एकदिने टीका
देशका धेरैजसो भागमा पाँच दिनसम्म लगाइने दशैंको टीका पश्चिम नेपालका केही जिल्लामा एक दिन मात्र लगाउने चलन छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का गणेश पोखरेल यसपालि दशैंमा टीका लगाउन ससुराली नजाने योजनामा छन् । उनको घरका साथै कपिलवस्तुको चन्द्रौटास्थित ससुरालीमा दशैंमा एक दिन मात्र टीका लगाउने प्रचलन छ ।
घरमा टीका लगाएर ससुराली जाँदा दिनभर बाटोमै बित्ने भएकाले उनले नजाने सोच बनाएका हुन् । एकदिने टीकाको चलनले चेपुवामा परेका पोखरेल भन्छन्, “एकै दिनमा घर र ससुराली गर्न गाह्रो भयो, अब एक वर्ष घर र एक वर्ष ससुरालीमा टीका लगाउनुपर्ला ।”
एकदिने टीकाका कारण दशैंमा समस्या भोग्ने पोखरेल एक्ला होइनन् । घरबाट माइती तथा मावली, ससुराली र अन्य मान्यजन टाढा भएकाहरू यस्तै समस्यामा पर्छन् ।
यातायात सुविधाका कारण देशको पूर्वी र पश्चिम भेगसम्म बिहेबारी र सर–सम्बन्धको विस्तार भएको छ । यो भौगोलिक दूरीले अन्य समयमा खासै फरक नपारे पनि दशैंको बेला एकदिने टीकाको चलन भएका ठाउँहरूमा भने ठूलो असर पर्ने गर्छ ।
लमजुङको बेंसीशहरकी शारदा गैरेको घरमा पाँच दिनसम्म टीका लगाइन्छ भने कपिलवस्तुको वीरपुरस्थित माइतीमा दशमीको दिन मात्र टीका लगाउने चलन छ । जब दशैं आउँछ, उनी पिरोलिन्छिन् ।
“माइतीमा बुबाआमाको हातको टीका लगाउन नजाऊँ त मन मान्दैन, जाऊँ भने घरमा नलगाई दौडिन सम्भव हुँदैन”, उनी भन्छिन् । टाढा विवाह भएका चेलीबेटीका लागि एकदिने टीका थाप्न माइती पुग्न अत्यन्तै गाह्रो हुने उनको अनुभव छ ।
पाल्पाको हुमिनकी तारा घिमिरे पुरानो चलन भनेर अव्यावहारिक कुरा अँगालिरहन नहुने, एकै दिनमा नभ्याए पूर्णिमासम्म टीका लगाउन शुरू गर्नुपर्नेमा जोड दिन्छिन् । भन्छिन्, “हिजो आफन्तहरू नजिकै भएकाले एकै दिनमा सहजै पुग्न सकिन्थ्यो । अहिले सम्बन्ध टाढासम्म फैलिएकोले समय अनुसार चलन बदल्नुपर्छ ।”
तर, एकदिने टीकाको चलनले दशैंको महत्व नै विशेष बनाएको तर्क गर्नेहरू पनि छन् । अर्घाखाँचीको पाणिनी–७ का दिनेश पोखरेल भन्छन्, “एक दिन जस्तो टीकाको महत्व बढी दिन लगाउँदा रहँदैन ।”
दशैंमा एक दिन टीका लगाउने चलन केही जिल्लामा ब्राह्मण तथा क्षत्री समुदायमा मात्र छ । अर्घाखाँची र गुल्मीसँगै पाल्पा, प्यूठान र आसपासका केही जिल्लाका कतिपयले विजयादशमीको दिन मात्र टीका लगाउने चलन छ ।
आर्थिक पक्ष
दशैंमा एकदिने टीकाको चलन बस्नुमा फरक–फरक धारणा पाइन्छन् । पहिलो, यसलाई आर्थिक पक्षसँग जोडेर हेरिन्छ । गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दिनेश पन्थी खर्चको भार र पाहुना स्याहार्ने झन्झट कम गर्न एक दिन मात्र टीका लगाउने गरिएको धारणा राख्छन् । “एकदिने टीका भयो भने पाहुनालाई छिटै पन्छाउन सजिलो पर्ने भयो, खर्च पनि कम हुनेभयो”, उनी भन्छन् ।
यसमा सही थाप्दै इतिहास र संस्कृतिका अन्वेषक दिनेशराज पन्त दशमीको दिनको बढी महत्व हुने भएकाले सोही दिन मात्र टीका लगाउने गरिएको हुनसक्ने बताउँछन् । “दशमीको टीकाको महिमा त छ नै, एक दिन मात्र टीका लगाउँदा खर्च पनि स्वाभाविक रूपमा कम हुनेभयो”, उनी भन्छन् ।
दोस्रो कारण हो, खेतीपातीको चटारो । दशैं प्रायः असोज वा कात्तिक महीनाको पहिलो सातासम्म पर्छ, जुन खेती थान्को लगाउन व्यस्त हुने बेला हो । यसैले दशमीको टीका लगाएर अर्को दिनदेखि खेतबारीमा जुट्नुपर्ने भएकाले पनि एक दिन मात्र टीका लगाउने चलन चलिआएको मान्यता छ ।
यातायातको पहुँचका कारण पूर्व र पश्चिमका स्थानीयबीच घुलमिल बढ्नुका साथै बिहेबारीको सम्बन्ध गाँसिन थालेपछि पछिल्लो समय भने संस्कृतिमा अन्तरघूलन देखिएको छ । यसको प्रभावले पहिला एक दिन मात्र टीका लगाउने प्रचलन रहेका जिल्लाहरूमा कतिपयले पाँच दिनसम्म टीका लगाउन थालेका छन् ।
गुल्मी, अर्घाखाँची लगायत जिल्लामा एकदिने टीका जस्तै दशैंमा सराय नाचको पनि महत्व छ । विशेष गरी गुल्मी, अर्घाखाँची र पाल्पामा दशमीको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाच नाचिन्छ । यो नाचमा सहभागी पुरुषहरू भाला, तरबार, खुकुरी एक–आपसमा जुधाउँदै देवीका शक्तिपीठहरूमा नाच्ने गर्छन् ।
सराय नाचको चलन पछिल्लो समय रूपन्देही र कपिलवस्तुमा समेत शुरू भएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँ सर्नेहरूको संख्या बढ्दै गएपछि तराईमा पनि यो नाच देखिन थालेको हो ।
रामु सापकोटा र मुकेश पोखरेल