कला/साहित्यशनिवार, कार्तिक ३, २०७५

उर्दी

कथा

हिमालखबर

 

- उमा सुवेदी

पटकपटक ऊ यसै भन्थ्यो। हुन त यी भन्ने कुरा थिए। एक–अर्का विना नबाँच्ने जस्ता कुरा भावनामा बहकिएको बेला भन्दा र सुन्दा आनन्द लाग्ने हुन्। अपवादबाहेक आजसम्म कुनै लोग्ने आफ्नी स्वास्नीका लागि मरेको छैन। अपवादबाहेक कुनै स्वास्नी पनि आफ्नो लोग्नेका लागि मरेकी छैन। मर्नु पनि हुन्न। बरु बाँकी जिन्दगी एकअर्काको यादमा बिताउनु ठीक हुन्छ।

तर, म विना बाँच्न नसक्ने उसको कुराले म खुशी हुन्थें। मैले पनि त्यस्तै कुनै वाक्य भन्दिन्थें, ऊ उस्तै खुशी हुन्थ्यो।

उसको परिवारका तर्फबाट बिहेको प्रस्ताव आयो, अस्वीकार गर्नुपर्ने मैले कुनै कारण देखिनँ। ऊ एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गथ्र्यो। जिल्लामा सम्मानित थियो। आर्थिक हैसियत पनि बलियो थियो। पत्रपत्रिकामा उसका लेखहरू आइरहन्थे। बिहेको कुरो चलेपछि मैले उसका लेखहरू खोजीखोजी पढ्न थालें। ऊ विशेष गरी महिला अधिकार र महिला हिंसा विरुद्ध लेख्थ्यो।

प्रस्ताव आएको केही दिनमै हाम्रो ‘इन्गेजमेन्ट’ भयो। हामीले एक–अर्कालाई औंठी लगाइदियौं। त्यसको लगभग तीन महीनापछि हाम्रो बिहेको तिथि परेको थियो। इन्गेजमेन्ट पछिका दिनमा हामी प्रेमी–प्रेमिका जस्ता भयौं। डेटिङ जान थाल्यौं। रेस्टुरेन्ट र शपिङमा भेटिन थाल्यौं। हामीले यो तीन महीनाको प्रत्येक पलको सदुपयोग गरिरहेका थियौं।

“यो एकअर्कालाई बुझने र बुझउने समय हो” ऊ यसै भन्थ्यो। उसका सबै कुरा समझ्दारीपूर्ण हुन्थे। अध्ययन, अनुभव र उमेरले ऊ मभन्दा परिपक्व थियो। “हामीले प्रत्येक पल एक–अर्कालाई सम्झ्रिहनुपर्छ। प्रत्येक पल एक–अर्काको केयर गरिरहनुपर्छ। यसले हामीबीचको प्रेम र सम्बन्धलाई अझ् मजबूत बनाउँछ।” कति राम्रो विचार उसको !

त्यो तीन महीना मेरा लागि स्वप्निल समय थियो। आनन्द र उन्मादको समय थियो। कल्पनामा हराउने र विपनामा मुग्ध हुने समय थियो। सपना देख्ने र अनिंदो बस्ने समय थियो।

मेरा बुवाआमा गाउँमै बस्नुहुन्थ्यो। म भने पढ्नका लागि शहरमा बसेकी थिएँ। केही महीना अघिसम्म मेरो भाइ पनि मसँगै थियो। तर, उच्च शिक्षाका लागि ऊ अष्ट्रेलिया गएपछि म डेरामा एक्लै भएँ। घरबेटीहरू आफन्त जस्तै भइसकेका थिए। त्यसैले एक्लै बस्न मलाई अप्ठेरो थिएन। मेरो डेरा शहरको मुख्य बस्तीबाट अलिक एकान्तमा पथ्र्यो। त्यसैले कतैबाट फर्किंदा अबेर भयो भने मलाई अलिअलि डर लाग्थ्यो। पत्रपत्रिकामा दैनिकजसो बलात्कारका समाचारहरू आइरहन्थे। त्यसले पनि डर बढाउँथ्यो। घरको कम्पाउन्डभित्र छिरेपछि मात्र म ढुक्क हुन्थें।

“यो ढुक्क भएर बस्ने समय होइन डार्लिङ” यसो भन्दै एकदिन उसले मेरो डेराको कोठामा सीसीटीभी जडान गरिदियो। मेरो र उसको मोबाइलमै सीसीटीभीका फुटेजहरू हेर्न मिल्थ्यो। त्यसपछि म झ्न् ढुक्क भएँ। खुशीले गद्गद् भएँ। सोचें, कोही त छ यो शहरमा मेरो यति धेरै ख्याल गर्ने।

हो, उसले असाध्यै ख्याल राख्थ्यो मेरो। ऊ मेरो साथी र अभिभावक जस्तै थियो। मेरा अरू साथीहरू पनि थिए। मेरो विवाहको कुराले उनीहरूलाई उत्साहित बनाएको थियो।

‘बिहेपछि तँसित भनेको समयमा भेट नहोला। त्यसैले बिहेअघि केही समय हामीलाई पनि दे ल !’ यसो भन्दै जिस्क्याउँथे। उनीहरूले मलाई बेलाबेला रेस्टुरेन्टमा बोलाउँथे।

“आज साथीहरूले मलाई पार्टी दिने रे, साँझ् ५ बजे। हिलटप रेस्टुरेन्टमा।” म उसलाई फोनमा जानकारी दिन्थें। ऊ खुशी हुन्थ्यो। ऊ साथीहरूसितको यस्तो भेटघाटमा कुनै हस्तक्षेप गर्दैनथ्यो। ऊ यस्तो बेला पनि आफ्नो प्रेम प्रकट गर्ने अवसर गुमाउँदैनथ्यो। जब म साथीहरूसित रेस्टुरेन्टमा हुन्थें, ऊ मलाई थाहै नदिई त्यहीं कुनै कुनामा बसेर नियालिरहन्थ्यो। मैले साथीहरूसित गरेका एक–एक कुरा उसले राति फोन गरेर सुनाउँथ्यो, मलाई छक्कै पाथ्र्यो। म कसरी हाँसें, कसरी बोलें, मैले के के खाएँ र कसरी खाएँ, उसलाई सबै थाहा हुन्थ्यो। कति केअर गर्छ ऊ मेरो भनेर म भुइँमा न भाँडामा हुन्थें।

कुनै दिन कुनै साथीसित कतै शपिङमा जानुपर्‍यो भने पनि म उसलाई जानकारी दिन्थें। ऊ त्यहाँ पनि थाहै नदिई आइसकेको हुन्थ्यो। मैले के किनें, कुन लुगा छानें, स्टोरको कुन चाहिं चेन्जिङ रुमभित्र पसेर लुगा लगाएर हेरें इत्यादि राति फोनमा बेलिबिस्तार लगाउँथ्यो। म छक्क पर्थें। यस्तो बेला म उसलाई कतै देख्दिनथें। मानौं, ऊ हावा बनेर, घाम बनेर या मेरै छाया भएर वरिपरि सलबलाइरहेको हुन्थ्यो। यो आभास मात्रले मलाई रोमाञ्चित बनाउँथ्यो।

कहिलेकाहीं ऊ मलाई थाहै नदिई मेरो डेरा अगाडिको सडकमा राति घन्टौं कोठातिर हेरेर बसिरहन्थ्यो। मैले कतिखेर बत्ती बालें, कति खेर निभाएँ, उसलाई पूरै थाहा हुन्थ्यो।

“हामीबीच अब केही गोप्य रहनुहुँदैन।”

ऊ यसै भन्थ्यो। म सहमत हुन्थें। जोसित जीवन बिताउनु छ, त्योसित के गोप्यता ! हो, हामीबीच अब कुनै गोप्यता बाँकी थिएन। उसलाई मेरो लुगा र जुत्ताको साइज थाहा थियो। मैले कुन ब्राण्डको नेलपलिस र लिपिस्टिक प्रयोग गर्छु भन्ने पनि थाहा थियो। उसलाई त मेरो फेसबुक र भाइबरको पासवर्ड समेत थाहा थियो। कहिलेकाहीं उसलाई रिप्लाई गर्न ढिला हुँदा ऊ फोन गरिहाल्थ्यो र सोध्थ्यो, “तिमी कुनै अप्ठेरो स्थितिमा पर्यौं कि भनेर फोन गरेको। समय खराब छ प्रिया !”

मेरो समय खराब थिएन। किनभने, मेरो हरेक समयमा ऊ साथमै थियो। भेटै नहुँदा पनि म कहाँ छु, कोसित छु र के गर्दैछु भन्ने जानकारी ऊ लिइरहन्थ्यो। कति ख्याल राख्थ्यो मेरो ! म फुरुङ्ग थिएँ ! मेरा पाइलाहरू खुशीले जमीनमै हुँदैनथे। म हरेक समय प्रेमको आकाशमा गद्गद् भएर उडिरहन्थें।

एक दिन उसले भन्यो, “तिमी हाँस्दा अलिक दाँत लुकाएर हाँस्ने गर ! त्यसरी हाँसेको तिमीलाई खूब सुहाउँछ।”

मैले ऐनाअगाडि उभिएर त्यसरी हाँस्ने अभ्यास गर्न थालें। म हाइहिल लगाएर हिंड्थें। सजिलो लाग्थ्यो। एक दिन उसले भन्यो, “तिमीलाई फ्ल्याट शूज ठीक हुन्छ। त्यो लगाएर हिंड्दा तिम्रो चाल एकदम सुन्दर हुन्छ। हाँसको जस्तै, लचकलचक।”

केही दिन असहज त भयो। तर, मैले हाइहिल छाडें।

कपाल कर्ली थियो मेरो। भन्यो, “तिमीलाई स्ट्रेट सुहाउँछ।”

पाइन्ट सजिलो लाग्थ्यो मलाई। भन्यो, “पाइन्टभन्दा कुर्ता–सुरुवालमा धपक्कै बल्छ्यौ तिमी।”

उसले मेरो नेलपलिस र लिपिस्टिकको रंग पनि छानिदियो। उसले जेजे भन्यो, मैले सहर्ष स्वीकार गरें। त्यो मेरो स्वीकारोक्ति मात्र थिएन, ऊप्रतिको सम्मान थियो। सम्मानसँगै मिसिएको प्रेम थियो। उसले मेरा हरेक कुराको मिहीन ढंगले ख्याल राख्छ भने मैले उसका कुराहरू नमान्ने कुनै कारण थिएन। म उसले भनेजस्तै हाँस्न थालें। उसले भनेजस्तै किसिमले हिंड्न थालें। उसले भनेकै किसिमका लुगाहरू लगाउन थालें। उसले भनेकै नेलपलिस, लिपिस्टिक लगाउन थालें। कपालमा हेयर कलर र क्लिपहरू पनि उसकै छनोटमा लगाउन थालें।

र, एक साँझ् म ऐनाअगाडि उभिएँ। एकछिनसम्म हेरें ऐनामा आफ्नो प्रतिबिम्ब। ऐनामा म थिइनँ, ऊ थियो। ऐनामा म हाँसिरहेकी थिइनँ, ऊ हाँसिरहेको थियो। साथीहरूले सोध्न थाले, “तेरो हाँसो कता हरायो ? तैंले किन यस्तो अप्ठेरो लुगा लगाएको ? तँ अचेल किन अर्कै अर्कै भएको ?”

साथीहरूको प्रश्नले म झ्स्किएँ। राति फेरि म आफ्नै कोठाको ऐनाअगाडि उभिएँ। एकपल्ट उसले रोजेको लुगा लगाएर हेरें, अनि एकपल्ट आफूलाई बानी परेको लुगा लगाएर हेरें। एकपल्ट उसले रोजेको रंगको नेलपलिस, लिपिस्टिक लगाएर हेरें। अनि फेरि मलाई मनपर्ने रंगका नेलपलिस, लिपिस्टिक र बिन्दी लगाएर हेरें। अचम्मै भयो, उसले रोजेका कुराहरू लगाउँदा ऐनामा मैले उसलाई देखें। आफूलाई मनपर्ने कुराहरू लगाउँदा ऐनामा मैले आफूलाई देखें। उसले सिकाए जसरी हाँस्दा ऐनामा मैले उसलाई देखें। पहिला जस्तै हाँस्दा ऐनामा मैले आफूलाई देखें। त्यसपछि आफैंसित प्रश्न गरें, “मेरो ऐनामा मैले आफूलाई हेर्ने कि उसलाई ?”

जवाफ पाइनँ। यो जवाफहीनताले मलाई चरम यातना दियो। रातभरि त्यही यातना भोग्दै बिताएँ। एकाबिहानै उसको फोन आयो।

“राति तिम्रो कोठामा को आएको ? कहिले तिमी र कहिले त्यो ऐना अगाडि किन उभिएको ?”

अब म पहाडबाट खसें। झ्सङ्गै लामो निद्राबाट बिउझ्एिँ। बल्ल पो थाहा पाएँ, उसले हरेक समय मेरो रेखदेख र केयर गरिरहेको थिएन, मेरो चियो गरिरहेको पो रहेछ। जब म साथीहरूसित रेस्टुरेन्ट जान्थें, ऊ सुटुक्क चियो गर्न आउँथ्यो। सुरक्षाका लागि उसले मेरो डेरामा सीसीटीभी जडान गरेको होइन रहेछ, मेरो चियो गर्नलाई रहेछ। म साथीहरूसित सिनेमा हेर्न जाँदा अन्तिम सिटमा ऊ पनि पुगिसकेको हुँदोरहेछ। मेरो मायाले डोर्‍याएर पुर्‍याएको त हुँदै होइन रहेछ, चियो गर्नका लागि पो रहेछ। “राति मेरो कोठामा अरू कोही थिएन। तिमी थियौ र म थिएँ। कहिले मेरो ऐनाअगाडि तिमी उभिएका थियौ र कहिले म उभिएकी थिएँ।” मैले अलिक कठोर हुँदै भनें।

उसले बुझेन।

“तिमी बदलियौ।”

यति भनेर उसले आवेशमा फोन राखिदियो। मेरो जीउ थरर्र काँप्न थाल्यो। मभित्र दनदनी आगो बलेजस्तो भयो। म थचक्कै खाटमा बसें। रुन मन त लाग्यो, तर मैले आफूलाई सम्हाल्दै उभिएँ र फेरि ऐना अगाडि पुगें।

मैले आफ्नो शरीर छामें। मलाई लाग्यो, मेरो शरीरबाट बिस्तारै स्त्री हराउन थाल्यो र पलाउन थाल्यो एउटा पुरुष। आफ्नो सोच र अहंका साथ, आफ्नो सक्कली अनुहार र नियतका साथ पलायो, पुरुष अर्थात् ऊ। अहँ, मैले यसो हुन दिनुहुँदैन। मैले आफूलाई गुमाउनुहुँदैन। फेरि ऐनामा गहिरिएर हेरें। हाँसे निकैबेर, जसरी म खुलेर हाँस्ने गर्थें। बल्ल ऐनामा मैले आफूलाई देखें। मेरो मोबाइलमा उसको फोन आइरहेको थियो। सम्भवतः उसले कुनै नयाँ उर्दी जारी गर्न चाहन्थ्यो। मैले यसो गर्नुपर्छ या यसो गर्नुहुँदैन भन्ने कुनै नयाँ आदेश जारी गर्न चाहन्थ्यो।

मैले फोन उठाइनँ।

 

प्रतिकृया दिनुहोस