टिप्पणीबिहिवार, कार्तिक १, २०७५

सख्या र पैयाँले गुलजार थारुको दशैं

हिमालखबर

दशैं संस्कृतिमा आएको परिवर्तनसँगै स्वपहिचानको आधारशिला र सहअस्तित्वको भावना पनि हराउँदो छ।

-अशोक थारु

दाङको हेकुली गाउँमा पैयाँ नाच्दै । तस्वीर: अशोक थारु

हामी सहअस्तित्व र सद्भावको चाड बडादशैंको उल्लासमा छौं । दशैं भन्ने वित्तिकै मेरो मानसपटलमा पाँच दशक पहिलेको थारू सांस्कृतिक डस्या अर्थात् बडादशैं घुम्न थाल्छ ।

दशैंलाई डस्या भनिन्छ– दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको थारू समुदायमा । यहाँ दशैंलाई उत्सवपूर्ण बनाउन प्रत्येक रात अबेरसम्म नाचिने सख्या र पैयाँ नृत्य तथा मादलको तालको प्रमुख भूमिका हुन्छ । यद्यपि दशवर्षे सशस्त्र द्वन्द्वले विथोलेको दशैं संस्कृति पुनर्जागृत हुनसकेको छैन । त्यसमा वैश्वीकरणसँगै सांस्कृतिक अतिक्रमणको प्रभाव पनि परेको छ ।

प्रेम र उत्साह
पहिले थारू समुदायमा अपवाद बाहेक ननाच्ने युवती र मादल नबजाउने युवक हुँदैनथे । दशैं शुरू हुनु अगावै मादलेहरू आ—आफ्नो मादलमा नयाँ सुर भर्थे । मादल बजाउने कलाबाटै आफूले मन पराएकी युवतीकोे नजरमा पर्नु थारू युवाकोे अभिलाषा हुन्थ्यो ।

युवकहरू प्रेमिकालाई उपहार दिन नेपालगञ्ज या निकटका बजारबाट रङ र पहाडी (नेपाली) कागज मगाउँथे । शास्त्रीय हस्तकलाकोे भरपूर प्रयोग गरेर सनपाटको रेसा या पहाडी कागजको चिरालाई सप्तरङ्गी भुरभुरा बनाएर प्रेमिकाको मञ्जिरामा जोडिदिन्थे ।

महिलाहरूका लागि केश शृङ्गारको सामग्री झेबन्ना (कपाल बाट्ने धागो), रिबन, टिक्लीको जोहो पनि एक महीना पहिल्यैदेखि हुन्थ्यो । शृङ्गार सामग्रीले फुरुङ्ग परेका युवतीले सनपाटको धागोमा सिपीकोे खोल उनेर रङ्गीविरङ्गी सुतही सहितको ‘टङ्गी’ प्रेमीको मादलमा झुन्ड्याइदिन्थे । त्यस्तो पाउने युवकको समूहमा सान नै बेग्लै हुन्थ्यो ।

दशैंसँगै प्रेम र उत्साह पनि आउँथ्यो । थारू समुदायमा दशैंको नृत्य, संगीत र पूजा–अनुष्ठान सबै सामूहिक हुन्छ, त्यसैले गाउँभरका मानिसको भावना साटासाटको बेला पनि हो यो । अझ् युवायुवतीका लागि प्रेमपूर्ण चाड । यसबेला दुई थरी नाच नाचिन्छ, एउटा सख्या, अर्को पैयाँ ।

नृत्यसँगै गायनको पनि महत्व भएको सख्या धिमा तालमा कृष्ण चरित्रको वर्णन गर्दै गोलो घेरामा दुई समूहमा नाचिन्छ भने पैयाँमा मादल र नृत्यको संगम हुन्छ । एकथरी पैयाँ गीती पनि हुन्छ । पहिले ३६ ख्वाट (ताल) सम्म बजाइने र नाचिने पैयाँ अहिले सात तालमा सीमित भएको छ ।

पंक्तिकारलाई सम्झ्ना छ– दशैंमा पैयाँ नचाउँदा मादलेहरू आफ्नो पाइला एक पटक अगाडि र एक पटक पछाडि चाल्थे, ताल फेर्ने बेला फरक्क फर्किन्थे । जब मादलको ताल उत्कर्षमा पुग्थ्यो, मादलेहरूको घुँडा भुइँमा चेप्टिन्थे । नर्तकी मादलको तालमा अंगअंग मर्काउँथे । विछट्टको मादकता र उल्लासको अनुभूति हुन्थ्यो ।

कैलाली हँसुलियाका निवर्तमान भलमन्सा साहेबदिन थारू (५६) ले उत्साहित हुँदै सुनाए, “हामी जवान छँदा ३६ ख्वाट (ताल) पैयाँ हुन्थ्यो । आजकाल त्यो ख्वाट सुनिंदैन, पैयाँ डिस्को भइसक्यो ।”

सख्या–पैयाँ नृत्य दशमी र त्यसपछिका केही दिनसम्म पनि मध्याह्नदेखि रात्रिको दोस्रो प्रहरसम्म जारी रहेर गुर्‍वाको सहभागितामा समापन गरिन्छ । समापनको यो प्रक्रियालाई ‘डिउटा बैठना’ भनिन्छ । विगतमा दशैं अघि र पछि गरी करीब ४५ दिनसम्म नृत्य र संगीतले उत्सवमय रहने थारू गाउँहरू अचेल पन्ध्र दिनमै निरश हुन थालेका छन् ।

दशैं अनुष्ठान
दशैं कसरी मनाउने, दशैंको नृत्य कहिलेदेखि खुलाउने जस्ता निर्णय गुर्‍वाको सहयोगमा गाउँका मटावाँ (प्रमुख व्यक्ति) ले गर्छन् । मटावाँलाई बर्दिया, कैलालीतिर भलमन्सा पनि भनिन्छ । उहिले जुन गाउँको सख्या–पैयाँ नृत्यले वरपरका गाउँलेलाई आफ्नो गाउँमा ओइर्‍याउन सक्थ्यो, त्यो गाउँको मटावाँको सामाजिक प्रतिष्ठा र व्यवस्थापकीय कुशलताको ख्याति फैलन्थ्यो । अहिले कतिपय गाउँ मटावाँ विहीन छन् ।

थारू परम्परानुसार डेसबन्ढ्या गुर्‍वा (तन्त्र–मन्त्रसिद्ध अगुवा व्यक्ति) ले विशेष प्रगन्नाको अधिपति हुने अधिकार प्राप्त गरेका हुन्छन् । डेसबन्ढ्या गुर्‍वा र मटावाँको संयोजनमा भाद्र महीनाको अन्त्यमा ‘हार्‍या गुरै’ अनुष्ठान गरिन्छ ।

हार्‍या गुरैमा देउतालाई जल र मदिराको धार दिइन्छ । यस अनुष्ठानमा डेसबन्ढ्याले गाउँभरिको मादल मन्त्रले सिद्ध गरिदिन्छन् । गुरै अनुष्ठानका बेला मादलेहरू त्रासन ताल बजाउँछन्, नर्तकीहरू त्यही तालमा मञ्जिरा छन्काएर देउताको आह्वान गर्छन् ।

पहिले हार्‍या गुरै लगत्तै मटावाँको आँगनबाट सख्या—पैयाँ नृत्य आरम्भ हुन्थ्यो । अचेल यो नाच निकै ढिलो शुरू हुन्छ । कतिपय गाउँमा सख्या—पैयाँ हुनै छाडेको छ ।

घटस्थापनाका दिन जमरा राखिएपछि नवरात्रिभर गाउँ—गाउँमा एक्कासी “झ्वाङ झ्वाङ झुइँयक झ्वाङ झ्वाङ झ्वाङ” बोलको त्रासन ताल बज्न थाल्छ । नवरात्रि अवधिभरि नयाँ गुर्‍वाहरूलाई दीक्षित गरेर केसौका (शिष्य/सहायक गुर्‍वा) उत्पादन गरिन्छ ।

अचेल दाङ बाहेक अन्य जिल्लामा प्रगन्ना विधि भेटिदैन । नयाँ गुर्‍वा दीक्षित हुने संस्कार पनि लोपोन्मुख छ । दशैंमा घर लिप्ने पनि विशेष कला हुन्छ ।

पहिले माटो र भुसको मिश्रणबाट घरको मूलद्वारमा महिलाले हात्ती, चित्तल, घोडा, माछा, मयूरका युगल जोडी आदिको चित्र बनाएर घर सिंगार्थेे । अचेल घरहरूको स्वरुपमा परिवर्तन आइरहेको छ, त्योसँगै स्वपहिचानको आधारशिला यस्तो लोककला पनि हराउँदो छ ।

अष्टमी तिथि ‘ढिक्रह्वा’ को दिन । यस दिन गरढुर्‍या (घरमुली) हरू छिटनीमा मदिराको भाँडो, एउटा कुखुरा, मकै, गुन्द्री उपहार लिएर घरगुर्‍वा (पुरोहित जस्तै) कहाँ बानधूप लिन जान्छन् ।

घरगुर्‍वाले शरीरका विभिन्न अंग चिरेर निकालेको रगत र अक्षताको मिश्रणबाट ‘बान’ तयार पार्थे ।

यता घरमा डिहुरार (देउता कोठा) मा भएको ‘पटाहा डेहरी’ मा घरमुली महिलाले चामलको घोलमा हात चोपलेर पञ्जाको छाप लगाउँछिन् ।

घरमुली शुद्ध भई देउताहरूको अगाडि कलश राख्छन्, कलशमाथि टपरीमा चामल र चामलमाथि पालामा दियो बाल्छन्, वरिपरि जमरा र बेब्री (विशेष सुगन्ध आउने तुलसी जस्तै वनस्पति) राख्छन् ।

माटोको घोडा आकृति (देवता) मा धागोे लपेट्छन् । सम्पूर्ण देवीदेवतालाई जमरा र बेब्री चढाएर देउता र पितृको आह्वान गरिन्छ । बहरी (बाहिरी कोठा/बैठक) मा ढमरज्वा (कोठाको बीचमा रहेको काठको स्तम्भ/धर्मराज युधिष्ठिरको प्रतीक पनि मानिन्छ) र आँगनमा रक्सा (भूत–प्रेत) लाई पनि ढिक्री, जल र मदिरा चढाइन्छ ।

गोधूलिको बेला प्रत्येक घरमा त्रासन ताल गुिञ्जन थालेपछि गृहदेवस्थल डिहुरारमा देवपूजन शुरू भएको थाहा हुन्छ । यो रातभर युवायुवतीहरू भुरभुरायुक्त मञ्जिरा र मादलको तालमा सख्या र पैयाँ नाच्छन् ।

बर्किमार महाभारत
नवमी तिथि, थारू समुदायको दशैंको महत्वपूर्ण दिन । ब्रह्ममुहूर्तमा गरढुर्‍याले गोबरले मूलद्वार पोत्छन्, चामलको पीठोको घोलले गोलो ढुर्रा बनाएर दियो बाल्छन्, कुभिन्डोको फूलले आराधना गरेर डिहुरारमा कुभिन्डोकै बलि चढाउँछन् । त्यसको अग्रभाग र बेलको हाँगा मूलद्वारमा छानामाथि राख्छन् ।

पितृहरूलाई माछा र उर्दको गेडामा मिसाइएको पवैं चढाउँछन् । डिहुरारमा र ढमरज्वालाई कुखुराको बलि दिइन्छ ।

मध्याह्न भएपछि गरढुर्‍याहरू छिटनीमा जमरा, करैमा मदिरा, तरकारी आदि लिएर मटावाँको घरमा जम्मा हुन्छन् र बर्किमार अर्थात् थारू महाभारतको श्लोक गाइन्छः

राजा जिरिजोढन कह जब लाग,
शकुनि मामा जोरो उपाय
शकुनि मामा जोरो उपाय,
कौन बिढि मारुँ पन्चों भाइ
राजा जुढिष्ठिल ढरमसे चल,
पाँचो पन्डों राज अउटार ।

राजा टीका
दशमी तिथिमा राजा टीका मनाइन्छ । राजा टीकाको अर्थ हो, बडादशैं । यस दिन घरपरिवार लगायत आफ्नो गाउँ या समुदायदेखि बाहिरका गन्यमान्यसँग टीका लगाउने गरिन्छ । घरपरिवारमा लगाइने सेतो अक्षता अहिले रातोमा परिणत भइसकेको छ ।

चालीस वर्ष अघिको दशैं सम्झिंदा त्यसबेलासम्म थारू अगुवासँग दशैंको टीका थाप्न ब्राह्मण, क्षत्री, दलित लगायत सबैको घुइँचो हुन्थ्यो । हामी थारू पनि आफ्ना गैर थारू मित्र र अग्रजहरूकहाँ टीका थाप्न छिमेकी गाउँमा जान्थ्यौं ।

अहिले राजा टीकाको प्रचलनमा निकै कमी आएको छ । सामाजिक सद्भावलाई बिथोल्ने तत्व के होला ? यस्तो तत्वलाई कसरी न्यूनीकरण गर्ने होला ?

दशैं सम्बन्धी यि सामाग्री पनि पढौं:

दमाईको दशैं (ध्रुवसत्य परियार)

लाहुरको त्यो दशैं (हरि शर्मा)

समुद्रपारि गाढा अक्षता (राजेश कोइराला)

फौजीको खल्लो दशैं (दीपक ज्ञवाली)

माओवादी हिंसाले बिथोलेको आञ्चलिकता (मस्त केसी)

दशैंको राजनीति (आनन्द राई)

दशैंको सुवास (रुपा जोशी)

दशैंका महिला: खुशी पस्किनमै सीमित (सविना देवकोटा)

अक्षताः मौलिक प्रचलन (विनय वञ्जारा)

दशैंको रङ बदलौं (डा तीर्थबहादुर श्रेष्ठ)

खुलेको फैलिएको दशैं (केदार शर्मा)

हाम्रो दशैं (टेकबहादुर जिरेल)

दशैंको अर्थतन्त्र: उहिले र अहिले (रमेश कुमार)

अन्यत्र बलि, रसुवामा क्षमापूजा (फुर्पा तामाङ)

अतिवादको चेपुवामा दशैं (वसन्त महर्जन)

प्रतिकृया दिनुहोस