टिप्पणीबिहिवार, आश्विन २५, २०७५

सेतो गिद्धको संरक्षण जरुरी

हिमालखबर

कमल मादेन

इजिप्सियन भल्चर अर्थात् सेतो गिद्धलाई ‘सेतो चिल’ भन्ठान्नुले दर्शाउँछ, यस क्षेत्रमा गिद्ध संरक्षण सम्बन्धी केही कार्यक्रम गरिएकै छैन ।

इजिप्सियन भल्चर । तस्वीर: यात्रा थुलुङ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ का स्थानीयवासीलाई ‘सेतो चिल’ बाट स–साना हाँस–कुखुरा जोगाउन हम्मे परेको छ । अन्नपूर्ण गाउँपालिका–४ की मुना खड्काको घरबाट गएको भदौमा ‘सेतो चिल’ ले सात–आठ वटा कुखुराका चल्ला लग्यो । कक्षा ९ मा अध्ययनरत खड्काका अनुसार, त्यस भेगमा सेतो चिललाई ‘जालकाठा’ भनिन्छ । तर, चराविज्ञले यो पक्षीलाई सेतो चिल नभनी सेतो गिद्ध भन्छन् ।

संसारभर भने यो पक्षी ‘इजिप्सियन भल्चर’ नामबाट चिनिन्छ । यसको वैज्ञानिक नाम ‘न्युफ्रोन पक्र्नोप्टेरस’ हो । यो पक्षी नेपालमा पाइन्छ भन्ने जानकारी सर्वप्रथम ब्रायन हड्सनले सन् १८४४ मा दिएका थिए । तराईको समथर भू–भागदेखि करीब ३५०० मिटर उँचाइसम्म पाइने यो पक्षी हिजोआज नेपाल, भारत तथा पाकिस्तानमा लोपोन्मुख प्रजातिमा सूचीकृत छ । 

कृष्णप्रसाद भुसालले सन् २००२ मा गिद्धबारे गरेको शोधकार्य अनुसार, यो पक्षीको लम्बाइ २१ देखि २८ इन्चसम्म हुन्छ भने तौल दुई केजीसम्म हुन्छ । जोडीमा बस्न मन पराउने यसले फेब्रुअरीदेखि अप्रिलसम्म दुई वटा अण्डा कोरल्छ । करीब ४२ दिनमा एउटा अण्डाबाट चल्ला निस्कन्छ भने त्यसको तीनदेखि पाँच दिनमा अर्को अण्डाबाट अर्को चल्ला निस्कन्छ ।

त्यस्तै, हुर्केर उड्न सक्ने हुन करीब ७० देखि ८५ दिन लाग्छ । करीब ३७ वर्ष आयु हुने यो पक्षी चारदेखि पाँच वर्ष पुगेपछि प्रजनन् योग्य हुन्छ । यसले आवश्यक पर्दा चुच्चाको सहायताले ढुंगाको पनि प्रयोग गर्छ भन्ने लेखिएको भेटिन्छ । यस आधारमा यो पक्षी अत्यन्त चतुर मान्नुपर्छ ।

गिद्धहरू जनावरको सिनो खाएर जीवन निर्वाह गर्छन् भन्ने आम विश्वास पाइन्छ । तर, ‘इजिप्सियन भल्चर’ को आहारामा सिनोदेखि भ्यागुता, माछा, सर्प र जिउँदा पक्षीसम्म पर्छन् । यसले मानिसदेखि विभिन्न जनावरको दिसालाई आहारा बनाउँछ भन्ने बताइन्छ । यसको आकार चिल जत्रै भएकाले चिलकै लयमा आहारा समाउने तथा खाने गर्छ ।

सानो जीउ हुँदा अन्य प्रजातिका ठूला गिद्धसँग जुधेर सिनोलाई आहारा बनाउन सक्दैन । अन्य गिद्धले खाइसकेपछि हड्डीमा अड्किएका मासु कोट्याएर खाने गर्छ ।

अन्नपूर्ण गाउँपालिका–४ को पुल्चोकदेखि पूर्वतर्फ कालीगण्डकी छेउमा करीब डेढ सय मिटर अग्लो ठाडो पहरो छ । १४ असोजमा स्नातकोत्तर क्याम्पसका सह–प्राध्यापक कुलप्रसाद लिम्बू र वाइल्ड लाइफ फोटोपत्रकार यात्रा थुलुङ राईसँगै यो पंक्तिकार जैविक विविधता अध्ययनको सिलसिलामा त्यहाँ पुगेको थियो ।

मिरिस्ती खोला जलविद्युत् परियोजना अन्तर्गतका कर्मचारी झपेन्द्र बुदुजा पुनले हामीलाई त्यो ठाउँबारे जानकारी दिएका थिए । त्यहाँ पुगेपछि गिद्धका विभिन्न तस्वीर देखाएर स्थानीय बासिन्दाबाट ‘इजिप्सियन भल्चर’ बारे जानकारी लियौं । पुल्चोककी एक पसल साहुनीले भनिन्, “तपाईंहरूले भने जस्तो एक जोडी पक्षी ऊ त्यो पहरामा बस्छ । अलि घाम ढल्केपछि आउँछ । अहिले कतै बाहिर चर्न गएको होला ।”

दूरबिनले नियाल्दा वासस्थानमा केही स–साना सेता प्वाँखहरू र प्रशस्त मात्रामा बिष्टा देखेपछि ‘इजिप्सियन भल्चर’ त्यहीं बस्छ भन्नेमा विश्वस्त भयौं ।

ती पसलकी साहुनीले भने झैं घाम ढल्कँदै गर्दा २:४५ बजेतिर एउटा ‘इजिप्सियन भल्चर’ ले आकाशमा केही फन्को मार्‍यो र वासस्थानमा बस्यो । त्यसको त्यस्तै पाँच मिनेटपछि अर्को पनि त्यहीं बस्न आइपुग्यो । त्यसले भने आकाशमा फन्को मारेको देखिएन ।

हामी त्यो वासस्थानभन्दा करीब सवा सय मिटर पश्चिमतर्फ खोलाको डिलमा रहेको पसलमा थियौं । हाम्रो क्यामेराको लेन्स राम्रै भएकाले त्यहींबाट तिनीहरूका केही तस्वीर लियौं । सहयोगी झपेन्द्र बुदुजा पुन वासस्थान लाग्दा ती जोडी उडे, हामीले उड्दै गरेको तस्वीर लिन पनि सफल भयौं ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय संरक्षण
नेपाल सरकारले गिद्धको संरक्षण र संख्या वृद्धि गर्ने उद्देश्यसहित भल्चर कन्जर्भेसन एक्सन प्लान फर नेपाल (२०१५–२०१९) जारी गरेको छ । यसका निम्ति स्व–संरक्षण तथा पर–संरक्षण दुवै तवरले संरक्षण गरिने जनाइएको छ ।

जारी योजनामा सन् २००६ देखि नै नेपालमा गिद्ध स्व–संरक्षण अन्तर्गत विभिन्न गतिविधि शुरु भएको, गिद्ध संरक्षणप्रति स्थानीयवासीको चेतना जगाइएको, गिद्ध मर्ने विषादि प्रति निगरानी गरिएको लगायत उल्लेख छ । ४६ जिल्लालाई गिद्धका निम्ति घातक रसायन ‘डिक्लोफेनाक फ्री जोन’ बनाइएको छ । 

भारतमा सन् २००४ मा ‘कुनै निश्चित क्षेत्रलाई खुला गिद्ध चिडिया घर जस्तो बनाउने’ एक कार्यशाला सम्पन्न भएको थियो । त्यसले गिर्दो गिद्धको संख्यालाई नियन्त्रण गर्ने र आयु नपुगी गिद्ध मर्ने क्रमलाई कम गर्ने लक्ष्य लिएको थियो । यस अनुसार, चितवन राष्ट्रिय निकुञ्जमा जुलोजिकल सोसाइटी अफ लन्डन को मुख्य सहयोगमा एक ‘भल्चर कन्जर्भेसन एण्ड ब्रिडिङ सेन्टर’ स्थापना भएको छ ।

यसैगरी, नवलपरासी, रुपन्देही, दाङ, कैलाली, कास्की र सुनसरीमा सन् २००७ र २०१३ मा समुदायले व्यवस्थापन गर्ने गरी सात वटा ‘भल्चर सेफ फिडिङ साइट’ स्थापना गरिएका छन् । यहाँ मर्न लागेका गाईवस्तु नजिकका गाउँघरबाट संकलन गरिन्छ । विषादी लगाइएको बालीनाली खाएकाले गाईवस्तुका शरीरमा विषादी प्रवेश गरेको हुन्छ, जुन सिनो खाँदा गिद्धहरू पनि मर्न सक्छन् । त्यस्ता जनावरको शरीरबाट विषादी हटाउन तोकिएको क्षेत्रमा कम्तीमा सात दिन जनावरलाई छाडिन्छ र अन्त्यमा प्राकृतिक रुपमा मर्न दिइन्छ ।

अभियन्ताले नै चिनेका छैनन्
देशकै ठूलो संरक्षण क्षेत्रमा करीब दुई दशकदेखि अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट (एक्याप) ले संरक्षण सम्बन्धी अभिभारा वहन गरेको छ । तर, त्यहाँ गिद्ध संरक्षण गर्ने गतिविधि गरिएको देखिंदैन । यस क्षेत्रमा विदेशी बाहेक नेपालीले वन्यजन्तु तथा वनस्पतिबारे अध्ययन, अनुसन्धान गरेको अभिलेखहरू त्यति पाइँदैन । एक्यापको गाउँस्तरमा उपस्थिति बैठकमा मात्र बढी देखिंदै आएको छ ।

त्यस्ता बैठकमा प्रायः स्थानीय समस्याका कुरा मात्र उठ्छन् । आम वन्यजन्तु तथा वनस्पतिको संरक्षणमा स्थानीयवासीलाई त्यति चेतना हुँदैन । वन्यजन्तु तथा वनस्पतिको उपभोग गर्दै संरक्षण गरिने भएकाले यसमा स्थानीयको ठूलो भूमिका हुन्छ ।

जारी योजनामा लेखिए अनुसार, अन्नपूर्ण कन्जर्भेसन एरियामा स्थानीयवासीले सेतो गिद्धलाई ‘सेतो चिल’ भनेर चिनेका छन्, यसबाट माथि उल्लिखित एक्सन प्लानको प्रतिफल अनुभव गर्न सकिंदैन ।

यो पंक्तिकारले अन्नपूर्ण गाउँपालिका अन्तर्गत एक्यापको मातहतमा सञ्चालित कन्जर्भेसन म्यानेजमेन्ट कमिटी (सीएमसी) का अध्यक्ष तेजबहादुर गुरुङसँग ‘इजिप्सियन भल्चर’ बारे भलाकुसारी गरेको थियो । गुरुङले त्यसको नाम ‘जालकाठा’ होइन, ‘जंगलकाठा’ होला भने । तर, उनी त्यो पक्षी गिद्ध प्रजातिको हो भन्नेबारे बेखबर रहेछन् ।

एक्यापले पर्यटक प्रवेश शुल्कबाट वार्षिक रु.३० करोड जति संकलन गर्छ । पाँच जिल्लामा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रभित्र अहिले १५ गाउँपालिका पर्छन्, पहिले ५७ वटा गाविस परेका थिए ।

हिजोआज १५ गाउँपालिकामध्ये अन्नपूर्ण गाउँपालिका अन्तर्गत वडा नं. ४ का सीएमसी अध्यक्ष गुरुङ र पूर्व सीएमसी अध्यक्ष मानबहादुर पुर्जा पुनले पनि ‘इजिप्सियन भल्चर’ लाई सेतो चिल भन्ठान्नुले दर्शाउँछ, यस क्षेत्रमा गिद्ध संरक्षण सम्बन्धी केही कार्यक्रम गरिएकै छैन । गरेको भए, अहिलेसम्म उक्त क्षेत्रमा के–कति संख्यामा उक्त पक्षी पाइन्छ, तिनीहरूको वासस्थान कहाँ कहाँ छ भन्ने जानकारी भइसक्थ्यो ।

एक्याप संरक्षण अधिकृत तथा वन्यजन्तुविद् ऋषि बराल सम्पादित अन्नपूर्ण संरक्षण क्षेत्रका चराहरू– सन् २०१८ पुस्तकमा ‘इजिप्सियन भल्चर’ को तस्वीर समावेश छ । तर, त्यो पक्षीको तस्वीर कहाँ खिचिएको हो भन्ने जानकारी छैन । यो पक्षी काठमाडौं उपत्यकाको चोभारको गल्छीमा पनि आक्कलझुक्कल देखिन्छ ।

आरसी ग्रेगोरी–स्मिथ र एफ बाट्सनको सन् १९७६ मा प्रकाशित एक लेख अनुसार, त्यो पक्षी कोशी टप्पु वन्यजन्तु आरक्षमा उल्लेख्य संख्यामा पाइन्थ्यो । तर, एक–दुई दशक यता एकाध जनाले त्यहाँ अत्यन्तै नगन्य संख्यामा त्यसलाई देखेको बताइन्छ । अब उचित व्यवस्थापन नभए अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि भोलिका दिनमा यो पक्षी नपाइन सक्छ ।

प्रतिकृया दिनुहोस