सन्दर्भ मूल्यको प्रभाव, ब्राण्डेड ट्याग लागेका नक्कली सामान आउनै छाडे
२४ असोजमा खिचापोखरीस्थित एक फेन्सी पसलमा ग्राहकले नाइक ब्राण्डको जुत्ता देखाउन आग्रह गर्दा पसलेले लोगो भएको जुत्ता नभएको बताए । पसलेले भने, “नाइकको लोगो नभएपनि जुत्ता ओरिजिनल हो ।”
कर बढेपछि बढेको मूल्यका कारण लोगो भएको जुत्ता आउनै छोडेको उनको भनाइ थियो ।
कर वृद्धि गरेको भनेर सरकारको आलोचना भइरहेका बेला पसलेले करकै कारण सामानको मूल्य बढेकोभन्दा सर्वसाधारणले नपत्याउने कुरै भएन ।
जुत्ताको मूल्य बढ्नुमा भने कर वृद्धिको कुनै साइनो छैन । जुत्ता, टिसर्ट, पाइन्ट, ट्राउजर, ज्याकेट लगायतका सामानमा लाग्ने २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करमा सरकारले कुनै परिवर्तन गरेको छैन ।
तर, जुत्तालगायत ब्राण्डेड कम्पनीको ट्याग मात्र लागेका सबै सामानको मुल्य बढेको छ । यसको कारण हो भन्सार मुल्याङ्कन विधिमा गरिएको परिवर्तन ।
विगतमा जुनसुकै ब्राण्डको जुत्ता आयात गरेपनि पाँच अमेरिकी डलरमा मुल्याङ्कन गर्दै कर लगाउने गरिएको थियो ।
अर्थमन्त्री भए लगत्तै डा. युवराज खतिवडाले भन्सारको मुहान शुद्धिकरण गर्ने बताएपछि कार्यान्वयनमा आएको सन्दर्भ मूल्यले ब्राण्डेड सामानको ट्याग लागेका सामानमा बढी कर तिर्न परेको छ ।
विगतमा व्यवसायीले कर छली गर्न खरीद मूल्य घटाएर भन्सार जाचँपास गर्ने गरेका थिए ।
रु.२०६ कर तिरेर रिबोक, एडिडास, नाइक, नर्थफेस लगायत कम्पनीका जुत्ता आयात गर्ने व्यवसायीले सन्दर्भ मूल्य कार्यान्वयनमा आउँदा रु.१४३३ कर तिर्नु परेको छ ।
विगतमा ब्राण्डेड कम्पनीको ट्याग लागेको डुप्लिकेट वा ओरिजिनल अथवा कुनै पनि ट्याग नलागेका जुत्ता ५ अमेरिकी डलरमा खरीद गरेको उल्लेख गर्दै आयात गर्दा रु.२०६ कर तिरे पुग्दथ्यो ।
जुत्ताको मूल्याङ्कन पाँच अमेरिकी डलरमा गरिँदा ओरिजिनल जुत्ता आयात गर्नेहरुले सरकारलाई कर छली गर्ने गरेका थिए भने डुप्लिकेट ल्याउनेले कर छली गर्नुको साथै ओरिजिनल भन्दै उपभोक्तालाई झुक्याउने गरेका थिए ।
भन्सार विभागले नाइक, एडिडास, रिबोक, पुमा, नर्थफेस लगायत ब्राण्डका जुत्ताको मूल्यांकन पाँच अमेरिकी डलरबाट ३५ अमेरिकी डलरमा पुर्याउँदा एक जोर जुत्तामा रु. १२२६.४ बढी कर तिर्नु परेपछि पछिल्लो समय बाण्डेड कम्पनीको ट्याग लागेका डुप्लिकेट सामान आयातमा कमी आएको छ ।
न्यूरोड, रत्नपार्क लगायतका ठाउँमा एडिडास, नाइक लगायत कम्पनीका लोगो अंकित टि–सर्ट पाँच÷छ सयमा पाउन छोडेको छ ।
हिमालयन सिमापार व्यापार संघका महासचिव नवराज तिमिल्सिना सन्दर्भ मूल्यले ब्राण्डेड कम्पनीको ट्याग लागेका डुप्लिकेट सामानको आयात रोकिएको बताउँछन् ।
सरकारी नीतिले गरीब जनताले ब्राण्डेड कम्पनीको ट्याग लागेका सामान लगाउन नपाएको उनको आरोप छ ।
रिबोक नेपालकी ब्राण्ड म्यानेजर निर्भाना क्षेत्री सरकारको नीतिले ब्राण्डेड कम्पनीको ट्याग लागेका डुप्लिकेट सामानको आयात घटेको र ओरिजिनल सामान आयात गर्ने व्यवसायीका साथै उपभोक्तालाई पनि फाइदा भएको बताउँछिन् ।
त्यस्तै सरकारी अधिकारीहरु डुप्लिकेट सामान आयात गर्न नेपाल डम्पिङ साइट नभएको बताउँछन् । अर्थ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, “ब्राण्डेड सामानको ट्याग लागेका डुप्लिकेट सामग्री आयात निरुत्साहित गर्ने सरकारको योजना छ ।”
विगतमा सबै टि–सर्टको मुल्याङ्कन १.५ अमेरिकी डलरमा गर्ने गरिएकोमा साउनदेखि ब्राण्डेड कम्पनीको ट्याग लागेको टि–सर्टको मुल्याङ्कन १० अमेरिकी डलरमा गर्न थालिएको छ ।
यस्तै सबै किसिमका पाइन्टको मूल्यांकन चार अमेरिकी डलरमा हुने गरेकोमा पछिल्लो समय ब्राण्डेड कम्पनीको ट्याग लागेका पाइन्टको मुल्याङ्कन १२ अमेरिकी डलरमा गरेर कर लगाउन थालिएको छ ।
त्यस्तै ३.५ अमेरिकी डलरमा सबै कसिमका ट्राउजरको मुल्याङ्कन हुने गरेकोमा ब्राण्डेडको मूल्यांकन १० अमेरिकी डलरमा गर्न थालिएको छ ।
सरकारको ब्राण्डेड कम्पनीको मुल्याङ्कन मात्र बढाएको भएपनि बजारमा भने सबै सामानको मूल्य बढेको छ ।
रसुवास्थित भन्सार कार्यालय प्रमुख गोपाल कोइराला भन्सार कार्यालयले सरकारको नीति अनुसार काम गरिरहेको बताउँछन् ।
के हो सन्दर्भ मूल्य ?
भन्सार विभागले बजार मुल्यका आधारमा हरेक वर्ष सन्दर्भ मूल्यसूची तयार गर्छ ।
व्यवसायीले वास्तविक मूल्य घटाएर सामान आयात गरेको आशंका भएमा सन्दर्भ मूल्यसूचीका आधारमा भन्सार मुल्याङ्कन गरि कर निर्धारण गरिन्छ ।
- शरद ओझा