पर्वको बिदामा पनि आयोग खुल्ला रहने
राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदामा खुल्ला हुने भएका छन् ।
आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ ।
आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरीहरु लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ ।