सेनाको व्यावसायिकतामाथि उठेको प्रश्न जायज छः प्रधानसेनापति थापा
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको व्यावसायिकता र पारदर्शितामाथि आम रुपमा उठेको प्रश्न जायज भएको र त्यसलाई नजरअन्दाज गर्न नसकिने बताएका छन्।
सेनाको नेतृत्व सम्हालेपछि पहिलो पटक २५ असोजमा जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापतिले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। “पछिल्लो समय सरकारले सुम्पेका र संविधान, सैनिक ऐन तथा नियमावलीले निर्दिष्ट गरेका जिम्मेवारी बहन गर्ने क्रममा सेनाको व्यावसायिकतामा आँच आउने चिन्ता व्यक्त भइरहेको छ, यो जायज चिन्ता हो”, उनले भने, “सेनाको व्यावसायिकतालाई लिएर हामी सचेत छौं। तर, यो सँगसँगै उठ्ने सेनाभित्रको आर्थिक पारदर्शिताको जवाफ भने सेनाले दिनैपर्छ।”
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणलाई लिएर सेनामाथि व्यावसायिकताको प्रश्न उठेको उल्लेख गर्दै उनले द्रूतमार्ग निर्माण समयमै सम्पन्न गर्ने चुनौति सेनासामु रहेको बताए। “पारदर्शितालाई केन्द्रमा राखेर यो आयोजना पुरा गर्ने लक्ष्य नेपाली सेनाको छ”, प्रधानसेनापति थापाले भने, “द्रूतमार्ग निर्माणलाई लिएर सेनालाई विवादमा तान्ने प्रयास पनि भएका छन्। संविधानतः सेनालाई तोकिएको जिम्मेवारीभित्र पर्नेगरी सरकारले विभिन्न जिम्मेवारीमा खटाउँदा सेनाले त्यो जिम्मेवारी पुरा गर्नैपर्छ। यो तथ्य सबैले बुझिदिनुपर्यो।”
काठमाडौंको महांकालस्थानमा ऐतिहासिक त्रिचन्द्र मिलिटरी अस्पताल भत्काएर बनाइएको भवन सेनाले व्यापारिक कम्पलेक्सका रुपमा भाडामा दिने निर्णय गरेपछि पछिल्लो समय सेना थप विवादित बनेको छ। व्यापारका लागि ऐतिहासिक धरोहर मासेको आरोप समेत सेनामाथि लागेको छ। पत्रकार सम्मेलनमा यो भवनको प्रसंग उल्लेख गर्दै प्रधानसेनापतिले यसलाई व्यापारिक भवनकै रुपमा प्रयोग गर्ने स्पष्ट गरे। “सैनिक कल्याणकारी कोषको स्रोत विविधिकरण गर्ने उद्धेश्यअन्तर्गत् यो भवन बनाइएको हो, यसको आम्दानी ‘नो प्रोफिट नो लस’ अन्तर्गत् कोषका हिताधिकारीहरुको कल्याणकारी कार्यमै खर्च हुने हो”, उनले भने, “नाफा कमाएर कोही व्यक्तिको खल्तीमा नजाने हुँदा यसलाई व्यापार गरेको भन्न मिल्दैन। यसलाई व्यापारिक कम्प्लेक्स नभनी आर्मी वेलफेयर कम्प्लेक्स भनौं।”
बहालवाला र अवकाशप्राप्त सैनिक र तिनका परिवारका लागि कल्याणकारी गतिविधि सञ्चालन नगर्ने हो भने सेनामा भर्ना हुने आकर्षण नै नहुने र त्यसका लागि सेनाले यस्ता गतिविधि गर्न पाउनुपर्ने उनको जिकिर थियो।
राजनीतिप्रति असन्तुष्टि
दशैंका अवसरमा शुभकामना आदानप्रदान भन्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले घुमाउरो रुपमा राजनीतिप्रति समेत असन्तुष्टि व्यक्त गरे। “संविधान र नागरिक सर्वोच्चतालाई सेनाले अक्षरशः पालना गर्दै आएको छ, पछिल्लो समय यसलाई सेनाको लोकतान्त्रिकरण पनि भन्ने गरिएको छ, त्यसको साटो सेनाको व्यावसायिकरण भनेको भए राम्रो सुनिन्थ्यो”, उनले भने, “तर, यस्तै नाममा सेनामा हुने माइक्रो म्यानेजमेन्टले मुलुकको राष्ट्रिय सेनाको हित गर्दैन।”
प्रधानसेनापति थापाले मुलुकमा बढेका विखण्डनकारी र हिंसात्मक समूहका गतिविधिलाई सेनाले चनाखो भएर निगरानी गरिरहेको समेत उल्लेख गरे। “आन्तरिक द्धन्द्ध र देशभित्र हुने कुनै पनि समस्याको समाधान राजनीतिक तह र प्रक्रियाबाटै हुनुपर्छ भन्ने संविधानको विश्वास हो, जसमा सेना पनि प्रतिबद्ध छ”, उनले भने, “तर, त्यसबाट समस्या समाधान भएन भने राज्यसँग अरु विकल्प पनि हुन्छन्। आवश्यक परे ती विकल्प पनि प्रयोग हुन्छन्।”