पानी जोगाउन कृत्रिम जलाशय
दाङको घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ ।
उपमहानगरले घोराही क्षेत्रमा पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणलाई प्राथमिकता दिएको हो ।
उपमहानगरले अहिले घोराहीको वडा नम्बर १७ को ढिकपुर र गुलरिया, वडा नं १६ को गङ्गटे र ज्यामिरे भन्ने स्थानमा कृत्रिम जलाशय निर्माण गरेको छ ।
यस्तै वडा नं १८ को गिठेपानी, वडा नं १२ को सिस्नेरी, वडा नं १६ को ज्यामिरेमा रहेको थप दुई वटा जलाशय मर्मत गरिरहेको छ ।
घोराही–१७ गुलरियामा रहेको जलाशय, १६ को गङ्गटे, वडा नं १८ को सल्लाघारी, डवरीलगायत स्थानमा रहेको कृत्रिम जलाशयलाई थप निर्माण तथा मर्मत गरी सिँचाइका लागि पानी प्रशस्त बनाइएको छ ।
यी स्थानमा बनाइएको जलाशयमा स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती गरिरहेको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
गाउँमा रहेका कुवा, इनार, जरुवा, ट्युवेलको पानी नसुकोस् भनेर कृत्रिम जलाशय निर्माण गरिएको चौधरीले बताए ।
कृत्रिम जलाशयले पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइको लागि आवश्यक पानीको आपूर्तिमा पनि सहजता भएको उनको भनाइ छ ।
घोराही उपमहानगरले आव २०७४÷७५ मा रु दुई करोड कृत्रिम जलाशयका लागि खर्च गरेको थियो । रासस