टिप्पणीबिहिवार, कार्तिक १, २०७५

नारायणहिटीको मालश्री र मंगलधुन

शेखर खरेल

राजदरबारको दशैंको विशेष उल्लासपूर्ण दिन टीकाको हुन्थ्यो। धनुषा बैठकमा टीका कार्यक्रम चलिरहँदा दरबार परिसरमा सेनाको सांगीतिक टुकडीले मालश्री र मंगलधुन बजाइरहेको हुन्थ्यो।

दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने चलन राजतन्त्रको समाप्तिपछि पनि चलेकै छ । 

नारायणहिटी राजदरबार संग्रहालयमा परिणत भएपछिको सन्देश सोझे अनि प्रष्ट छ । दरबारको अर्थ उत्सव हो भने संग्रहालयको चाहिं अभिलेख । अर्थात्, हिजो दरबारमा मनाइने उत्सव आज स्मृतिको विषय बनिसकेको छ ।

नेपाल एकीकरणपछिको लगभग साढे दुई शताब्दी लामो राजतन्त्रकालमा राजसिंहासन गोरखा दरबारबाट नुवाकोटको साततले दरबार हुँदै हनुमानढोकाको नौतले र नारायणहिटीसम्म सर्दा त्यति नै पटक नेपाली जातिको राष्ट्रिय चाड बडादशैं ती राजप्रासादमा उल्लासपूर्वक मनाइएको हुनुपर्छ ।

एकीकरणकर्ता पृथ्वीनारायण शाहपछि राजगद्दीका एक दर्जन उत्तराधिकारीमध्येका तत्कालीन राजा वीरेन्द्रका भागमा परेका २९ बडादशैंमध्ये तीन वटाको साक्षी बन्ने संयोग यो पंक्तिकारलाई पनि जुर्‍यो ।

खुला प्रतिस्पर्धाबाट १ पुस २०५२ मा शाखा अधिकृतका रूपमा राजप्रासाद सेवामा प्रवेश गर्दा संयोगले त्यो महीना दरबार एउटा भव्य माहोलमा डुबिसकेको थियो ।

गद्दीनसीन राजा वीरेन्द्र जन्मोत्सव मनाउने क्रममा त्यसै महीना स्वर्ण वर्षमा प्रवेश गर्दै गर्दा सम्पूर्ण राजप्रासाद उत्सवमय थियो । त्यसको अर्को वर्ष वीरेन्द्र आफ्नो शासनकालको पच्चीस वर्ष पूरा गर्दै थिए ।

संवैधानिक राजाको गद्दी आरोहणको रजत वर्षको त्यस अवसरलाई सम्पूर्ण राष्ट्रले नै महोत्सवका रूपमा ग्रहण गरेको थियो । (श्री ५ को) सरकारले त्यस अवसरलाई विशेष बनाउन हुलाक टिकट, ब्यांक नोट र सिक्काहरू समेत प्रकाशन गरेको थियो । संयोगवश गद्दी आरोहणको मूल नारा ‘अनेकतामा एकता, राजसंस्थाको विशेषता’ को रचयिता यो पंक्तिकार थियो ।

संवत् २०५४ मा पनि राजप्रासाद अर्कै उत्सवले उल्लासमय बनेको थियो । त्यस वर्ष राजा वीरेन्द्रकी एक मात्र छोरी अधिराजकुमारी श्रुति विवाह बन्धनमा बाधिंदै थिइन् ।

श्रुतिको कुमार गोरखशमशेर राणासँगको प्रणय–बन्धन वास्तवमा एउटा ‘फेरिटेल म्यारिज’ थियो, जसले राजपरिवार र भारदारदेखि सर्वसाधारणलाई समेत रोमाञ्चित बनाएको थियो । विवाह बारे साथीसंगति र छरछिमेकबाट जिज्ञासापूर्वक सोधिएका प्रश्नहरू पंक्तिकारको मानसपटलमा अझै ताजै छन् ।

विशेष वर्षगाँठ र विवाहका अपवादलाई छाड्ने हो भने पनि दरबार स्वयंमा उत्सवहरूको पर्याय थियो । ती उत्सव खासमा चाडबाड हुन्थे । यी चाडहरूको सिरानमा रहन्थ्यो, बडादशैं । सोह्रश्राद्ध सकिएर नौरथा शुरू हुँदा दरबारमा बेग्लै चहलपहल शुरू हुन्थ्यो ।

दशैं र दरबार अन्योन्याश्रित हुनुको एउटा ठूलो कडी शाहवंशको पुख्र्यौली गोरखा दरबार नारायणहिटीको आधुनिक राजप्रासादसँग जोडिनु पनि हो ।

गोरखा छाडेको शताब्दीयौं बितिसक्दा र दर्जन राजाहरूले गद्दीको भोग गरिसक्दा पनि गोरखाबाटै फूलपाती भित्रिइरह्यो । प्रजातन्त्रको पुनर्स्थापनापछि राजकीय सत्ता सम्पन्न राजाबाट संवैधानिक राष्ट्रप्रमुखको हैसियतमा रूपान्तरित हुँदा अन्य भूमिकामा राजा खुम्चिनु परे पनि उनी धार्मिक हैसियतमा भने लगभग एक धर्माधिकारीकै हैसियतमा रहे ।

संवत् २०४७ मा जारी संविधानले नेपाललाई हिन्दू अधिराज्य नै कायम गरेकाले पनि राजाको धार्मिक हैसियतमा कुनै संकुचन ल्याएन । उनी संविधानको मात्र नभएर (हिन्दू) धर्मको पनि संरक्षक रहे । जसका कारण दरबारको दशैं फिक्का हुन पाएन ।

दरबारको दशैं घटस्थापनामा हनुमानढोकामा जमरा राखेसँगै शुरू हुन्थ्यो । तर, जमरा हनुमानढोकामा राखिए पनि नारायणहिटी दरबारको पूजाकोठामा १०८ ब्राह्मणले घटस्थापनादेखि महानवमीसम्म दैनिक चण्डी पाठ गर्थे ।

त्यस कर्मका लागि बडागुरुज्यू वा मूलपुरोहितले छनोट गर्ने वटुकलाई राजाले नै वरणी गरेर पूजा कर्मका लागि तुनादार भोटो र रातो धोती प्रदान गर्थे । उनीहरूका लागि निश्चित भेटी समेत तोकिएको हुन्थ्यो ।

चाडपर्व अनुसार दरबारले वैदिक र तान्त्रिक दुवै खाले पूजा र अनुष्ठान अवलम्बन गरेको देखिन्छ । दशैं शक्तिको अनुष्ठान भएकाले वैदिक भन्दा तान्त्रिक विधि अपनाइएको पाइन्छ ।

हिन्दू धर्मका पालक भएकाले पनि राजा (दरबार) कै नाममा मुलुकका विभिन्न शक्तिपीठमा बलि दिइन्थ्यो । जसमध्ये हनुमानढोकामा कालरात्रि (महानवमी) मा दिइने बलि प्रमुख थियो ।

हनुमानढोका (कोत) मा दिइने १०८ बोका, राँगा लगायतको बलिको प्रसाद राजप्रासाद सेवाका कर्मचारीलाई बाँडिने भएकाले दशैंले कर्मचारीबीच पनि छुट्टै उमङ्ग सञ्चार गथ्र्यो ।

यस्तो प्रसाद जात र दर्जा हेरेर व्यवस्थापन गरिन्थ्यो । जस्तैः बाहुन, क्षत्री, ठकुरी आदिलाई बोका भाग लगाइन्थ्यो भने नेवार आदिका निम्ति राँगा ।

त्यहाँ बलि दिइने कलिला बोकाका आकार लगभग कुखुराको भाले बराबर हुने र सिङ्गो बोकाको हकदार हुन प्रथम श्रेणीको हुनुपर्ने भएकाले बोका भन्दा राँगा भागमा पर्ने कर्मचारी बढी खुशी देखिन्थे ।

यसैगरी कर्मचारीका निम्ति अर्को उत्साह सम्बन्धित विभागका हाकिमले बाँड्ने ‘दशैं बक्सिस’ मा पनि हुन्थ्यो । राजाले विभागीय प्रमुखलाई बक्सिसका रूपमा दिने रकम सम्बन्धित विभाग प्रमुखले आफू मातहतका कर्मचारीलाई बाँड्ने गर्थे ।

हाकिमको कोठामा एक–एक गरी बोलाएर बाँडिने त्यो रकम केही सय रुपैयाँको हुन्थ्यो । राजाले ती हाकिमलाई वास्तवमा के–कति रकम दिन्थे भन्ने जान्नका लागि आफू पनि हाकिम हुन्जेल नै कुर्नुपथ्र्यो । त्यसैले, आफ्नो साढे तीनवर्षे सेवाकालका तीन दशैं पंक्तिकारले अनुमानमै बितायो ।

दरबारको दशैंको सबैभन्दा उल्लासपूर्ण दिन चाहिं विजयादशमीको टीका नै हुन्थ्यो । राजपरिवारका सदस्यहरूले टीका लगाएपछि दूबोको माला जसरी बुनिएको जमरा लगाएको धेरैको सम्झ्नामा हुनुपर्छ । किनकि, दशैंका बेला खासै समाचार नबन्ने हुँदा राजपरिवारको दशैं टेलिभिजनमा घरीघरी दोहोर्‍याएर देखाइन्थ्यो ।

बडागुरुज्यू र मूलपुरोहितबाट राजपरिवारका जीवित सदस्यमध्येकी ज्येष्ठ मुमा बडामहारानी रत्नसँगै राजारानीले टीका थापेपछि परिवारबीच लगाइसकेर राजपरिवारबाट शाही नातेदारलाई टीका लगाइन्थ्यो ।

नारायणहिटी राजप्रासादका बैठकहरूमध्येको धनुषा बैठकमा दशैंको टीका थापिन्थ्यो । धनुषा बैठकमा टीका लगाइँदै गर्दा सेनाको सांगीतिक टुकडीले दरबार परिसरमा मालश्री र मंगलधुन बजाइरहेको हुन्थ्यो ।

मंगलधुन दरबारका निम्ति यस्तो अभिन्न संगीत थियो, जुन सबै मंगल कार्यमा अनिवार्य बज्थ्यो । राजपरिवार र शाही नातेदारको टीका सकिएपछि राजप्रासाद सेवाका कर्मचारी, शाही पाश्र्ववर्तीको पालो आउँथ्यो ।

तर, जंगीसेवामा ‘अफिसर’ र ‘नन–अफिसर’ भनेर चर्को पदीय विभेद भए जस्तै राजप्रासाद सेवाका राजपत्रांकित कर्मचारीले मात्र राजपरिवारबाट टीका थाप्न धनुषा बैठकमा प्रवेश पाउँथे ।

राजा, रानी, युवराज र मुमा बडामहारानीबाट टीका लस्करै लगाउनु उनीहरूका निम्ति असाधारण मौका हुन्थ्यो । असाधारण यस अर्थमा, मुलुककै प्रमुख कार्यकारी र संवैधानिक निकायका प्रमुखहरूलाई समेत यी चारै सदस्यबाट टीकाको अवसर जुर्दैनथ्यो । अधिकृत तह मुनिका कर्मचारीले भने पटाङ्गिनीमा राजाका हातबाट मात्र टीका थाप्न सक्थे ।

वास्तवमा राजपरिवारका सदस्यहरूको पर्व विशेषको जमघट आफैंमा एउटा उत्सव बराबर हुन्थ्यो । किनकि, हामीले दरबार भनेर चिनेको नारायणहिटी राजप्रासादको मुख्य भवन आवासीय नभएर औपचारिक समारोह वा उत्सव निम्ति निर्मित भवन थियो ।

दरबारको चारघेरा भित्र पनि राजारानी श्रीसदन, युवराज त्रिभुवन सदन र मुमा बडामहारानी महेन्द्र मञ्जिलमा बस्ने हुँदा मूल दरबारमा आयोजना हुने कुनै पनि उत्सव विशेष हुन्थ्यो ।

प्रत्येक राम्रा कथा समाप्तिमा पुग्छन् भने जसरी दरबारको उत्सव पनि अन्त्योन्मुख रहेको भेउ हामीले १९ जेठ, २०५८ का दिन पायौं । त्यो अकल्पनीय हत्याकाण्डले नारायणहिटी राजप्रासाद र त्यस परिसरबाट मालश्री र मंगलधुनलाई सधैंका निम्ति मौन बनाइदियो । दरबारको दशैं हाम्रो स्मृतिमा मात्र जीवित छ । 

दशैं सम्बन्धी यि सामाग्री पनि पढौं:

दशहराः पहिले र अहिले (चन्द्रकिशोर)

सख्या र पैयाँले गुलजार थारुको दशैं (अशोक थारु)

दमाईको दशैं (ध्रुवसत्य परियार)

लाहुरको त्यो दशैं (हरि शर्मा)

समुद्रपारि गाढा अक्षता (राजेश कोइराला)

फौजीको खल्लो दशैं (दीपक ज्ञवाली)

माओवादी हिंसाले बिथोलेको आञ्चलिकता (मस्त केसी)

दशैंको राजनीति (आनन्द राई)

दशैंको सुवास (रुपा जोशी)

दशैंका महिला: खुशी पस्किनमै सीमित (सविना देवकोटा)

अक्षताः मौलिक प्रचलन (विनय वञ्जारा)

दशैंको रङ बदलौं (डा तीर्थबहादुर श्रेष्ठ)

खुलेको फैलिएको दशैं (केदार शर्मा)

हाम्रो दशैं (टेकबहादुर जिरेल)

दशैंको अर्थतन्त्र: उहिले र अहिले (रमेश कुमार)

अन्यत्र बलि, रसुवामा क्षमापूजा (फुर्पा तामाङ)

अतिवादको चेपुवामा दशैं (वसन्त महर्जन)

प्रतिकृया दिनुहोस