टी २० विश्वकप छनोटः नेपालसँग भूटान ११७ रनले पराजित
टी २० विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत् मंगलबारको खेलमा नेपालले भूटानमाथि ११७ रनको जित हासिल गरेको छ।
नेपालको फराकिलो जितमा व्याटिङतर्फ प्रदीप ऐरी र बलिङतर्फ ललित राजवंशी र सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रनको योगफल तयार पारेकोको थियो। नेपालको इनिङमा ओपनर प्रदीप ऐरीले अद्र्धशतकीय योगदान दिए। उनले ६८ बलमा २ छक्का र ६ चौकासहित अविजित ७५ रन बनाए।
अनिल शाहले २७ र दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे। १५१ रनको विजयी लक्ष्य पाएको भूटान नेपाली बलरसामु निरीह देखियो। भूटानको इनिङ १६ ओभर ४ बलमा ३३ रनमै समेटियो। भूटानलाई सानो योगफलमा समेट्न ललित राजवंशीले ४ ओभरमा ४ रन दिएर ३ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट हात पारे।
बसन्त रेग्मीका नाममा दुई विकेट रह्यो भने दीपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले एक एक विकेट लिए। अर्धशतकीय पारी खेलेका प्रदीप म्यान अफ द म्याच चुनिए। यो जितसँगै नेपाल अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । चार खेलबाट सिंगापुरको समान आठ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्षस्थानमा छ।