, “भगबे अइजसे कि काइट दियौ तोरो... ।”

उसले त्यति मात्र बोलेको थियो । पाण्डवको ठूलो छोराले इँटा लिएर उसको टाउकोमा पछाडिबाट हिर्काएको थियो । र, बिरजुको मुखबाट कुनै आवाज आएन । ऊ ढल्यो । गर्दनभन्दा माथि र टाउको भन्दा अलि तल जहाँ खप्परको भाग र मेरुदण्ड जोडिन्छ, त्यहीं लागेको थियो उसलाई । फुटेर रगत बग्न थालेपछि महावीर जोडले चिच्याउँदै छोरातिर बढ्यो । पाण्डवको जेठो छोरा आत्तिएर त्यहाँबाट भाग्यो । पाण्डव र अरू छोराहरू भागेनन् ।

“हे महावीर, पहिने एकरा जल्दी असपताल लचल ।”

महावीरको दिमागले काम गर्नै छोडेको थियो । नत्र अस्पतालको कुरा उसले सोचेकै थिए । पाण्डवले नै आफ्ना बाँकी छोराहरूलाई बोक्न लगाएर बिरजुलाई अस्पताल पुर्‍यायो ।

अस्पतालका इन्चार्ज थिए, अहेब रामचन्द्र यादव । उनले उनीहरूलाई परैबाट देखे । इन्चार्जकै निर्देशनमा कम्पाउण्डर जयराम चौधरीले उनीहरूलाई अस्पतालमाथि चढ्न दिएन । अगाडिको चौरमा बस्न भनियो । के भएको भनी सोधपुछ गर्न इन्चार्जले जयरामलाई भन्यो ।

“पछाडी से कपारमे चोट है, हजुर । लगै है खुन बहुते बहल है ।”

जयराम चौधरीले अवस्था बताएपछि उसले केही बेटाडिन, कपास र बाँध्नलाई पट्टी दियो ।

“जो घाउके साफ कैरके पट्टी लगा दिहे ।”

इन्चार्ज रामचन्द्रले अह्रायो । तर, आफू हेर्न समेत गएन । जयरामले बेटाडिनले सफा गर्दागर्दै बिरजुका दाँतहरू कटकटिए ।

“हौ बाऊ, दाँती लगैहै ।”

पाण्डवको छोरा चिच्यायो । जयराम पनि आत्तियो । दौड्दै रामचन्द्र नजिक गयो । “साहेब दाँती लैग गेलै ओकरा । लगैहै मगजमे चोट लागल है ।”

त्यसपछि रामचन्द्र पनि दौड्दै पुग्यो । पाण्डवका छोराहरू दाँत खुलाउन लागिपरेका थिए, सकिरहेका थिएनन् ।

रामचन्द्रले उनीहरूलाई हतारहतार हातको कैंची दियो र दाँतभित्र जबर्जस्ती छिराउन भन्यो । अनि, आँखा खोल्न लगायो । आँखा रगताम्मे जसरी राता भएका थिए । बेहोश बिरजुलाई पल्टाउन लगाएर रामचन्द्रले चोट हेर्‍यो । त्यसबेलासम्म रामचन्द्रले एकपटक पनि बिरजुलाई छोएन ।

“मगजके चोट हौ । अइज नै समर्हतौ । एम्बुलेन्स कैरके धरान लजो ।” यति भनेर रामचन्द्र त्यहाँबाट हिंड्यो । एम्बुलेन्स कहाँ पाइन्छ, कसरी बोलाइन्छ भन्ने पनि बताएन । पाण्डव आफैं जयरामसँग बुझन गयो । जयरामले धमिनी नर्सिङ होममा पाउन सकिन्छ भनेपछि उसले छोरालाई पठायो ।

छोराले आधा घण्टाजति एम्बुलेन्स लिएर आयो, तर ड्राइभरले उनीहरूलाई लैजानै मानेन । त्यसबेलासम्म बिरजुले दुईपटक रगतको बान्ता गर्‍यो । बिरजुकी आमा अस्पताल थर्किने गरी रोइरहेकी थिई । अरू दुई–चार गाउँका डोमहरू भेला भइसकेका थिए । प्रहरीहरू पनि आइसकेका थिए । सबैका अगाडि बिरजुले आफ्नो अन्तिम सास छोड्यो ।

त्यसपछि प्रहरीले पाण्डवसँगै उसका सबै छोराहरूलाई समातेर लग्यो । सबै घटना थाहा पाएपछि माइजन पाण्डव र बिसनाथलाई भेट्न गयो । उसैले थानामा प्रहरीको सईलाई यो यिनीहरूको निजी जातिगत मामिला हो भनेर मनायो । त्यहाँको सामाजिक संरचनाको पाठ पढायो । पाण्डवलाई भनेर पैसा समेत दिन लगाएर कुरा सल्टायो । त्यसपछि पाण्डव र उसका छोराहरू निस्केका थिए ।

“काका पंचैती शुरू होव लगलै । सब कोई चैल आइल है । सब तोरे पैरा तकै ह ।” महावीर असोरामै अडेस लागेर निदाएको थियो । शायद सपना पनि बिरजुकै देखेको थियो होला । भतिजको आवाज सुनेपछि झ्स्केको थियो ऊ । फेरि उसलाई देखेर आफैं उसको आँखाबाट आँसु झ्र्न थाले ।

“बेटा त खैलकै हमर । कहिय, हमरो सबके खाजो ।”

फुलिया जागेकै थिई । शायद पाण्डव मरिकका छोराहरू बोलाउन आएको आभास उसलाई भएको थियो । डाँको छोड्दै चिच्याउन थाली । महावीरले रुन्चे आँखाले फुलियातिर हेर्‍यो । त्यसपछि गम्छालाई झ्ट्कार्दै त्यसमा लागेको धूलो टक्टकाउँदै काँधमा हाल्यो र भतिजको पछि लाग्यो । घरभन्दा अलि पर पाण्डवको एउटा छोरा थियो ।

उनीहरू त्यहाँ पुग्दा मानिसहरू भेला भइसकेका थिए । मल्हानको पत्तामा सबैले मासु–चिउरा खाइरहेका थिए । सबै आ–आफ्ना गिलासमा रक्सी पनि राखिरहेका थिए । कोही मात्न समेत लागेका थिए । महावीर आएपछि एकपटक सबै रोकिए । माइजन आफैं उठेर आयो र महावीरको हात समात्दै आफ्नो अगाडि बसायो । पाण्डवको एउटा छोराले पातमा मासु लिएर आयो । महावीर झ्न् भक्कानिएर रुन थाल्यो ।

पञ्चायती शुरू भयो । घटनाको बेलिबिस्तार पाण्डवले गर्‍यो । इँटाले प्रहार गर्ने उसका जेठा छोरालाई अगाडि उभ्याइयो । त्यसपछि घटनाको विषयमा महावीरसँग पनि सोधियो । ऊ बोल्न सक्ने अवस्थामै थिएन । न उसले अगाडि पाण्डवले के बोल्यो भनेर सुनेको थियो । ऊ बस उपस्थिति जनाउन मात्र आएको थियो ।

“महावीर भाइ यते कोई आयल है । किछो त कही ।”

माइजनले फेरि जोड गर्‍यो ।

“हमर जवान बेटा मैर गेलै । हम कथि कहु ?”

त्यसपछि फेरि कसैले उसलाई सोधेन । वातावरण निकै बोझ्लि भएको थियो ।

“अइज उपस्थित सभे कोई अपने पंच छियै । घटना सबके मालुमे छियै । आव अई विषयमे केक्रो फरक विचार ह्या त कहल जाऊ । मुदा ई घटनाके कारण सब हमरे अहाँ भितर छियै । आ एकर फैसला हमही अहाँ सबके कर परत... ।”

पञ्चायती धेरै लम्ब्याउन ठीक थिएन । सबै कुरा लगभग तय थियो । पाण्डव र उसका छोराहरूको नियत बिरजुको हत्या गर्ने थिएन । फेरि अर्काको जिमदारीमा गएर काम गर्ने गल्ती महावीरकै थियो । तर, नहुनुपर्ने घटना भएको थियो । सबैले यो घटनाबाट पाठ सिक्नुपर्ने भन्दै माइजनले पञ्चायती टुंग्याएको थियो । अन्तमा कसैलाई केही भन्नु छ भनेर सोधेको पनि थियो । कसैले केही बोलेन । सबैले माइजनको कुरामा सहमति जनाएका थिए ।

त्यसपछि बिस्तारै मानिसहरू हिंड्न थाले । महावीरको भतिजले फेरि उसलाई कोट्याएपछि ऊ फेरि झ्स्क्यो ।

“पञ्चायती सइठ गेलौ नै ?”

महावीरले भतिजसँग सोध्यो । ऊ बोलेन । केवल टाउको मात्र हल्लायो । महावीर उठ्न खोज्दा लड्खडायो । भतिजले उसलाई सम्हाल्यो । उसले गम्छालाई टक्टकायो । र, काँधमा राखेर हिंड्यो । माइजन र पाण्डव त्यहीं थिए । कसैलाई सोधेन । सबै अपराधीले झैं उसलाई हेरिरहे ।

याे पनि पढ्नुहाेस्

कथा: मनमाया - - दुर्गा कार्की

कथा: उर्दी - उमा सुवेदी

कथा: पतर्कीहरु - राजव

 

प्रतिकृया दिनुहोस