विश्व ब्यांकको २३ अर्ब सहुलियत ऋण
विश्व ब्यांकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।
विश्व ब्यांक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला नेपाललाई ऋण सहयोग गर्ने समझदारी भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडा तथा विश्व ब्यांकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र ब्यांकका क्षेत्रीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा अर्थमन्त्रीले विश्व ब्यांकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गरेका छन् । रासस