ब्लगशनिवार, आश्विन २७, २०७५

यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिने खबर

भैरव रिसाल

माफी मागे फाँसी नदिने भनेर क्याप्टेन यज्ञ थापा र भीमनारायण श्रेष्ठलाई फकाइएको रहेछ। तर, ती दुवै देशभक्त वीरहरूले फाँसी नै रोजे।

वागमती अञ्चलाधीश कार्यालयबाट फोन आयो, “अञ्चलाधीशले बोलाउनु भा’छ । लिन मोटर पठाएको छु ।” अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठका सचिवको फोन थियो । नभन्दै केहीबेरमा मोटर आयो ।

कार्यालय पुगेपछि अञ्चलाधीश श्रेष्ठले मेरो सूचनामा पहुँच जान्ने उद्देश्यले सोधे, “आज एउटा ठूलो समाचार हुँदैछ, के होला त्यो ?”
मैले फ्याट्ट भन्न पुगें “क्याप्टेन यज्ञबहादुर र भीमनारायणलाई फाँसी दिने होला !” उनी खङ्ग्रङ्ग भए । केहीबेरपछि गम्भीर हुँदै भने “के भन्नु भा रे !” मैले छलछाम गर्ने जुक्ति निकालें “ए होइन, त्यसै मुखबाट आएको ।” उनले पत्याएनन् र फकाउने शैलीमा सोधिरहे । मैले पनि ‘मुखबाट अकस्मात् आएको’ भनेर भाग्ने प्रयत्न गरिरहें । यो बीचमा दुई कप त कफी खाइएछ ।

त्यसको केही घण्टा अगाडि सिंहदरबारको पश्चिमपट्टि भेटिएका एक जना व्यक्तिले मलाई सोधेका थिए, “भरे के हुँदैछ, थाहा पाउनुभएको छ ?” मैले थाहा नभएको बताएपछि उनैले भने, “क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई भरे फाँसी दिइँदैछ ।” यति भनेर उनी हिंडिहाले ।
त्यत्रो महŒवपूर्ण सूचना दिने व्यक्तिको नाम–ठेगाना त मैले बिर्सें, तर उनको हुलिया सम्झ्ना छ । उनले खस्रो खाले कपडाको कुर्ता–पाइजामा र हवाई चप्पल लगाएका थिए । मान्छे राजनीतिक नै हुनुपर्छ, नत्र त्यस्तो महŒवपूर्ण खबर कसरी थाहा पाउँथे र !

अञ्चलाधीशले सकारे
अन्ततः अञ्चलाधीश सूर्यप्रसाद गले र भने “हो, भरे क्या.थापा र श्रेष्ठलाई फाँसी दिइन्छ । त्यसकारण समाचार अलि ढिला आउँछ । साथीहरूलाई ढिलासम्म बस्नुपर्छ भन्नुहोला । तपाईंलाई घर (दधिकोट) पठाउन मोटरको व्यवस्था गरौंला ।”

यो कुरा मैले रासस गई बताएँ, तर कसैले मन पराएन, अबेरसम्म काम गर्नुपर्ने भनेर ।

अर्को फोन आयो, शिक्षा राज्यमन्त्री पशुपतिशमशेर राणाको । उनले पनि मलाई लिन मोटर पठाए र म मन्त्रालयमा गएँ । एउटा खबर रहेछ ‘दुर्गम र पिछडिएका ठाउँका शिक्षण संस्थामा गणित र विज्ञान विषय अनिवार्य नगर्ने’ भन्ने ।

जहाँ–जहाँका विद्यालयमा गणित र विज्ञानका शिक्षक छैनन्, त्यहाँ विज्ञान र गणित अनिवार्य नगर्ने निर्णय गरेछ सरकारले । यज्ञ र भीमलाई दिएको फाँसीको सजायबाट क्रूद्ध भएका जनतालाई मत्थर पार्ने सोच राखेर सरकारले यो नियम ल्याएको रहेछ ।

शिक्षामन्त्री राणाले पनि “एउटा गतिलै समाचार छ, अलि अबेर मात्र आउँछ । साथीहरूलाई भनिरहनू” भने । अफिस गएर मैले महाप्रबन्धकलाई त्यही कुरा सुनाएँ । माघको जाडोमा ढिलोसम्म काम गर्नुपर्दा सबै रिसाए ।

राजालाई भेट्ने भनेर झुक्यायो
त्यो बेला राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका क्रममा पोखरामा थिए । थापा र श्रेष्ठलाई पोखरामा राजालाई भेट्न लैजाने भनी झ्ुक्याइएछ र दक्षिण हेटौंडा बजारको दक्षिणतर्फ राजमार्गदेखि दाहिनेतर्फको जंंगलभित्र रूखमा बाँधेर गोली हानिएछ । यसरी नेपाल आमाका दुई सपूतलाई २५ माघ २०३५ मा पञ्चायत व्यवस्थाले हत्या ग¥यो । त्यतिबेला थापाको उमेर ७१ र श्रेष्ठको ४१ वर्ष थियो ।

माफी मागे फाँसी नदिने भनेर क्याप्टेन थापा र श्रेष्ठलाई फकाइएको रहेछ । तर, ती दुवै देशभक्त वीरहरूले फाँसी नै रोजे ।

त्यही बेलुकी म र एक जना साथी अञ्चलाधीशको कार्यालय पुग्दा यो सब बुझ्ेका थियौं, तर रासस ले यस्तो विवरण भएको समाचार पाएन । मृत्युदण्ड दिएको मात्रै उल्लेख गरेर बनिबनाउ एक अनुच्छेदको समाचार पठाइएको थियो, त्यही प्रसार ग¥यो रासस ले ।

शिक्षा मन्त्रालयको विज्ञान र गणित विषय अनिवार्य नगरिएको सूचना पनि अबेला आयो ।

अबेर मात्र त्यो सूचना दिएको शिक्षा मन्त्रालयको बुद्धि हो कि कुबुद्धि देखेर दया पनि लाग्यो । त्यो फाँसीको समाचारमा गोरखापत्रलाई छुट्टै अह्राउनुपर्ने रहेछ, अञ्चल प्रशासनले । सह–अञ्चलाधीश विष्णुप्रताप शाहले मलाई पनि लिएर गोरखापत्र गए । त्यसपछि मलाई सरकारी गाडीले दधिकोट घर पुर्याइदियो ।

झर्झराउँदाे पत्रकारिता
यज्ञ र भीमलाई फाँसी दिने पहिलो सूचना मैले एक जना नपत्याउँदा राजनीतिक मान्छेबाट पाएको थिएँ । मैले अगाडि नै सूचना पाएको देखेर अञ्चलाधीशलाई अनौठो लागेको थियो । अञ्चल प्रशासकले त्यो फाँसी दिने खबर भैरव रिसालले कता–कताबाट थाहा पाइसकेछ भन्ने रिपोर्ट राजदरबार, प्रधानमन्त्री र गृह मन्त्रालयमा अवश्य गरे । त्यसपछि म सूचनामा धेरै पहुँच भएको पत्रकारमा गनिन थालें । मेरो पत्रकारिताको कद अग्लो हुन लाग्यो ।

पत्रकारिता पेशा हिंडिरहेन भने झ्झर््राउँदो हुँदैन । पत्रकारिता ओइलाउने वातावरण हुनुहुँदैन, त्यसो हुँदा पत्रकारितामा प्राण नै हुँदैन, २००७ सालअघिको गोरखापत्र जस्तै हुन्छ पत्रकारिता । आजको डिजिटल पत्रकारिता झ्झउँदो हुनैपर्छ । मैले पत्रकारिता गर्दा सूचनाका स्रोत कस्ता हुन्थे, त्यो एउटा दृष्टान्त हो । त्यो एउटा सूचनाले कत्रो कमाल गर्यो ?

प्रतिकृया दिनुहोस