कला/साहित्यआइतवार, कार्तिक ४, २०७५

पतर्कीहरू

कथा

हिमालखबर

- राजव

पतर्कीको बनोट नै त्यस्तै थियो– दुब्ली, ख्याउटी, हाडछालाले मात्र बेरिएकी सिम्किनो जस्ती । त्यसकारण उसका बाउआमा, गाउँलेहरू, साथीहरू, छिमेकीहरू मिलेर उसको नाम पतर्की राखिदिए । यी सबले पतर्की भन्न थालेपछि उसको नाम पतर्कीको पतर्की रह्यो । 

औपचारिक रूपमा पहिलो पटक ऊसँग उसको नाम सोध्ने स्कूलको बूढो मास्टर हरदेव नारायण थियो । ऊ हरदेव नारायणको जुँगा, टुप्पी, भुँडे जीउडालदेखि आतंकित थिई । स्कूल गएको पहिलो दिन हरदेवले ‘काहरे बेबी तोहर नाम ?” भनेर सोध्दा उसको मुख खुल्न सकेको थिएन । त्यसपछि हरदेवले आफ्नो माथिल्लो ओठ छपक्कै ढाकिरहेका फुलेका लामा जुँगा हल्लाउँदै सोधेको थियो, “बहिरी हउव का ?” यस पटक पनि उसले मुख नखोली लजाउँदै नकारको मुन्टो मात्र हल्लाएकी थिई ।

मास्टर बूढोले फेरि उसलाई कोट्याएको थियो, “गूँगी हउव का ?” यसपटक पनि उसले नकारको मुन्टो मात्र हल्लाएकी थिई ।

हरदेवलाई हाजिरकापीमा पतर्कीको नाम उसकै मुखबाट सुनेर लेख्नु थियो । त्यसकारण झ्न् कडाइका साथ हरदेवले ऊसँग सोधेको थियो, “बहिरी, गूँगी ना हउबु त बोल्बु काहे ना ? बताव का नाम ह तोहर ?”

पतर्कीको सट्टा बीचैमा अर्को भुरो फ्याट बोल्यो, “पतर्की ।”

यो भुरोको स्वर सुन्नासाथ हरदेवको मुद्रा क्रोधले एकाएक रन्केको थियो । ऊ भुरोतिर हेर्दै कड्किएको थियो, “जुता मारीं का ?”

भुरो डरले काम्दै बोलेको थियो, “गल्ती हो गैल मास्टरजी ।”

यसपछि मास्टर बूढो फेरि पतर्कीतिर फर्किएको थियो, “हाँ त का नाम ह तोहर ?”

बल्ल उसले बिस्तारै मुख खोलेकी थिई, “पतर्की ।”

यसको वर्षौंपछि कसैलाई फेरि उसले आफ्नो नाम भन्नुपरेको थियो । त्यस बेला उसको गाउँमा नागरिकता टोली आएको थियो । त्यही टोलीको एक खरिदारले ऊसँग सोधेको थियो, “ए बूढिया का नाम ह तोहर ?”

यस पटक पनि ऊ लजाएर बोलेकी थिइनँ । ऊसँगै उसको छोरो लाखन कोइरी थियो । आमाले मुख नखोलेको देखेपछि जवाफ उसैले दिएको थियो, “पतर्की ।”

बूढो मास्टर झ्ैं खरिदार पनि एकाएक क्रूद्ध भएको थियो । क्रोधको तातो दृष्टिले हेर्दै खरिदारले उसको छोरोलाई झ्पारेको थियो, “तोहरा से पुछ्ले बानी का ?” डरले गल्दै लाखनले भनेको थियो, “ना हजुर ।”

क्रूद्ध मुद्रामै खरिदारले ऊतिर प्रश्नवाचकमा शब्द दागेको थियो, “तब ?”

त्यसपछि खरिदार फेरि पतर्कीतिर फर्किएको थियो । “हाँ त का नाम ह तोहर ?”

वरिपरि गाउँलेको भीड थियो । सब आ–आफ्नो पालो पर्खिरहेका थिए । बोल्नैपर्ने वातावरण देखेपछि उसको मुख लजाउँदै खुलेको थियो, “पतर्की हजुर ।”

खरिदार फेरि कड्किए, “पतर्की का ?”

प्रश्न नबुझ्ेर ऊ भीड र छोरोतिर टोलाएकी थिई । भीडमध्येकै कसैले उसलाई सुझएको थियो, “अपन जात बताव जात ।”

त्यसपछि उसले आफ्नो जात भनेकी थिई, “कोइरी ।”

यो सुनेपछि खरिदारले नागरिकता फारममा उसको नाम पतर्की ‘कोइरिन’ लेखिदियो । कुनै सरकारी कागजातमा उसको नाम लेखिएको त्यो पहिलो घटना थियो ।

दोस्रो पटक उसको नाम पतर्की कोइरिन थानामा लेखियो । रजिष्टर पसारेर बसेको थानाको हबल्दारले उसलाई सोधेको थियो, “का नाम ह तोहर ?”

ऊ बोल्न सक्ने अवस्थामा थिइनँ । उसका मुटु–कलेजो कामिरहेका थिए । हबल्दार फेरि कड्किएको थियो, “ए बता न का नाम ह तोहर ?”

उसको हातमा हत्कडी लागेका थिए । उसको मुख बोली फुट्न सक्ने स्थितिमा थिएन । त्रासले उसको मुख रसाउन बन्द भएको थियो । यत्तिकैमा हबल्दार अश्लील वाक्यमा अझ् जोडले कड्किएको थियो, “गाँड मे हुँक दिं आ बोल्बु ?”

छेउमा उभिइरहेको सिपाही उसको अवस्था घुरिरहेको थियो । ऊ पनि कड्किएको थियो, “मरल काहे जाताडु बताव साब के, का नाम ह तोहर ।”

अनि बोल्न उसका ओठ काम्दै बिस्तारै फाट्टिएका थिए, “पतर्की हजुर ।”

हबल्दारले उसलाई समातेर ल्याउने छेउको सिपाहीतिर हेर्‍यो । हबल्दारको हेराइ बुझेर उसले भनेको थियो, “कोइरिन ह हजुर ।”

त्यसपछि हबल्दारले रजिष्टरमा उसको नाम लेख्यो– पतर्की कोइरिन । उमेरको खण्डमा लेख्न हबल्दार सिपाहीतिर फक्र्यो । सोध्यो, “उमेर ?”

सिपाहीले फेरि पतर्कीलाई सुझयो, “अपन उमेर बताव उमेर ।”

पतर्कीको सुकेको स्वर बाहिर आयो, “मालुम नैखे हजुर ।”

“५० लिख दिं न हजुर, ५० ।” सिपाहीले सुझयो । हबल्दार फेरि रजिष्टरमा घोप्टियो । र, ५० लेख्यो । ठेगानामा फतेपुर गाउँ, कोइरी टोला लेख्यो । र, सिपाहीलाई आदेश दिंदै कड्क्यो, “अपराधीलाई सेल्टर दिएको परिणाम थाहा हुन्छ राँडलाई अब । लैजाभित्र ।”

आदेश पाएको सिपाही हीरालाल कुर्मीले उसलाई भन्यो, “चल भितर ।”

उसका गोडा भयले कामिरहेका थिए ।

सिपाही हीरालालले उसलाई थानाको केरकार कोठाभित्र धकेलेको थियो । भित्र उसलाई हत्कडीमै सिमेन्टको भुइँमा बसालिएको थियो । ऊ भयानक आतंकमा थिई । पुलिसहरू ऊसँग कमरेड रामविनोद र सहदेव मिश्रका बारेमा सोधिरहेका थिए ।

उसलाई कमरेड रामविनोद कहाँको हो, को हो, कमरेड भनेको के हो, जनयुद्ध के हो, कम्युनिष्ट कस्ता हुन्छन् भन्ने आदि केही थाहा थिएन । पुलिसहरू उसलाई यस्तै पटक्कै थाहा नभएको कुरा सोधिरहेका थिए । उसलाई सिर्फ सहदेव मिश्रबारे थाहा थियो । जो उसको गाउँ फतेपुरको थियो । पण्डित टोलाको लाखन मिश्रको छोरो थियो, सहदेव मिश्र । सहदेव मिश्रले उसलाई काकी भन्थ्यो । र, उसको लोग्ने चलित्तरलाई, काका । विशेषतः सहदेव मिश्र उसको छोरोको संघतिया (साथी) थियो । त्यसकारण पतर्कीको छोरोलाई सहदेव मिश्र ‘यार’ भन्थ्यो । उसको छोरो पनि सहदेव मिश्रलाई यारजी भन्थ्यो । उसले पुलिसलाई यस्तै भनेकी थिई । यो सब सुनेपछि पुलिस कड्किएको थियो, “त्यसो भए त्यरो छोरो पनि भूमिगत कमरेड हैन त ?”

“ना हजुर ।”

“अनि ख्वै त त्यरो छोरो ?”

“कमाए गैलबा हजुर ।”

“काँ कमाए गैलबा ? कमरेडहरूसँग बैंक लुट्न ? कि बम पड्काउन ?”

“ना हजुर पन्जाब गैलबा ।”

“लोग्ने नि लोग्ने ?”

“उहो गैल बाडन पन्जाब हजुर, हमनी बहुत गरीब बानिस हजुर ।”

हिउँदे बाली भिœयाउने समय थियो । यो बेला भारतको बिहार र नेपालका मधेश क्षेत्रका निर्धन कृषि मजदूरहरू भारतको पन्जाबमा खेत मजदूरीका लागि जाने गर्थे । पतर्कीको लोग्ने, छोरो पनि त्यस्तै ज्याला मजदूरी गर्न पन्जाबको अम्बाला क्षेत्रको गाउँ गएका थिए । ऊ पनि गाउँका खेतीवालहरूको रोपनी, कटनी, गोड्नी, केलाइकुलाई लगायत काम गर्थी । पतर्कीले आफू, छोरो, लोग्ने र सहदेवबारे यस्तै भनेकी थिई ।

तर, पतर्कीले रामविनोदबारे पुलिसले खोजेको खास केही कुरो भन्न सकेकी थिइनँ । वास्तवमा अनुहारको झ्झ्ल्को बाहेक उसलाई रामविनोदबारे फुट्टी केही थाहा थिएन ।

गाउँमा पतर्कीको एकेक कोठाका दुई फुसका घर थिए । एउटा बाटोतिर मुख गरेको र अर्को ठीक त्यसको पछाडि । ती दुई घरको बीचमा सानो असोरा थियो । बाटोतिर फर्किएको घरअगाडि थियो, उसको आँगन । रातको ११ बजेको हुँदो हो, ऊ आफ्नू आँगनको घुर ताप्दै थिई । ऊसँगै दुई कुकुर घुरको रापतिर टाउको जोतेर निदाइरहेका थिए ।

रातको ११ बजेको हुँदो हो । सहदेव मिश्र चोरको चालले पतर्की छेउ लुसुक्क बस्न आइपुगेको थियो । र, घुम्टोले छोपिएको उसको देब्रे कानमा पर्ने गरी भन्दै थियो, “एतना देर तक घुर मे बाडु, सब ठीक बानु काकी ?”

सहदेवलाई पतर्की बिउँझ्ै होली भन्ने लागेको थियो । तर, पतर्कीका आँखा मस्त लोलाएका थिए । उसले आफूछेउ बस्न आएको सहदेव मिश्रको चाल पाएकी थिइनँ । सहदेवको स्वर कानमा पर्नासाथ ऊ झ्स्केकी थिई । ऊसँगै दुवै कुकुर पनि झ्स्केर जर्‍याकजुरुक उठ्दै भुक्न थालेका थिए ।

पतर्की झ्स्केको देखेर सहदेवले सोधेको थियो, “निदाइल रहलु का ?”

“ना तन्की झ्प्की लागल रहे बौवा ।”

“अकेले बाडु, काका नैखन का ?”

“दुनो बाप, बेटा कमाए पन्जाव गैल बाडन स ।”

कुकुर अझै भुकिरहेका थिए । पतर्कीले हपारेपछि ती फेरि घुरतिर पल्टिएर चूप लागेका थिए ।

पतर्कीको लोग्ने र छोरो सँगै गाउँका अरू पनि कमाउन पन्जाब गएका थिए । यो कुरो सहदेवलाई थाहा थियो । तैपनि घरमा ऊ एक्ली हो हैन भन्ने बुझन यताउता चियाउँदै, सुँघ्दै सहदेवले तीबारे सोधेको थियो । पतर्कीको जवाफले घरको भित्र–बाहिर कुकुरबाहेक अरूको उपस्थिति नभएको बुझेपछि सहदेव मिश्र ढुक्क भएको थियो । उसले पतर्कीलाई खासखुस केही भन्यो, उसको कुरो मान्न पतर्की बाध्य भएकी थिई । अनकनाउँदै उसले भनेकी थिई, “अच्छा बौवा कुछो ना होइत ले आव ।”

“कुछो ना होई काकी, डर के कोही बात नैखे, दुहे रात के त बात ह ।”

“अच्छा देख्लिह बौवा ।”

“अरे ! हम बानी नु काकी, केकरो पत्ता नालागी ।”

पतर्कीलाई यसरी आश्वस्त पारेपछि सहदेव चौतरिया राम नरेशको ११ बिघाको बगैंचातिर लस्केको थियो । आँप, लिची, कटहर, जामुनका रूखहरूले भरिएको थियो, राम नरेशको बगैंचा । रातको समय लुकाउन सजिलो हुनाले रामविनोदलाई त्यही बगैंचाको बूढो आँपको रूखमुनि राखेर ऊ पतर्कीलाई भेट्न आएको थियो ।

सहदेव फर्किंदा रामविनोद रूखको फेदमा अडेसिएर उँघ्न थालेको थियो । उसले रामविनोदको कुम छोएर भनेको थियो, “निदाउनुभयो कि क्या हो कमरेड ? उठौं ।” “झ्प्की लागेछ” भन्दै रामविनोद उठेको थियो ।

रामविनोदलाई लिएर बगैंचाबाट निस्कँदै सहदेवले भनेको थियो, “ठाउँ त ज्याला, मजदूरी गरेर खाने हाम्रै जानाजुटीको दुःखी घर हो, तर सुरक्षाको दृष्टिले ठीक छ, कसैले शंका गर्न सक्दैन ।”

“केही छैन, सुरक्षित हुनुपर्छ ।”

“त्यसमा त ढुक्क भए हुन्छ कमरेड ।”

गाउँ पूरै निदाइसकेको थियो । ढिलोसम्म घुरमा बस्ने बूढाखाडाहरू पनि घरभित्र घुस्रिसकेका थिए । तैपनि कसैले चियो पाउँछ कि भन्ने डर उनीहरूलाई थियो । पतर्कीको घुरछेउ तिनै दुई कुकुर पूर्ववत् गुडिल्किएका थिए । मानिसको पदचाप कानमा पर्नेबित्तिकै जुर्मुराउँदै उठेका ती कुकुर जोडले भुक्न थालेका थिए । भुइँबाट केही टिपेर हिर्काउन खोज्दै सहदेवले तिनलाई झ्पारेको थियो, “अबे चूप ।” सहदेवको हप्काइले दुवै ख्याउटे कुकुर चूप लागेका थिए ।

योजना मुताबिक पतर्की ढोका लगाएर घरभित्र पसिसकेकी थिई । घरको ढोका भित्रपट्टिको फलामको छेस्किनीबाहेक सम्पूर्ण बाँसको फ्रेम र कप्टेरोले बनाएको खापा थियो । पतर्की धुस्नोमा पुरानो जीर्ण कम्मल ओढेर पल्टिरहेकी थिई । सहदेव रामविनोदलाई लिएर ढोका बाहिर आइसकेको थियो । कुकुरहरू भुकेको सुनेपछि नै उसले ती आइपुगे भन्ने चाल पाएकी थिई । ढोका हल्लाउँदै सहदेवले हल्का स्वरमा पतर्कीलाई डाकेको थियो, “सोगैलु का काकी ?”

“ना बौवा जग्ले बानी ।” भन्दै पतर्की धुस्नोबाट उठेर ढोकातिर बढेकी थिई । उसले छेस्किनी झरेर ढोका खोली । कोठाभित्र अँधेरोबाहेक केही देखिंदैनथ्यो । सहदेवले पतर्कीसँग सतर्क हुँदै सोधेको थियो, “भितर और केहु बा का ?” “ना बौवा ।”

पतर्कीको “ना बौवा ।” जवाफ सुनेपछि सहदेव र रामविनोद ढुक्कले भित्र पसेका थिए । भित्र कोठाको देब्रे कुनामा धुस्नोको थुप्रो थियो । त्यसैमा पल्टिएकी थिई, पतर्की । निस्पट्ट अँध्यारोका कारण तिनका आँखा त्यता पुगेका थिएनन् । रामविनोद कमरेडलाई कहीं ठेस लाग्ला कि भन्नेमा सचेत थियो, सहदेव । त्यसकारण रामविनोद कमरेडलाई स्कर्टिङ गर्दै सहदेवले पतर्कीसँग टुकी बाल्न भनेको थियो, “ढिब्री जलाव न काकी ।” “माटीके तेल ओरागैल बा बौवा, जब से दुनो बाप बेटा कमाए पन्जाब गैल तब से घर मे ढिब्री जलल नैखे बौवा ।”

उनीहरू पसेको त्यो कोठाबाट असोरामा निस्कने अर्को ढोका थियो । टुकीबारे त्यस्तो जवाफ दिंदै पतर्कीले तिनलाई त्यही ढोकाबाट असोरा पारिको अर्को त्यस्तै एककोठे घरभित्र लगेकी थिई । त्यसको पनि देब्रे कुनामा धुस्नो ओछ्याइएको थियो । त्यसैमा सुत्न संकेत गर्दै पतर्कीले तिनलाई भनेकी थिई, “उ कोना के पुवाल मे सोही स ।” सहदेव धुस्नो छामछाम छुमछुम गर्न लाग्यो । खोजेको कुरो हातको स्पर्शमा नआएपछि सहदेवले पतर्कीसँग सोधेको थियो, “कम्मल नैखे का काकी ?”

“नैखे नु बौवा ।”

पतर्कीको जवाफले झ्स्कँदै सहदेवले भनेको थियो, “तब त जाडा के मारे यी सोए ना सकिहन, जोगाड लगाव न काकी ।”

सहदेवको कुरो सुनेर पतर्कीले भनेकी थिई, “हैलेहीं नैखे त जोगाड कहाँ से लगाईं बौवा ? बल्की अपना घर से ले आवना ।”

सहदेवले पतर्कीलाई डर देखाउँदै भनेको थियो, “घर जा के लेआएम त पुछताछ होई आ पक्डा जाएम स काकी ।”

सहदेवको जवाफ सुनेर “अच्छा त रह बौवा” भन्दै पतर्की आफू सुत्ने घरको कोठामा गएकी थिई । र, आफूले ओढ्ने गरेको जीर्ण कम्मल ल्याएर दिएकी थिई । कमरेड रामविनोद त्यही ओढेर धुस्नोमा पल्टिएको थियो ।

यसपछि कमरेड रामविनोदको कानमा केही फुसफुसाएर सहदेव आफ्नो घर लागेको थियो । भोलिपल्ट रात शुरू भएपछि घरघरका आँगनमा घुरहरू बल्न थालेका थिए । फाँटका उखुका खेतहरूमा पसेका स्यालहरूको हुइँøया चलिरहेको थियो । आफ्नो आँगन बढारेर पतर्कीले घुर बालिसकेकी थिई । सहदेव चियो गर्दै आइपुगेको थियो । त्यसबेला ऊ घुरमा हात सेक्दै थिई । ऊसँगै घुरको दाहिनेपट्टि टुक्रुक्क बस्दै सहदेवले उसलाई सोधेको थियो, “सब ठीक बानु नि काकी ?”

“हाँ बौवा ।”

“आ ऊ ?”

“भितरे होइअन ।”

“कुछ खिवौले, पिऔले बाडु कि भुख्ले बाड्न ?”

“घर आइल पहुना के कोही भुखे रखी का ?”

“तब ?”

“दोपहरिया मे मडुवा (कोदो) के रोटी आ भान्टा के चोखा बनौले रहनी, दुगो रोटी आ चोखा आ पानी के लोटा लेजाके देले रहनी हँ, उहे खैले, पिएले होइएन ।”

“अब का खियैबु ?”

“उनका बखरा रोटी आ चोखा बचा के रखल बानी ।”

पतर्कीबाट यत्ति बुझेपछि ऊ सतर्कतापूर्वक रामविनोदको कोठाभित्र पसेको थियो । सहदेवको काँधमा कपडाको मखैलो झेला झुन्डिएको थियो । त्यसभित्र दुधिया दारुको फुल बोतल सहित भुजा, खसीको सेकुवा, खुर्सानी, प्याजका टुक्राटाक्री राखेको अखबारी कागजका अलग अलग पोका थिए ।

“लाल सलाम कमरेड !” ढोकाबाट भित्र अँध्यारोमा चियाउँदै सहदेवले भनेको थियो । “सलाम कमरेड ! सलाम !”

भित्र धुस्नोमा रामविनोदको छेउ बस्दै सहदेवले सोधेको थियो, “यस्तोमा कष्ट भयो होला कमरेडलाई ?”

“क्रान्तिमा हिंडेपछि यस्तै हो कमरेड ।”

“मैले अर्को सुविधाको सुरक्षित सेल्टर पाएको छु, त्यहाँ खाने, सुत्ने व्यवस्था राम्रो छ, कमरेडलाई त्यहाँ यस्तो कष्ट हुँदैन, तर त्यहाँ यो चाहिं हुँदैन ।” भन्दै लाइट बालेर सहदेवले झेलाबाट दुधियाको बोतल निकाल्यो ।

दुवैले एक घण्टा लगाएर दुधियाको बोतल रित्याए ।

त्यतिपछि सहदेव बाहिर निस्क्यो । पतर्की उँघ्दै थिई । ऊ पतर्कीसँगै टाँसिएर बस्यो । सहदेवको पिंडौलो आफ्नो पिंडौलोसँग ठोक्किनेबित्तिकै ऊ झ्स्किएकी थिई । सहदेवले उसको कानमा आफ्नो योजना फुसफुसायो । र, त्यही मुताविक फेरि घरभित्र पस्यो । उसले पतर्कीको कानमा फुसफुसाउँदै भनेको थियो, “हामी पछाडि घरको बारी, खेत हुँदै कुनै पनि बेला निस्कन्छौं ।”

उनीहरूले मध्य रात ढल्किने बेलामा त्यसै गरे । पछाडिको बारी, गहुँ खेत, उखु खेत हुँदै बेपत्ता भए ।

ती कहाँ गए उसलाई केही पत्तो थिएन । तर, पुलिस उसलाई यही सोधिरहेका थिए । र, जवाफमा ऊ भनिरहेकी थिई, “का जाने हजुर कहाँ गैल लोग ।”

“साले रन्डी थाहा छैन भन्छेस् ? तँलाई थाहा नभए कसलाई हुन्छ ?” भन्दै पुलिसहरूले उसलाई नंग्याएर लडाए । र, बलेको सलाईको काँटी उसको नांगो पेटमा खसाल्न थाले । त्यसको पोलाइको तोड सहन नसकेर ऊ बेतोडले चिच्याइरहेकी थिई । पुलिसहरू उसको पेटमा एकपछि अर्को बलेको सलाईका काँटी झर्दै भनिरहेका थिए, “बल्ल देखिस् डाँकालाई बास देको नतिजा, अझ् तीसँग सुतिस् पनि कि ?”

पीडाले चिच्याइरहेकी ऊ अश्लील आरोपको प्रतिरोधमा भनिरहेकी थिई, “ना हजुर ।” “के ना हजुर नि, झेस् त्याँ पनि ।”

सलाई काँटी कोर्दै उसको पेटमा खसालिरहेको सिपाहीले इन्स्पेक्टरको आदेश सुनेर उसको यौनांगमा पनि काँटी खसाल्यो । ऊ पीडाले थाना थर्किने गरी चिच्याएकी थिई । उसका खुट्टाका औंला दागिएका थिए । उसका दूधका मुन्टा डामिएका थिए । उसको कान पोलिएको थियो । सहँदै, चिच्याउँदै ऊ बेहोस भएकी थिई ।

पुलिसहरूले उसलाई इन्तु न चिन्तुको अवस्थामा जिल्ला अस्पतालमा ल्याएर छाडेका थिए ।

पन्जाबबाट फर्केपछि उसको लोग्ने र छोरो दुवै व्याकुल बने । पतर्कीलाई खोज्ने क्रममा ती मठ–मन्दिर, बजार, मजार, मस्जिद, थाना, अस्पताल अनेक ठाउँ पुगे । तर, तिनीहरूको आँखामा पतर्की कहीं पनि परिनँ ।

यो कुरो धेरै वर्ष पुरानो भइसकेको छ । अहिले पनि पतर्कीका लोग्ने र छोरो कमाउन पन्जाब जाँदैछन् ।

पतर्कीको हाडखोर कुन कुनामा छ, तिनलाई थाहा छैन । कविहरू भन्छन्, “पतर्कीहरू देशभरि सयौं छन् ।”

प्रतिकृया दिनुहोस