टिप्पणीबुधवार, आश्विन ३१, २०७५

अतिवादको चेपुवामा दशैं

वसन्त महर्जन

दशैं मनाउनेहरूले पनि सबैले मनाउनैपर्छ भनेर लाद्न खोज्नु वा नमनाउनेहरूले पनि चिढ्याउने मनसायले बोल्दै हिंड्नु दुवै अतिवादी सोच हो।

दशैं आएसँगै ‘दशैं बहिष्कार’ को चर्चा पनि हाम्रो समाजमा परम्परा जस्तै निर्वाह हुन थालेको छ । केही दशकदेखि दशैंको पक्ष र विपक्षमा हुँदै आएको बहसलाई नियाल्दा ‘सौताको रिस लोग्नेमाथि’ भने जस्तो देखिन्छ ।

यो विवादलाई ‘उठान’ गरेर परम्पराको रूपमा मात्रै निर्वाह गरिराख्नु भन्दा उदार दृष्टिकोण लिएर यसमाथि थप बहस गर्दै ‘बैठान’ गर्न जरूरी छ । होइन भने, हाम्रो समाजमा वैमनस्यताको वातावरण मौलाउन सक्छ ।

दशैं बहिष्कारको अभियान जनजाति आन्दोलनसँगै शुरू भएको हो । यी आन्दोलनकारीका अनुसार, दशैं हिन्दू धर्मावलम्बीको चाड हो र हिन्दू धर्मले राजाश्रय पाएपछि यो अन्य धर्मावलम्बीमा लादिएको हो ।

ऐतिहासिक दृष्टिले यो भनाइमा सत्यता नभएको होइन । राजाको धर्मलाई जनतामा लाद्ने वा जनता आफैं राजाको निगाहा पाउन धर्म फेर्ने प्रवृत्ति हजारौं वर्षको मानव इतिहासमा अन्यत्र पनि पाइन्छ ।

समग्र नेपाली जनजीवन जस्तै विभिन्न समुदाय रहेको जनजाति पनि विविधताले भरिपूर्ण छ । तर, जनजातिको यो वास्तविकतालाई यसका नेताहरूले आत्मसात् गरेको देखिन्न ।

आन्दोलनको एक घटक नेवार समाज दशैंबाट पृथक् हुन सक्दैन । ‘मोहनि’ नामले प्रचलित नेवार समाजको चाड विधि र परम्परामा फरक भए पनि दशैंकै पर्यायको रूपमा रहेको छ ।

दशैं बहिष्कारको अभियानले आफ्नो परम्परामा असर पर्ने कुरा तत्कालीन नेवार नेतृत्वले राख्न सकेन वा उनीहरूको आवाज दबाइयो, त्यो बेग्लै पक्ष भयो । तर, यही बहिष्कारको कुराले नेवारलाई जिस्क्याउने काम गर्‍यो ।

थारू लगायत अन्य कतिपय जनजाति समुदाय पनि नेवारले जस्तै दशैंलाई परम्परागत रूपमै मनाउँछन् । यस दृष्टिले दशैं बहिष्कारलाई सामान्यीकरण गरेर समग्र जनजातिकै बहिष्कार भनेर बुझ्नुहुँदैन ।

जनजाति आन्दोलनका पक्षधरहरूले थालेको अभियान ‘दशैं बहिष्कार’ शब्द चयनमै गल्ती देखिन्छ । बहिष्कार भनेको आफ्नो कुरालाई आफैंले नमान्नु हो ।

बहिष्कारवादीहरूले दशैं आफ्नो नभएको तर शासकहरूले लादेको जिकिर गरेपछि त्यसका लागि मिल्दो ‘अस्वीकार’ शब्द प्रयोग गरेको भए सन्देश स्पष्ट हुन्थ्यो ।

भर्ना नै नभएको विद्यार्थीले शैक्षिक कार्यक्रम बहिष्कार गर्नु हास्यास्पद हो । त्यसरी नै मन्त्री पदमा बहाल नै नभएका कुनै व्यक्तिले राजीनामा दिनुको कुनै अर्थ छैन ।

कुनै निश्चित जातीय समुदायले दशैं आफ्नो होइन भनेर आफूखुशी नमनाउँदा भइहाल्यो, कुनै बेला कसैले लादेको भए अब मन पर्दैन भनेर अस्वीकार गर्दा भइहाल्यो । तर, बहिष्कार शब्दले आफ्नो परम्परा त्यागेको देखिन गयो, र यसले दशैंलाई परम्परागत रूपमा मनाउने समुदायलाई हाँक दिए जस्तो हुन गयो ।

सबैका लागि आ–आफ्नो चाड राम्रो हुने, महान् लाग्ने मानवीय स्वभाव हो । यस अनुसार दशैं मनाउने परम्परा भएकाले यसलाई महान् चाड भनेको बुझ्न सकिन्छ ।

तर यो सबैको हो, सबैले मान्नैपर्छ भन्ने आग्रह राख्नु मनासिब होइन । अनेक माध्यमबाट दशैं सबैको हो, सबैले मनाउनुपर्छ भन्ने आग्रह वा प्रचारको शैली एक खालको ‘प्रोपगेशन’ होला तर अन्यलाई मानसिक दबाब पनि बन्न गएको छ ।

यस अवस्थामा दशैं आफ्नो समुदायको नभएकाले नमनाऔं भनी आह्वान गर्नुलाई दशैं मनाउनेहरूले चित्त दुखाउने वा अन्यथा लिनुहुँदैन ।

दशैं मान्ने परम्परा नै नभएका जनजातिले दशैं कहिल्यै मानेको पनि देखिएन । यो एउटा संस्कृति हो । कुनै बेला शासकको दबाबमा वा देखासिकीमा दशैं मानेकै भए पनि संस्कृतिको रूपमा यो कहिल्यै विकास भएको पाइँदैन पनि ।

निश्चित धर्म–दर्शन र संस्कृतिमा आधारित दशैंलाई उनीहरूले खानपान र रमाइलोमा मात्रै सीमित राखेको र शासक वर्गले पनि त्यति नै पर्याप्त ठानेको बुझ्न सकिन्छ ।

जसरी हिन्दू वा बौद्धहरू साथीभाइसँग रमाउन ‘क्रिसमस’ वा अन्य अवसरमा सहभागी हुन्छन्, त्यसरी नै दशैंको परम्परा नभएका वा अन्य धर्म मान्नेहरू पनि दशैंमा सहभागिता जनाउँछन् ।

दशैं मनाउने परम्परा नभएको समाजमा मनाउनैपर्छ भनेर लाद्न खोज्नु वा लाद्न नसकेपछि त्यसलाई आफ्नो नोक्सान ठान्नु अतिवादी सोच हो । नमनाउनेले पनि नमनाए भइहाल्नेमा चिढ्याउने मनसायले बोल्दै हिंडेपछि वैमनस्यता वा द्वेष उत्पन्न हुनु स्वाभाविक हो । यो पनि अतिवाद नै हो ।

दुईतर्फको यो अतिवादको चपेटामा अनाहकमा दशैं पर्न गएको छ । दशैंलाई राजनीतिक विवाद वा जातीय द्वन्द्वमा फसाउनुहुँदैन । 

दशैं सम्बन्धी यि सामाग्री पनि पढौं:

माओवादी हिंसाले बिथोलेको आञ्चलिकता (मस्त केसी)

दशैंको राजनीति (आनन्द राई)

दशैंको सुवास (रुपा जोशी)

दशैंका महिला: खुशी पस्किनमै सीमित (सविना देवकोटा)

अक्षताः मौलिक प्रचलन (विनय वञ्जारा)

दशैंको रङ बदलौं (डा तीर्थबहादुर श्रेष्ठ)

खुलेको फैलिएको दशैं (केदार शर्मा)

हाम्रो दशैं (टेकबहादुर जिरेल)

दशैंको अर्थतन्त्र: उहिले र अहिले (रमेश कुमार)

अन्यत्र बलि, रसुवामा क्षमापूजा (फुर्पा तामाङ)

प्रतिकृया दिनुहोस