समाचारबिहिबार, १ कार्तिक , २०७५

लाहुरको त्यो दशैं

हिमालखबर

मुलुकको भौगोलिक सीमाभन्दा बाहिर विस्तारित पहिलो नेपाली समाज, लाहुरमा मनाइने दशैंले परदेशमा ‘मिनी नेपाल’ कै झल्को दिन्थ्यो।

-हरि शर्मा

मेरो बाल्यकाल लाहुरको परिवेशमा बित्यो । बुबा र काकाहरू ब्रिटिश गोर्खा आर्मीमा आबद्ध हुनुहुन्थ्यो । त्यसैले दुई वर्षको उमेरमै म बुबाआमासँग मलेशिया गएँ । सन् १९७८ मा एसएलसी उत्तीर्ण गरेपछि मात्र म नेपाल फर्कें । सन् १९९१–९२ तिर बुबा ब्रिटिश आर्मीबाट रिटायर्ड नहुँदासम्म म हरेक वर्ष दशैंमा हङकङ जान्थें ।

विदेशमा रहे पनि गोर्खा बटालियनकै गोर्खा स्कूलमा पढ्ने भएकाले दशैंमा लामै विदा हुन्थ्यो । लाहुरको दशैं भए पनि त्यो नेपालकै प्रतिविम्ब हुन्थ्यो ।

ब्रिटिश आर्मीमा पूर्वेली (काठमाडौं पूर्वका) र पश्चिमेली (काठमाडौं पश्चिमका) पल्टनहरू हुन्थे । मेरो बुबा चाहिं ‘गोर्खा इन्जिनियर्स’ भन्ने बटालियनको पल्टनमा हुनुहुन्थ्यो, जुन पूर्वेली र पश्चिमेलीहरू सबैको पल्टन थियो । दशैं नेपाली मात्रको चाड भनिए पनि त्यसमा क्षेत्रीय विशेषता पनि झल्कन्थ्यो ।

पल्टन वा लाहुरको दशैंको सबभन्दा रमाइलो पक्ष के भने आफू जन्मे/हुर्केको ठाउँबाट धेरै टाढा, विदेशमा दशैं मनाउँदा मानिसहरूले आफ्नो परम्पराप्रति बेग्लै महत्व दर्शाउँदा रहेछन् ।

सिंगापुर या मलेशियाको पेनाङमा दशैं मनाउँदा पनि हामी पल्टनमा लिङ्गे पीङ देख्थ्यौं । हङकङमा पनि लिङ्गे पीङ गाडिएको हुन्थ्यो । आफू जन्मे/हुर्केको ठाउँको परम्परालाई त्यो सानो ठाउँमा सबैले प्रयोग गरेको देख्दा बडो रमाइलो लाग्थ्यो ।

लाहुरमा सबै वेतनभोगी सैनिक र कर्मचारीहरू भएकाले सबैलाई लाउन, खान प्रशस्त पुग्थ्यो । तर पनि दशैंमा सबैले नयाँ लुगा लगाउँथे । दशैंमा नयाँ लुगा लगाउनुपर्छ भन्ने चलन शायद नेपालबाटै पुगेको होला ।

हामी बस्ने लाहुरमा ब्रिटिश गोर्खा आर्मी हरेक बटालियन कम्पनीहरूमा बाँडिएका हुन्थे । कम्पनीभित्र पनि स्क्वाड, प्लाटुन आदि थिए । दशैंमा हरेकका आ–आफ्नै ‘बडाभोज’ हुन्थे ।

मेरो बुबा चाहिं पण्डित भएकाले निश्चित प्लाटुन वा कम्पनी हुँदैनथ्यो । यसैले हामीलाई सबैले भोजमा बोलाउँथे । यो र त्यो कम्पनीको भोजमा जाँदा एकापसमा आत्मीयता बढ्थ्यो ।

अष्टमीको कालरात्रिमा चाहिं रेजिमेन्टकै बडाभोज हुन्थ्यो । रातभर नाचगान चल्थ्यो । पुरुषले महिला भएर नाचेको मारुनी नाच मैले पहिलो पटक त्यहीं देखेको हुँ । दशैंमा हामी तामाङ सेलो र पूर्वेली भाकाका गीतदेखि सोरठी नाच पनि रसास्वादन गर्न पाउँथ्यौं ।

दशैंघरमा नौ दिनसम्म दुर्गाको पूजा हुन्थ्यो । पूजामा मेरो बुबा पनि पण्डितका रूपमा सरिक हुनुहुन्थ्यो । त्यहाँ मौलो पनि हुन्थ्यो, जहाँ घटस्थापनाको दिन जमरा राखिन्थ्यो । मालश्री धुन गाउने चलन पनि थियो । पल्टनका गाउन जान्ने सिपाही वा अफिसरहरूलाई राखेर बुबाले मालश्री धुन सिकाउनुहुन्थ्यो ।

दशैंघरमा जमरा राखेको ठाउँका लागि पूजापाठ गर्न र अनुशासनमा बस्न सक्ने दुई जना पुजारी पल्टनबाट छानिन्थे । उनीहरू नौ दिनसम्म उपवास बसेर दुर्गाको पूजा गर्थे । सप्तमीको दिन यहाँ जस्तै पल्टनमा फूलपाती लिन जाने चलन त्यहाँ पनि थियो । फूलपाती लिन जाँदा दिइने बोकाको बलिको प्रसाद जंगलमै खानुपथ्र्यो ।

मलेशियामा हुँदा खसीबोका वा राँगा काट्न रोक थिएन । पल्टनमा त्यहाँको पशु बध सम्बन्धी नियमलाई पनि छुट दिइएको हुन्थ्यो । हङकङमा त एकपटकको दशैंमा हेलिकप्टरबाटै बोकाहरू ल्याएर दशैंघरको छेउमा झरिएको थियो ।

दशैंको धार्मिक पाटो पूर्णिमासम्म भने जाँदैनथ्यो । घरभित्र व्यावहारिक रूपमा टीका लगाउने, इष्टमित्र बोलाउने, खानपिन गर्ने गरे पनि दशैंघरको जमरा चाहिं विजयादशमीकै दिन बेलुका विसर्जन गरिन्थ्यो ।

जमरा विसर्जन गर्न बाजा बजाउँदै खोलासम्म जाने चलन थियो । कुनै पनि विधिविधानमा कञ्जुस्याइँ गरिएको मैले देखिनँ ।

लाहुरमा मिनी नेपाल
दशैं हाम्रो संस्कृति र परम्पराको निरन्तरता पनि हो । विदेशमा यो परम्परा अक्षुण्ण रूपमा रहेको हामी पाउँथ्यौं । अहिले त विधिविधान पनि धेरै कम भइसके । तर, त्यसबेला हजार–पन्ध्र सय मानिस हुने पल्टनमा दशैं मनाइँदा त्यहाँ स–सानो देश नै रहेको अनुभूति हुन्थ्यो ।

२०३५/३६ सालपछि केहीले दशैं नमान्ने भन्ने कुरा पनि चल्यो । त्यो मूलतः नेपालको राजनीतिबाट लाहुरमा सरेको थियो । पहिले यस्तो नभए पनि पढेलेखेका केटाहरू भर्ती हुन थालेसँगै शुरू भएको थियो ।

दशैं मान्ने/नमान्ने, पूजा गर्ने/नगर्ने बहस आफ्नो ठाउँमा थियो, तर त्यो उत्सवको माहोलमा दशैंको छुट्टी नमान्ने र भोज नखाने भने कोही हुन्थेनन् ।

दशैंमा टीका लगाउने चलन भने अलि फरक थियो । पश्चिमतिरकाले रातो र पूर्वतिरकाले सेतो टीका लगाउँथे । पछिपछि सेतो र रातो टीकामा पनि विवाद भएको सुनिन्थ्यो, तर हामी लाहुरमा हुर्कंदा त्यस्तो थिएन । जनजातिहरूले सेतो टीका लगाउने चलन पहिलेदेखि नै हो, त्यसलाई राजनीतिक विषय बनाइएको चाहिं मैले पछि काठमाडौं आएपछि नै सुनें ।

केही तौरतरिकामा आधारभूत भिन्नता देखिए पनि रमाइलो गर्ने, नयाँ कपडा लगाउने, माछामासु बढी खाने तथा एकापसमा हुने सौहार्दपूर्ण व्यवहारले गर्दा पूर्व वा पश्चिम जहाँका मानिस भए पनि लाहुरमा सानो नेपाल सिर्जना हुन्थ्यो । म त्यहाँ गज्जबको आत्मीयता र सद्भाव देख्थें ।

लाहुरमा आत्मीयताको दायरा फराकिलो थियो । नातागोता, इष्टमित्र नभए पनि आफ्नो गाउँठाउँका मानिसहरू छन् भने टाढा टाढाकासँग पनि टीका थाप्न जाने/आउने, खान बोलाउने चलन हुन्थ्यो । मेरो घर गुल्मीको जुहाङ हो, तर लाहुरमा हुँदा गुल्मीकै अर्को गाउँ भासेको मान्छे भेट्दा पनि आफ्नै मामा वा काका जस्तो लाग्थ्यो ।

लाहुरमा दशैं अथवा कुनै पनि चाडपर्व मनाउँदा नेपाली परम्परा जोगाउनुपर्छ भन्ने चिन्ता र चासो हुन्थ्यो । लाहुरको बसाइँ नै सामूहिक हुन्थ्यो । त्यसले गर्दा पनि कतिपय परम्परा सबल बन्दा रहेछन् । एकैखाले खटनपटनमा बस्नुपर्ने हुनाले एकरूपता पनि हुन्थ्यो, लाहुरको दशैंमा ।

त्यसबेला पुगेका ब्रिटिश गोर्खा सैनिकका केही परिवार मलेशियामा बसे, कोही फिजी पुगे । कतिपय हङकङमा छन् । मलाई लाग्छ, त्यहाँ अहिले पनि त्यो परम्परा आ–आफ्नै रूपमा बाँचेको हुनुपर्छ ।

अहिले धेरै नेपालीहरू अध्ययन र कामको सिलसिलामा विभिन्न देशमा छन् । त्यहाँ दशैंले सामूहिकताको निर्माण कसरी गरेको छ भन्ने कुरा आफ्नो समाज र बदलिंदो परिस्थितिलाई बुझ्ने राम्रो अवसर र अनुसन्धानको विषय हुनसक्छ ।

तर, मैले बाल्यकालमा अनुभूति गरेको लाहुरको दशैंमा चाहिं नेपाल र नेपालीको पहिचान मुखरित हुन्थ्यो ।

अर्को रोचक पक्ष, विभिन्न थरीका गहना लगाउँदा लगाउँदै पनि पल्टनमा महिलाहरू शिरफूल, चन्द्रमा, जन्तर, पैंयारैंया जस्ता आमाहरूका पुराना गहनामा सजिन्थे । दशैंको दिन सबैजसो पुरुष दौरा–सुरुवाल र टोपीमा सजिएका हुन्थे । औपचारिक भेटघाट, भोजभतेरमा पनि सबैले दौरा–सुरुवाल नै लगाउँथे ।

लाहुरको दशैंमा मासु र मदिरा अत्यधिक प्रयोग हुन्थ्यो । पल्टनमा रासनमै हरेक दिन मासुको व्यवस्था हुने भएकाले वर्षमा एकचोटि (दशैंमा) खानुपर्छ भन्ने थिएन । तर, दशैंमा मासुका अनेक परिकार बन्थे ।

पल्टनमा ‘हेल्थ एण्ड हाइजिन’ का हिसाबले चाहिं सजग पारिन्थ्यो । ‘तपाईंहरूको चाड हो, खानुस्, तर अत्यधिक भोजन र मदिराले शरीरलाई हानि गर्छ’ भन्ने वार्निङ पनि हेल्थ सेन्टरहरू वा आ–आफ्नो प्लाटुनहरूमा कमाण्डरहरूले दिन्थे ।

समाजसँग जोडिएको लाहुर
लाहुर नेपालबाट निकै टाढा भए पनि यहाँको समाजबाट अछुतो थिएन । उतै बसोबास गर्नेहरू यहाँबाट विस्तारै अलग भए होलान्, तर हामी बसेको लाहुर नेपाली समाजसँग जोडिएको थियो ।

छुट्टीमा नेपाल आउने–जाने क्रम चलिरहने भएकाले अपडेट भइरहन्थ्यो । त्यसमा पनि लाहुरमा पुराना मानिस रिटायर्ड हुने र नयाँ भर्ना हुने क्रम चलिरहन्थ्यो । पल्टनका आफ्नै काइदा कानून हुने भएकाले पनि धेरै प्रचलनले निरन्तरता पाएका हुन्थे ।

नेपालमा जस्तै लाहुरको समाजभित्र पनि गतिशीलता थियो । दशैंघरमा सबैको चाहनालाई सम्बोधन गर्ने गरी रातो र सेतो दुवै रङको टीका बनाइन्थ्यो । सामाजिक सम्बन्ध र अन्तरघूलनहरू नेपालमा जे थिए, त्यहाँ पनि त्यही नै देखिन्थ्यो । 

प्रतिकृया दिनुहोस