टिप्पणीबिहिवार, कार्तिक १, २०७५

दशहराः पहिले र अहिले

चन्द्रकिशोर

मधेशी समुदायको दशहरा र पहाडी समुदायको दशैंले समय क्रममा एक–अर्काको प्रभाव ग्रहण गरेका छन्, जुन इन्द्रेणी समाजको सुन्दर पक्ष बनेको छ।

बाराको जीतपुरमा घटस्थापनाको दिन कलश यात्रा गरिंदै । 

मधेशमा त्योहार अर्थात् चाडपर्वको लहर नै हुन्छ । खासगरी नागपञ्चमीपछि पर्वहरू आउने क्रम शुरू हुन्छ । त्यसैले मिथिला क्षेत्रमा आहान नै छ, “आयल लखपाँचे, लागल सब पावनि नाचे ।”

प्रत्येक ऋतु र मौसम अनुसार कुनै न कुनै त्योहार मनाउने परम्परा छ । वर्षापछि आउने शरद ऋतुमा दशहरा मनाइन्छ । मधेशमा बडादशैंलाई दुर्गा पूजा, विजयादशमी भनिए पनि जनजिब्रोमा ‘दशहरा’ नै प्रचलित छ ।

दशहराको धार्मिक र सांस्कृतिक पक्षले अहिले पनि कुनै न कुनै रूपमा निरन्तरता पाइरहेकै छ । तर, पछिल्ला वर्षहरूमा यसमा आर्थिक र राजनीतिक पक्ष हावी भएको छ ।

कुनै जमाना थियो, भोजपुरी क्षेत्रका नारीहरू घटस्थापनाको दिन बिहानै घर तथा आँगन गोबरले लिप्थे । घरभित्र कुलदेवताको स्थान सरसफाइ गरिन्थ्यो । त्यस क्रममा उनीहरू गाउँथे, “गाई के गोबरा मंगववले बानी, आँगना लिपवले बानी हो, उजरे उजरे पलङ दसववले बानी, आँगना रउवा आवे के परी... ।”

गीतमा आस्था र आकांक्षा अभिव्यक्त हुन्थ्यो । उता अवधी क्षेत्रका नारीहरू देवीको अर्चना गर्दै गाउँथे, “तोरी जगमग जोति जगै काली, केहो चढावे धजा नारियल, केहो चढावे रुपैयाँ डाली... ।”

वर्षा सकिएलगत्तै दशहराको तयारी शुरू भइहाल्थ्यो । धनी–गरीब सबैले आ–आफ्नै तरीकाले पूजाको तयारी गर्थे । यसमा केही रीतिथिति पनि थिए ।

दशहराको बेलामा बोक्सी बढी लाग्छ भन्ने लोकधारणा थियो । त्यसैले बच्चाहरूलाई नाइटोमा कालो टीका लगाइदिने, घाँटीमा लसुन झुन्ड्याइदिने, आँखामा गाजल लगाइदिने र टोल–छिमेकमा बढी हिंडडुल नगर्न सुझाव दिइन्थ्यो ।

घटस्थापनाको दिन घरका सबै ढोकामा कालो गोलाकार चिह्न कोरिन्थ्यो, जसलाई फूलपातीपछि फेरि सिन्दूर रङले कोरिन्थ्यो । चोकहरूमा सिन्दूरको टीका लगाइएको कुभिण्डो काटिएको देख्न पाइन्थ्यो । जसका बारे देहातका जनताले विभिन्न अड्कल काट्थे । अन्धविश्वासमा रहेका कतिपयले बोक्सीले शक्ति आर्जन गर्न पूजा गरेको भन्थे ।

बोक्सीबाट बच्न केही जाति विशेषमा झिझिया नाच नाच्ने चलन पनि थियो । झिझिया घटस्थापनादेखि विजया दशमीसम्म देखाइने लोकनृत्य हो ।

यो नृत्यमा महिलाहरूको समूह टाउकोमा माटोको घैंटो राखी बेलुका दैलो–दैलो घुम्छ । प्वालहरू बनाइएको घैंटोमाथि ढकनामा दन्किरहेको आगो हुन्छ, जसमा बीचबीचमा तेल हाली अझ प्रज्वलित पारिन्छ ।

यदि घैंटोको प्वाल कुनै बोक्सीले गन्यो भने नाच्ने व्यक्तिको तत्काल मृत्यु हुने मान्यता अनुसार नाच्ने महिलाले टाउको हल्लाइराख्नुपर्ने हुन्थ्यो ।

कतिपय संस्कृतिविद् झिझिया नृत्यभित्र आध्यात्मिक साधना लुकेको, प्रज्वलित दीप र घैंटोका प्वालहरूले त्यही संकेत गरेको बताउँछन् । यो एक प्रकारको तान्त्रिक साधना भएको बताउनेहरू पनि छन् ।

साविकका पर्व त्योहारमा शुरूकै दिनदेखि गाउँमा ढोल, पिपिही बजाउँदै चमार जातिका मानिसहरू प्रत्येक साँझ देवस्थान जान्थे । त्यसबापत उनीहरूले गाउँभरिबाटै पारिश्रमिक पाउँथे ।

यही अवसरमा कतिपय ठाउँमा कुनै तिथिमा ग्राम देवताको सामूहिक पूजा गर्ने परम्परा थियो र अहिले पनि छ । तर, अहिले नियमित रूपमा पारम्परिक लोकबाजा बजाइँदैन । ग्राम देवताको पूजा गरिंदा पहिला बोका, भेडा, पाठी पनि चढाउने गरिन्थ्यो ।

अहिले राजनीतिक धु्रवीकरणका कारण कतिपय गाउँठाउँमा सगोलमै पूजा नगरी दलीय वा जातीय आधारमा समेत हुन थालेको छ ।

घटस्थापनाका दिन गाउँका मन्दिरहरूमा र केही सीमित परिवारले जमरा राख्ने गर्थे । कृषि आधारित जनजीवन भएकाले नवपालुवाको पूजा गर्ने र विजया दशमीको दिन शिरमा लगाउने चलन छ । तर, पहिला बाहुनहरू जमरा बोकेर यजमान कहाँ जान्थे ।

ठूल्ठूला जमीनदारहरू कहाँ सीमाञ्चलमा भारततिरका पनि ब्राह्मणहरू आउँथे । ब्राह्मणले मन्त्र पढेर जमरा टक्र्याएपछि जमीनदारले दक्षिणा दिंदै अभिवादन गर्थे ।

दशहरासँग जोडिएको अर्को पाटो थियो, महाबीरी झण्डाको उत्सव र रामलीलाको मञ्चन । महाबीरी झण्डाको त ठाउँठाउँमा मेला नै लाग्थ्यो । यस्तो मेला पहिला जिल्लाका केही सीमित ठाउँमा हुने गरे पनि पछिल्लो समय भने बढेको छ ।

झण्डा निकै ठूलो र कलात्मक हुन्छ । बाँसका एक वा दुई कप्टेरोलाई विभिन्न आकृतिमा डोरीले बाँधेपछि विभिन्न रङको कागज टाँसेर आकर्षक रूप दिइन्छ । झण्डोत्सवको तयारी स्वरूप ‘मिसिया’ गाइन्थ्यो, जसलाई कतिपयले झण्डा गीत पनि भन्छन् ।

गाउनेहरूको हातमा बाँसका स–साना टुक्रा हुन्छन्, उनीहरू वृत्ताकार घुम्दै एकले अर्काको हातमा रहेको छडीलाई समान ताल निस्कने गरी हिर्काउँछन् । सँगै गीत पनि गुञ्जिएको हुन्छ– “होऽऽ झण्डे पर हो तैयार !”

त्यस्तै, रामलीलाको बढी चलन अवध क्षेत्रमा छ । नेपालगंजमा त यसको ऐतिहासिक परम्परा नै छ । मध्य र पूर्वी तराईतिर पनि रामलीला टोलीहरू भारततिरबाट आउँथे ।

माटोको प्रतिमा बनाएर पण्डालमा राखी देवी पूजा गर्ने अहिले जस्तो फेसन थिएन । बरु देवी मन्दिरहरूमा दर्शन गर्न जाने चलन थियो ।

कुलदेवताको स्थानमा साँझ दीप बालिन्थ्यो । भाकलमा बोकाहरू चढाउने चलन पनि कम थियो । अब त एउटै नगरभित्र पण्डाल बनाएर मूर्ति पूजा गर्ने र एक–अर्को समूहबीच प्रतिस्पर्धा गर्ने होड नै चलेको छ । यस क्रममा धार्मिक र सांस्कृतिक पक्षलाई आडम्बरले छोप्दै गएको छ ।

पहिला सरकारी सेवामा मधेशका थोरै मान्छे थिए । तर, जति थिए, उनीहरू प्रायः दशैंमा घर आए भने एकै पटक छठ मनाएर मात्र फर्किने चलन थियो ।

२०४६ साल अघिसम्म पुख्र्यौली थलो बाहिर घर बनाउन मानिसहरूलाई खासै चासो थिएन । त्यसैले दशैं विदामा जागिरेहरू गाउँमा हुन्थे र स्थानीय स्तरमा हुने सामूहिक पूजाका लागि विशेष चन्दा दिन्थे ।

मधेशीको बाक्लो बसोबास भएको क्षेत्रमा पनि पहाडी समुदायको बसोबास थियो । उनीहरूले लगाउने दशैंको टीका अरूहरूले रुचिका साथ हेर्थे, कतिपयले त लगाउँथे पनि । अहिले ती पहाडी बस्ती पातलिए पनि मधेशी समुदायमा केहीले टीकासँगै जमरा लगाउने पहाडी तौरतरिका अपनाएका छन् ।

देशकाल अनुसार दशहराको चलन फेरिंदै गएको छ । पुराना अन्धविश्वास भत्किएका छन् । बोक्सीको अस्तित्वप्रति मानिसहरूलाई विश्वास छैन, कानूनको डर पनि छ । तर, लोकनृत्य झिझियालाई विभिन्न सामाजिक संस्थाले संरक्षणको प्रयास गरिरहेका छन् । विजया दशमीको दिन ‘रावण दहन’ गर्ने नयाँ कुरा भने विस्तारै फैलिंदै गएको छ । यो भारतीय संस्कृतिको प्रभाव हो ।

दशहरा मेलाको रूप पनि फेरियो । पहिला सीमित ठाउँमा मेला लाग्दा टाढाटाढाका मानिसहरू सहभागी हुन्थे र मेलाको रौनक कैयौं दिनसम्म रहन्थ्यो । अहिले धेरै ठाउँमा मेला लाग्छ, आफ्नै गाउँठाउँका मानिस मात्रै हुन्छन् ।

दशहरा भन्दा छठ पर्व सामाजिक र पारिवारिक मिलनको अवसरका रूपमा विकसित भएको छ । भाकल भन्दा पनि खानपिनको संस्कृतिले बोका–भेडाको बलि दिने क्रम ह्वातै बढेको छ ।

माओवादी द्वन्द्व र त्यसपछिका पहिचानजन्य आन्दोलन लगायतका कारण मुख्य देवी मन्दिरहरूमै पूजाका तौरतरिका बदलिंदै गएका छन् ।

जुन समुदायको सांस्कृतिक परम्पराहरू नदी जस्तो गतिशील नभई पोखरी जस्तो जमेको हुन्छ, त्यो समाज आफैंमा गुम्सिन जान्छ । मधेशी समाजले जनविश्वासमा रहेको आफूभित्रका अप्रगतिशील सोचहरू छाड्दै गएको छ । तर, आधुनिकताको प्रभावसँगै धार्मिक कर्मकाण्ड र अन्ध–धार्मिकता पनि मौलाउँदै गएको छ ।

कतै जातीय आधारमा पूजा प्रवर्द्धन भइरहेको छ भने कतै दलीय आधारमा पूजाको सामूहिकता संस्थागत हुँदै गएको छ । अब दशहरा सामान्य पूजापाठ र खानपिनमा बदलिंदै गएको छ ।

कुनै बेला दशैंको बेला शुभकामना कार्ड छाप्ने फेसन नै चल्यो । इन्टरनेटको प्रचलनसँगै त्यसको ठाउँ सामाजिक सञ्जालहरूले लिएका छन् । तर, स्थानीय सञ्चारमाध्यमहरूका लागि दशैंको शुभकामना विज्ञापन अझै पनि आम्दानीको स्रोत भइरहेको छ ।

समयको बहावमा पर्व त्योहारको सुन्दर पक्ष के देखिन्छ भने, मधेशीको दशहरामा पहाडीको दशैं मिसिंदै गएको छ, पहाडी क्षेत्रमा पण्डाल राखी मूर्ति पूजा गर्ने चलन बढिरहँदा दशहराले दशैंमा रङ थपिदिएको छ । 

दशैं सम्बन्धी यि सामाग्री पनि पढौं:

सख्या र पैयाँले गुलजार थारुको दशैं (अशोक थारु)

दमाईको दशैं (ध्रुवसत्य परियार)

लाहुरको त्यो दशैं (हरि शर्मा)

समुद्रपारि गाढा अक्षता (राजेश कोइराला)

फौजीको खल्लो दशैं (दीपक ज्ञवाली)

माओवादी हिंसाले बिथोलेको आञ्चलिकता (मस्त केसी)

दशैंको राजनीति (आनन्द राई)

दशैंको सुवास (रुपा जोशी)

दशैंका महिला: खुशी पस्किनमै सीमित (सविना देवकोटा)

अक्षताः मौलिक प्रचलन (विनय वञ्जारा)

दशैंको रङ बदलौं (डा तीर्थबहादुर श्रेष्ठ)

खुलेको फैलिएको दशैं (केदार शर्मा)

हाम्रो दशैं (टेकबहादुर जिरेल)

दशैंको अर्थतन्त्र: उहिले र अहिले (रमेश कुमार)

अन्यत्र बलि, रसुवामा क्षमापूजा (फुर्पा तामाङ)

अतिवादको चेपुवामा दशैं (वसन्त महर्जन)

प्रतिकृया दिनुहोस