तत्कालीन राजाले लगाउने श्रीपेच प्रदर्शनीमा
नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आजदेखि सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ ।
नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । त्यसक्रममा उनले राजतन्त्रको अन्त्य भएपछि त्यसको प्रतीकका रुपमा रहेको श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताए ।
इतिहासमा राजाहरुले राष्ट्रियता र एकीकरण आदिमा खेलेको भूमिका सकारात्मक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध रुपमा शासन गर्ने व्यवस्था भने तर्कसङ्गत नरहेकाले देशमा गणतन्त्र आएको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीले विसं २०६२÷६३ को राजनीतिक परिवर्तनपछि सङ्ग्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याई श्रीपेचै छैन कि भन्ने भ्रम हटाइएको बताए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते दरबारलाई सङ्ग्रहालय बनाइएको तथा हाल श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको थप प्रदर्शनी खुला गरिएको जानकारी दिए ।
कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पुर्याउने संस्कृतिविद् डा जगमान गुरुङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, त्रिभुवन विश्वविद्यालयका प्रा डा मदन रिमाल, विभागका उपसचिव दामोदर गौतम, उपसचिव रामबहादुर कुँवर, विभागका पूर्वप्रमुख रोहितकुमार ढुङ्गानालगायतलाई सम्मान गरिएको थियो ।