हतियारसहित चार भारतीय र दुई नेपाली पक्राउ
रौतहट प्रहरीले हतियारसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको छ ।
२५ असोज राती प्रहरीको गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट चार भारतीय र दुई नेपालीलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको हो ।
रौतहटका प्रहरी नायब निरीक्षक कृष्णकुमार बस्नेत नेतृत्वको टोलीले परोहा नगरपालिका–८ मोतिपुर नजिक दशगजा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारीका २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया रहेका छन् ।
त्यस्तै धनुषाको फुलबरिया गाउँपालिका–१ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक तिमालका २५ वर्षीय मनोज तामाङ पनि पक्राउ परेका छन् ।
त्यसैगरी आज बिहान ४ बजेतिर भारततर्फ लैजाँदै गरेको करीब पाँच लाख मूल्य बराबरको ४९ कार्टुन मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख केदार ढकालले जानकारी गराएका छन् ।
सञ्जय मित्र, रौतहट