विदेश घुम्ने नेपालीको संख्या बढ्यो
दशैंको लामो विदामा विदेश घुम्न जाने नेपालीको संख्या बढेको छ ।
विभिन्न देश घुम्ने ट्राभल प्याकेज बिक्री गर्दै आएका ट्राभल एजेन्सीहरुका अनुसार गत वर्षको तुलनामा विदेश घुम्ने नेपालीको संख्या करिब २० प्रतिशतले बृद्धि भएको छ।
परिवारसँगै घुम्न जाने अधिकांशको रोजाईमा मलेशिया, सिंगापुर, दुवई परेको तर, साथीहरुसँग समूहमा घुम्नेहरु धेरै बैंकक जाने गरेको एस ट्राभलका प्रबन्धक राजु पन्त बताउँछन् ।
बैंकक जाने नेपाली संख्या बढेको नेपाल एयरलाईन्सको टिकट बिक्रीले पनि देखाउँछ । निगमले गत वर्ष सातामा तीन दिन १५८ सिट क्षमताको एयरबस ३२० विमान बैंकक उडाएकोमा यस वर्ष २७४ सिट क्षमताको एयरबस ३३० विमान उडाएको छ ।
सेप्टेम्बर भन्दा अगाडिसम्म रु. २०/२२ हजारमा बैंकक राउण्ड ट्रिपको टिकट बिक्री गरेको नेपाल एयरलाईन्सले अहिले सोही ट्रिपको न्यूनतम मूल्य रु.२८हजार तोकेको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देल रिटर्न टिकट समेत किनेर बैंकक जाने नेपालीको संख्या अत्याधिक रहेको बताउँछन् ।
उनका अनुसार अक्टोबर महिनाभर बैकंक जाने टिकटहरु ९० प्रतिशत भन्दा बढी बिक्री भईसकेका छन् ।
नेपालीलाई सजिलै भिषा दिने ईन्डोनेसिया, मोरिसस, ईजिप्ट लगाएतका देशमा पनि घुम्न जानेको संख्या बढेको एस ट्राभलका प्रबन्धक पन्तको भनाई छ। रु. एक लाखभन्दा बढीको ट्राभल प्याकेज खरिद गर्ने क्षमता भएकाहरुको रोजाईमा टर्कि, अजरबैजान, माल्दिभ्स परेको उनी बताउँछन् ।
एस ट्राभलले नै गतको वर्षको तुलनामा २० प्रतिशत बढी ट्राभल प्याकेज बिक्री गरेको उनको दाबी छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीका अनुसार विदेशमा रहेका छोराछोरीले बुवा–आमालाई सिंगापुर, मलेसिया अथवा खाडी मुलुकमा घुम्ने व्यवस्था मिलाउने गरेकाले पनि विदेश घुम्ने नेपालीको संख्या बढेको हो ।
यस्तै अष्ट्रेलियाले परिवारका सदस्यलाई सजिलै भिषा दिएकाले यस वर्ष छोराछोरीसँग दशैं मनाउन अष्ट्रेलिया जानेको संख्या बढेको प्रेसिडेन्सिल ट्राभल एण्ड टूर्सकी प्रिया गौतम बताउँछिन् । उनी भन्छिन्, "पर्यटक भिषामा यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा जानेको संख्या पनि बढ्दो छ । तर धेरै मानिसहरुको रोजाई भने रु.एक लाख भन्दा कमको ट्राभल प्याकेजमा हुने गर्छ ।"
यस वर्ष अष्ट्रेलिया जानेको संख्या उच्दरमा बढेपछि बजारमा अष्ट्रेलियन डलरको अभाव भएको थियो ।नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले आफैं अष्ट्रेलियन डलर ल्याउनसक्ने व्यवस्था गरेपछि भने बजारमा सजिलै डलर पाईन थालेको छ ।
पर्यटन बोर्डका सिईओ जोशी कति नेपाली घुम्न विदेश गए भन्ने एकिन तथ्यांक नभए ट्राभल एजेन्सीहरुसँगको छलफलबाट दशैंमा मात्र १० हजार भन्दा बढी विदेश गएको अनुमान गरिएको बताउँछन् ।
विभिन्न देश घुम्न ट्राभल एजेन्सीले तयार पारेको प्याकेजको मूल्य निम्नाअनुसार छ ।
थाइल्याण्ड
४ रात ५ दिनको थाइल्याण्ड घुम्ने प्याकेज रु. ५० हजार पाईने गरेको छ । दशैंको समयमा हवाई भाडा बढेपछि भने बैंकक जाने प्याकेजको मूल्य रु १० हजारले बढेको छ ।होटल सुविधा अनुसार प्याकेजको मूल्य घटबढ हुन्छ ।
इन्डोनेसिया
सुनामी र भूकम्पको हल्ला चलेपछि ईन्डोनेसिया जानेको संख्यामा केही गिरावट आए पनि एस ट्राभलका पन्त धेरै नेपालीहरु यस वर्ष इन्डोनेसियाको बाली घुम्न गएको बताउँछन् ।ईन्डोनेसियाको ४ रात ५ दिनको प्याकेज रु.६५ हजार देखि पाईने उनको भनाई छ ।
सिंगापुर, मलेसिया
सिंगापुर र मलेसिया नेपालीहरुको परिवारिक गन्तव्यको रुपमा विकास हुदै गएको ट्राभल एजेन्ट्सहरु बताउँछन् । ५ रात ६ दिन दुई तारे होटल सहितको प्याकेज रु ८५ हजार देखि पाईने गरेको छ । पर्यटकले लिने सुविधा अनुसार प्याकेजको मूल्य बढ्ने गरेको छ ।
दुबई
भिषा सजिलै पाईने भएकाले धेरै नेपालीहरु जाने अर्को गन्तव्य हो दुबई ।दुबईमा ४ रात ५ दिनको प्याकेजको न्यूनतम् रु.५५ हजार पर्छ ।
-शरद ओझा